जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी, ६० हजारले घर छाडे

japan6_Aadhi11
लाेकपाटी न्यूज

एजेन्सी। जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ भने थुप्रै हराइरहेका छन्।

मुसलधारे वर्षा र शक्तिशाली आँधीले जापानका धेरैजसो हिस्सालाई अस्तव्यस्त बनाइदिएको छ। चक्रवाती आँधी हेगीबिस राजधानी टोकियोको दक्षिण–पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमीमा स्थानीय समयानुसार बेलुकी करिव ७ बजे ठोक्कियो ।

अहिले यो आँधी २२५ किलोमिटर प्रतिघण्टाको गतीमा देशको पूर्वी तटतर्फ बढिरहेको छ। गम्भीर स्थितीलाई हेरेर ७० लाख बढी व्यक्तिलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ। तर ६० हजार व्यक्तिले मात्रै आफ्नो घर छोडेका छन्।

रेल सेवा अवरुद्ध छन्। एक हजार बढी विमान हवाई अड्डामै छन्। दुई लाख ७० हजार घरमा बिजुली आपूर्ती बन्द भएको एनएचकेले जानकारी दिएको छ।

मौसम विभागले राजधानी टोकियोमा शनिबार र आइतबारको बीच आधा मिटरसम्म वर्षा हुनसक्ने सम्भावना देखाएको छ। भारी वर्षाका कारण पहिरो र बाढीको स्थिती पैदा हुनसक्ने अनुमान गरिएको छ।