– सुरेश ढकाल, मानवशास्त्री
दशैंकाे सुरुवात एउटा हिसाबले भए पनि त्यसलाई निरन्तरता दिनका लागि, त्यसलाई संस्थागत गर्नका लागि सांस्कृतिक अवयव, रीतिरिवाजलाई ‘कोडिफाइ’ गर्न कथाहरु लेख्ने, धर्मग्रन्थहरु तयार पार्ने खालका काम त्यसपछि भएका हुन्।
दशैँ मूलतः साँस्कृतिक चाड नै हो। मनोरञ्जन भनेको मान्छे सम्पन्न भएका बेला गर्ने कुरा हो। त्यसैले यसबेला मान्छेको ध्यान नाचगान र मनोरञ्जनतिर जान्छ। यसैका लागि पनि दशैँ केन्द्रित भएर थुप्रै धुन र गीत बनेका छन्।
दशैँमा परिवारका सबै सदस्य जम्मा भएर रमाइलो गरिन्छ। जुवातास चाहिँ कुलीनहरुबाट सुरु भएको अभ्यास हो। पहिला दरबारले नै जुवातास फुकाउँथ्यो। दरबारबाट पछि घरबारमा सरेको हो। धनीहरुले कौडा खेल्थे। कौडा खेल्न नसक्नेले पायाँ खेल्थे।
यही बेला बढी सांगीतिक कार्यक्रम हुने कारण पनि यसबेला मान्छेहरु तुलनात्मक रुपले सबैभन्दा बढी समृद्ध र सन्तुष्ट हुन्छन् र मनोरञ्जनमा ध्यान दिन्छन् वा आकर्षित हुने गर्छन्। मानिसको खुसीलाई बढोत्तरी गर्ने काम मनोरञ्जनले गर्छ। संगीतलाई बजारले भरपुर उपयोग गरेको पाइन्छ। विभिन्न सपिङ मलदेखि अन्य थलोमा संगीत अभिन्न हिस्सा बनेको छ।
देशबाहिरका नेपाली समुदायमाझ यही मौकामा सांस्कृतिक सांगीतिक कार्यक्रम गर्ने क्रम बढेको छ। सबै कुराको व्याख्या विश्लेषण बजारसँग जोडेर गर्नुपर्ने भएको छ। तसर्थ, सांस्कृतिक कुराहरु पनि बजारसँग निरपेक्ष विषय रहेन।
मनोरञ्जन त मनोरञ्जन तर मान्छेलाई हिजोको जस्तो आवश्यकताले जन्माएको स्वाभाविक मनोरञ्जनभन्दा थोपरिएको मनोरञ्जनजस्तो भएको छ। विदेशी भूमिमा हुने कन्सर्ट चाहिँ आफ्नो भूमि र पराइ भूमिलाई जोड्ने र त्यहाँ बस्ने मान्छेलाई जोड्ने प्रयास पनि हो।



लाेकपाटी न्यूज

