शितल निवासबाट हेलिकोप्टर चढेर एयरपाेर्ट पुगिन् राष्ट्रपति

bidhyadevi bhandari
लाेकपाटी न्यूज

काठमाण्डौं, २९ असोज। राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार जाने क्रममा शीतल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा गएकी हुन्। बुधबार बिहान उनी शीतल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुग्नुभएको हो।

कार्यालय समयमा सडकमार्गबाट विमानस्थल जाँदा सर्वसाधारणलाई सास्ती हुने भन्दै उनी हेलिकोप्टरमा चढेर विमानस्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिले शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल गएको यो पहिलोपटक हो।

यसअघि राष्ट्रपतिको सवारीको बेला सडकमार्ग बन्द हुने गरेकोमा आलोचना हुँदै आएको थियो। म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यानमार गएको हो। बुधबार म्यानमार पुगेपछि राष्ट्रपति भण्डारीले म्यानमारका समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नुहुनेछ।

उनीले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम छ। उनीले पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ। उनीले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँका पनि भ्रमण गर्ने तयारी छ।

राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान पनि जाने तयारी छ। जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा पनि राष्ट्रपति भण्डारी उपस्थित हुनुहुनेछ। म्यानमार र जापानको भ्रमण सकेर राष्ट्रपति भण्डारी आउँदो ६ गते स्वदेश फर्कने कार्यक्रम छ।