वाह कमरेड ! (कविता)

लाेकपाटी न्यूज

– धर्मराज सुबेदी राजन

कमरेडको इतिहास न कसैले मेट्न सक्छ
कमरेडको उचाई न कसैले भेट्न सक्छ
कमरेड जाती हुनुहुन्छ, कहिलेकाहीँ हरामी हुनुहुन्छ
तर वाह ! कमरेड तपाईं दामी हुनुहुन्छ

आजकाल कमरेड आउँदा गाडी रोक्नुपर्छ रे
टक्क घुँडाले टेकी लालसलाम ठोक्नुपर्छ रे
उकालो चड्न सक्दैनन् कमरेड, २–३ जनाले बोक्नुपर्छ रे
पानीले प्यास मेट्दैन कमरेडको व्हिस्की र बियर धोक्नुपर्छ रे

खै रुसबाट जहाज चढी आउँदै गरेका
चिनबाट ओरालो लाउँदै गरेका
मार्क्सका सिद्धान्त फेरिएका छन्
माओका सेना घेरिएका छन्

हाम्रा सुकुम्बासी कमरेडहरु
सिंहदरबार किन्न सक्छन् रे अहिले
देशलाई ज्यान चडाएका कमरेड
१० लाखमै बिक्न सक्छन रे अहिले

हिलोमा फुल्दा फुल्दा पुष्पकमल
पोखरीमा फुल्न बिर्सेंछन् कि खै
बन्दुक जसरी पड्किने ओली
बुलेट नै हुल्न बिर्सेंछन् कि खै

आजकाल प्रचण्डमा त्यस्तो तेज छैन
जसले अँध्यारो खेद्न सकोस्
आजकाल ओलीमा त्यस्तो बेग छैन
जसले दुस्मनलाई भेट्न सकोस

के गरेनन् र कम्रेडले गर्न
पञ्चायत फाले, राजतन्त्र ढाले
रोल्पा हुम्लाजस्ता विकटबाट
क्रान्तिको दियो बाले

चौध बर्ष जेल बसे
दश बर्ष जङ्गल पसे
कमरेडको त्याग म भन्न सक्दिन
कमरेडको काम म गन्न सक्दिन

देशका लागि ज्यान फाले
पैसाका लागि देशै फाले
जनतालाई रगतले रुझाए
भारतलाई कर्णाली बुझाए

टाउको बेचिएका कमरेडलाई
पचास जनाले घेर्नुपर्छ रे
हात टेक्दै ढिँडो खाने कम्रेडलाई
छाकैपिच्छे स्वाद फेर्नुपर्छ रे

साँच्चै कमरेडका नाम महान् छन्
तर किन हो कमरेडका काम हराम छन्

– धर्मराज सुबेदी राजन
कुश्मा पर्वत, हाल पोखरा विश्वविद्यालय

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्