काठमाडौं, २७ असोज। जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको हो।
जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ। खोजी तथा उद्धार कार्य जारी रहेको र कयौ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको अधिकारीहरूले जनाएका छन्।
उनीहरूले विनासकारी आँधीपछि अझै १५ जना अहिलेसम्म पनि बेपत्ता रहेको जानकारी दिएका छन्। आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ।
आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन्। आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ ।
आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन्।आँधीको बखत रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन्।
जापानको रक्षा मन्त्रालयले सोमबार बिहानसम्म करीब ३१,००० जनालाई उद्धार अभियान सञ्चालन गर्नका लागि परिचालन गरिएको जानकारी दिएको छ । एएफपी / सिन्ह्वा



लाेकपाटी न्यूज

