मानवशास्त्रीय दृष्टिकोणमा दशैं के हो ?

लाेकपाटी न्यूज

– सुरेश ढकाल, मानवशास्त्री

काठमाडौं। समाजशास्त्रीय दृष्टिकोणसहित सामाजिक सम्बन्धहरु कसरी बन्छन् ? सम्बन्धहरुको पुनर्निर्माण कसरी हुन्छन् लगायत सामाजिक सम्बन्धको बहुल अर्थहरुको कुरा गर्छन् समाजशास्त्रीहरु। मानवशास्त्रीहरु अझै विशिष्ट र मिहिन ढंगले नातागोता प्रणालीको सन्दर्भमा दशैंलाई अर्थ्याउने प्रयत्न गर्छन्।

मानवशास्त्रीहरुले यसका साथै दशैंलाई सन्दर्भमा राखेरे रीति, परम्परा, विम्व र लक्षणाहरुको अर्थको कुरा गर्दछन्। कसरी दशैंले राज्य र नागरिकको सम्बन्धलाई परिभाषित गर्दै आएको छ वा गर्दछ भनी अध्ययन गर्छन्। मानव संस्कृति, जीविकोपार्जनका उपाय र वातावरण बिचको अन्तर्सम्बन्धहरुलाई रीतिरिवाज, पर्व र परम्परासँग जोडेर हेर्छन्।

तर, हाम्रो सन्दर्भमा यस विषयमा गहन सैद्धान्तिक दृष्टिकोणसहितको बहस पर्याप्त हुन सकेको छैन। मानव र समाजका सम्बन्धहरुलाई एउटै कुराले मात्र प्रभाव पार्ने नभएर एकभन्दा बढी पक्षहरुले प्रभावित पारिरहेको हुन्छ। जस्तै, अर्थतन्त्रको फेरिँदो स्वरुप, राजनीतिक परिवर्तन, सांस्कृतिक पुनर्जागरण, प्रविधिको विकास आदि।

तसर्थ, दशैंलाई एकपक्षीय वा एउटै परिभाषामा सीमित गरेर हेर्न खोज्नु भनेको भ्रम सिवाय केही होइन। एकलकाँटे ब्याख्याहरुले दशैंलाई भ्रमहरुको पुञ्ज नै बनाइदिएको छ।

दशैँलाई नेपालीको महान् चाड भनिन्छ। तर जनसंख्या र अन्य हिसाबले पनि दशैं अधिकांश नेपालीको महान् चाड होइन। हिमालका शेर्पा वा तराई–मधेशका मधेशीका निम्ति यो महान् चाड बन्न सकेको छैन। मध्य पहाडी जनजातिले पनि दशैँलाई पुनःपरिभाषित गर्ने यत्न गरिरहेकै छन्।

उनीहरुले गहन् श्रद्धा भक्ति र सामाजिक भव्यताका हिसाबले दशैं बाहेक अरु नै चाड मान्छन्। दशैं मूलतः मध्यपहाडी क्षेत्रमा बसोबास गर्ने खस–आर्यहरुको चाड नै पछि गएर नेपाली मात्रको बन्न पुगेको हो भन्ने धेरै प्रमाण खोज्न सकिन्छ। राज्यको वैचारिक अवधारणामा यसलाई व्याख्या गरिने कारण पनि दशैं राष्ट्रिय चाड भनिएको हो वा बन्न गएको हो। नेपाल बाहिर पनि दशैंलाई मुख्य रुपमा धुमधामसँग मनाउने परम्परा मध्यपहाडबाट बसाइँ सराइ गरेर गएकाहरुमा व्यापक भएको हो।

त्यस्तै, अर्कोतिर हिन्दूहरुको महान् चाड भनिन्छ। तर विश्वभरका हिन्दूहरुको सानो संख्याले मात्र यो पर्व भव्य रुपले मनाउने गर्दछन्। अर्कोतर्फ यो खस हिन्दूहरुको मात्र हो र अब यसलाई पूर्ण रुपले बहिष्कार गर्नुपर्छ भन्ने आग्रह पनि त्यस्तै अर्को भ्रम हो, किनकि पर्वहरुको राजनीतिक महत्व मात्र हुन्न।

परम्परादेखि नै नारी शक्तिको उपहास र अपहेलना भइरहेको सन्दर्भमा दशैं नारी शक्तिको उपासना भन्नु पनि भ्रम नै हो। यस्ता थुप्रै प्रसंग सन्दर्भित गर्न सकिन्छ दशैंसँग गाँसिएर अउने भ्रमहरुका बारेमा। खासमा पछि यो चाडलाई राज्यले महत्व दिएर राज्यधर्मसँग जोडेर, राज्यपर्वका रुपमा सबैले मनाउनका लागि जोड दियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्