किन खेलिन्छ दशैंमा पिङ ?

लाेकपाटी न्यूज

काठमाडौं। पिङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन्। पहिलो हो –लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ खेल्ने ठाउँहरु।

जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ। केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन्। बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ।

गाउँघरमा वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर पिङ मच्चाउँछन्, जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ। गाउँघरमा बाबियोबाट बनाइएको लठारोको प्रयोग गरेर दशैंका बेला लिंगे पिङ हाल्ने चलन हुन्छ।

तराईमा सनपाटको लठारो बनाउने चलन भए पनि सनपाट खेती मासिँदै गएकाले पहिलेजस्तो पिङ बनाउन समस्या छ। तैपनि काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरुमा दशैंमा पिङ लगाउने प्रचलन अद्यावधि छँदैछ।

नेपाली परिवेशमा परम्परा र चालचलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिकादेखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्दैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्