बहसमा दशैं : ‘सबै संस्कृतिका राम्रा कुरा ग्रहण गरौं’

लाेकपाटी न्यूज

– डीआर पोखरेल (प्रगतिवादी संस्कृतिकर्मी)

संस्कृतिको क्षेत्र फराकिलो छ। प्रायः बहस हिन्दुधर्मप्रति लक्षित भएर हुने गरेको छ। नेपालमा १२३ जाति छन् भनिएको छ। ती सबैका आआफ्ना संस्कृति छन्। राज्यमा प्रभुत्ववादी संस्कृति छ, जहाँ विभिन्न जातजातिका संस्कार र मान्यता छन्। ती प्रभावशाली पनि छन्।

अर्को, जनजातिका संस्कार छन्। कसको छोरा, कसकी छोरी भनेर परिचित गराउन पनि ज्यादै जरुरी भएको छ। बिहे संस्कार त धेरै गज्याङमज्याङ नै भएको छ। यसको चर्चा हुनै छोड्यो। अन्तरजातीय बिहे हुन थालिसक्यो। प्रेम विवाहमा रूपान्तरण भइसक्यो।

हिन्दू संस्कारको सबभन्दा खतरनाक कुरा चूडाकर्म हो। व्रतबन्ध भएपछि यसले सानो भनिएको जातिको घरमा टेक्नै नहुने बनाउँछ। मृत्यु संस्कार पनि डरलाग्दो छ। एकातिर हाम्रो आफन्तको वियोग भएको हुन्छ। पीडा हुन्छ। त्यसैमा झन् कपाल काट्ने, १३ दिनसम्म कष्ट सहेर नाङ्गैमुडुलै बस्नुपर्ने, खाना पनि नराम्रो। यस्तो वातावरण र खानपानले मानिस रोगी हुनसक्छ। यस्तो चलनले हामीलाई झन् पीडित बनाएको छ।

मान्छेको मृत्युमा सबै शोकमग्न हुन्छन्। संसारका सबै जातिले आ–आफ्नै तरिकाले शोक मनाउँछन्। हामी आफ्नै तरिकाले मनाउँछौँ। हाम्रो तरिका धेरै रूढिवादी भयो। हिन्दू संस्कार पूरै राम्रो पनि छैन, पूरै नास गर्नुपर्छ भन्ने अवस्था पनि छैन। कतिपय कुरा नास नगरी नहुने पनि छन्। मृत्यु संस्कार १२ वर्षबाट १२ महिना हुँदै १२ दिनमा घट्यो। अब १२ दिनबाट १२ घन्टातिर घटाउनेबारे छलफल गर्नुपर्छ।

हिन्दू गुरुहरू यसलाई घटाउन सकिन्छ भन्नुहुन्छ। मरेका व्यक्तिका नाममा भएभरको तामझाम गर्नुपर्ने आवश्यकता नभएको पनि पण्डितहरू नै भन्नुहुन्छ। उहाँहरूले त उहाँहरूकै शास्त्रअनुसार पनि यत्रो तामझाम नगरे हुन्छ भन्नुहुन्छ। गर्ने कर्ताको जिम्मामा छाड्नुपर्छ भनेर शास्त्रअनुसार नै भन्नुहुन्छ।

राष्ट्रसेवक, समाजसेवक, चिन्तक, दर्शनिक, लेखक, कवि, संन्यासी आदिले किरिया गर्नु पर्दैन भनेर छूट दिएको छ हिन्दुधर्ममा। अशोकजी पनि यहीभित्र पर्नुहुन्छ। तर, उहाँका आफन्तले आमाको किरिया गर्नैपर्ने बाध्यता किन थोपर्ने ? कसैको इच्छाप्रति धावा बोल्न कसैलाई छुट छैन। हामी पनि कसैको आस्थामाथि धावा बोल्दैनौँ। हाम्रो आस्थामाथि पनि कसैले धावा नबोलून्। हामी राम्रो भएर अरूलाई देखाउनुपर्छ।

संस्कृतिबारे व्यापक छलफल गरौँ। यो व्यापक छ। सबैजसोको आ–आफ्नै संस्कार–संस्कृति छ। किन हिन्दुको मात्रै गर्ने, अरूका बारेमा पनि छलफल गरौँ न। चिन्तकहरूले संस्कृतिभित्र आत्मिक र भौतिक पक्ष हुन्छ भनेकै छन्। त्यो हिन्दू संस्कारमा मात्र भनेको होइन। जनजातिको संस्कारमा पनि हो। भौतिक संस्कृति, घर, कलम, कापी आदि हो भने यो निर्माण गर्ने चिन्तनचाहिँ आत्मगत संस्कृति हो।

संस्कार परम्परागत हुन्छ। जोडिँदै आएको हुन्छ। त्यसमा विज्ञानको हात हुँदैन। मान्यता र आस्थामा जोडिएर आएको हुन्छ। यसकारण संस्कारमा बिस्तारै परिवर्तन गर्नैपर्छ। एउटा अमेरिकीले नेपालमा आएर धोती फेरेर भात खान सक्छ। तर हामीलाई जस्तो उसलाई सुहाउँदैन। त्यसले हाम्रो नक्कल मात्र गर्न सक्छ। त्यसकारण संस्कार फेर्न आक्रमण होइन, सिकाउनुपर्छ।

नेपालको प्रभुत्वशाली संस्कृतिले जनजातिको संस्कृतिलाई माथि उठ्न दिएको छैन। हायूजातिको पनि हाम्रै दसैँँजस्तै चाड हुन्छ। उनीहरूको ९ दिन लामो हुन्छ। हामीले मूर्ति पूजा गरिरहेका छौँ। हायूको मन्दिरमा छत छैन। मूर्ति नहुनु धेरै प्राचीनताको चिन्ह हो। हायूहरू आर्य र अनार्य दुवैका साथी हुन्। हायूहरू प्रकृतिपूजक हुन्। खसको कुनै संस्कृति थिएन। पछि आएर सिकेका हुन्। यी घुमन्ते जाति हुन्।

पहिला जाति, वर्ग केही थिएन। वर्णाश्रम थिएन। सिन्धुघाँटीको सभ्यतासम्म आएपछि किराँत र द्रविडसँग घुलमिल हुँदा उनीहरूले संस्कृति निर्माण गरेर आए। अंगीरा ऋषिको पालादेखि नै यिनीहरू खसको रक्तमिश्रण भएर आए। खसहरू हूलका हूल अतिक्रमण गर्दै आएका हुन्। यतै आएर जुन जातिलाई जिते, त्यही जातिलाई बिहे गरे। अंगीरा ऋषिले चिन्ता व्यक्त गरे।

उनले भने– अब हाम्रो आर्य जाति त ध्वस्त हुने भयो। हाम्रा ठूलाठूला वीरहरू त नारीहरूसित लठारिएर पो हिँड्न थाले। मोजका लागि ठूलाठूला दरबारभित्र पो पस्न थाले। उनले ईशापूर्व १८०० मा यस्तो चिन्ता व्यक्त गरेका थिए। उतिबेलादेखि बिग्रेको खस जाति अहिलेसम्म बिग्रँदै आएको छ। समाजमा अनावश्यक विवाद खडा गरेका छन्। त्यसकारण हामीले समग्र संस्कृतिको अध्ययन गरौँ र तिनको राम्रा पक्षको मात्रै अनुशरण गरौँ।

हामीले कल्पना गरेको समाजवादी व्यवस्थामा सबैका संस्कारका राम्रा पक्षको रक्षा हुन्छ। सबैले सबैको आस्था र मान्यतालाई स्वीकार गर्ने संस्कार बसाल्नु प्रगतिशील संस्कार हुनसक्छ। लिङ्गे पिङ सबै जातिकाले खेलौँ। पितृ र मातृलाई सम्मान गरौँ। फोटो राखौँ। बा–आमाको सालिक स्थापना गरौँ। यस्तो कुरामा कुन जाति नआउने हुन्छ ?

आफ्ना सङ्घर्षशील पुर्खाको योगदानको सबैले संरक्षण गरौँ, स्मरण गरौँ। सबैले यसो गर्दा कसको, कहाँनेर जातित्व गुम्छ र ? सबैसित हातेमालो गर्ने संस्कृति निर्माण गर्नु हाम्रो ध्येय हो। दमाईलाई भित्र पस्न दिएनौँ र हायूसित सँगै बसेर भात खान सकेनौँ भने हामी विकासको बाटोमा अगाडि जान सक्दैनौँ।

अन्त्यमा, अशोकजीले परम्परागत किरियाकर्म नगरेर जुन नयाँ संस्कृति निर्माणका लागि प्रयास गर्नुभएको छ, यो उदाहरणीय छ। सबैले यो कुराको अनुकरण गर्नुपर्छ। यसरी बहस र छलफल गर्दै जाने हो भने नयाँ र वैकल्पिक संस्कृति निर्माण हुन समय लाग्दैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्