देश सफल बनाउन एक मन्त्र नै काफी छ !

प्रगतिशील कर लगाउँदा स्वतः स्फूर्त कर तिर्न व्यवसायी राजी हुन्छन्। यसबाट लगभग ७० अर्ब रकम कोषमा थपिने देखिन्छ। र, अन्य पक्षबाट समेत थप हुँदा लगभग १ खर्ब ५० अर्बको हाराहारीको समृद्ध कोष खडा हुने देखिन्छ। यो कोष रुपमा सानो त देखिन्छ तर महत्वपूर्ण यो बृहत्तर विचारधाराको रुपमा अगाडि आउँछ।
लाेकपाटी न्यूज

–रामचन्द्र शर्मा

भागवत् गीताले भनेको छ,– जे भो ठिकै छ, जे भइरहेको छ ठिकैका लागि भयो र जे हुने छ, त्यो ठिकैका लागि हुन्छ। गीता सार सापेक्षित रुपमा बुझनु पर्दा हरेक घटनाक्रमले सकारात्मक र नकारात्मक दुवै तत्वहरु सँगसंँगै बोकेर आएको हुन्छ । खाली बढी वा घटी भन्ने मात्र हो।

समयक्रममा घटित घटनाहरुलाई सकारात्मक उपयोगमा कसरी लगाउने भन्ने विषयमा घोत्लिन पर्दछ। यसो हुन नसक्नु कै कारण भ्याकुम सिर्जना हुने गर्दछ। यो स्पेशमा नकारात्मक विषयले प्रवेश गर्ने पहलकदमी लिने र सम्पूर्ण चिजहरुलाई नकारात्मक रुपमा बाहिर ल्याउने र प्रभोग गर्ने कार्य गर्दछ। आज देश यसको गम्भिर मनोवैज्ञानिक दबाबमा रुमलिरहेका छ। देश आजको अवस्थासम्म आइपुग्दा जनस्तरबाट जस्ता कुर्वानी र प्रसव पिडाहरु व्यहोरियो, जुन हामीले अहिले व्याख्या गर्दा पनि आङ्ग सिरिङ्ग हुन्छ।

कुर्वानीको बलमा निर्णयक भूमिका खेल्न सकियो भन्ने कुरा भुल्न हुँदैन। देश हिजो अस्थिर राजनीतिको शिकार थियो। आज दुईतिहाईको भिमकाय अधिकार प्राप्त गर्न सक्ने स्थिर सरकार बनेको छ। फेरि पनि जनतामा खुशी, सपना, योजना, आशाका किरण र जीवनका बाटोहरु प्रति दिनप्रतिदिन विश्वास धुमिल हुँदै गएको अवस्था विद्यमान छ।

देशभर अराजकताको व्यापार र विज्ञापन यसरी बिक्री भइरहेको छ कि त्यो बाहेक जीवन धान्ने कुनै उपाय नै छैन। के बुढा, के बुढी, के तरुण, के पेशाकर्मी, हरेक तह र तप्कामा नकारात्मक चिजहरुले प्रवेश गरी वातावरणलाई उत्तेजित र निराश बनाइरहेको छ। यो अवस्था केही वर्ष रहने हो भने कि त ठूलो विद्रोह, प्रतिक्रान्ति या असफल राज्यको रुपमा देशलाई देख्न सक्ने अवस्था छ ।

डरलाग्दो परिवेशलाई गम्भिर शिक्षा र अवस्था आउनुको मुख्य कारण पहिचान गरी भए गरेका गल्तीहरुलाई अन्तिम गुुणको रुपमा बुझ्ने र अगाडि बढ्ने कोसिस मात्र गर्ने हो भने फेरि अहिलेसम्म देशले भोगेको पीडा हामीले एक वरदानको रुपमा उपयोग गर्ने अवसरमा प्राप्त भएको छ ।

समस्याको सुरुवात
देश हिजोदेखि आजसम्म आइपुग्दा सीमित वर्ग र तप्काको क्रिडा स्थलको रुपमा नै थियो र छ। हाम्रो सम्पूर्ण ध्यान शासन व्यवस्था परिवर्तनमा लाग्यो। शासन व्यवस्था त बदल्यौं तर आचरण र अवस्था बदलेनाैं। यसको ठोस प्रयास समेत गरेनौं। प्रत्यक्ष प्रभाव राजनीतिक पार्टीहरुले अभिव्यक्त गरेका छन्। विशेष गरी झण्डै दुईतिहाई प्राप्त गरेको सरकारको नेतृत्व गरेको पार्टीले सैद्धान्तिक रुपमा देशको अवस्थाको बारे र राजनीतिक शक्तिहरुको बारे हेर्ने दृष्टिकोण त्रुटिपूर्ण रुपमा राखेको छ।

आजसम्मको यात्राको साझेदारी र भोलि कहाँसम्म पुग्न उसको साथ चाहिने हो भन्ने कुराको गम्भिर दूर दृष्टिकोण भएको पाइँदैन । ज्वलन्त उदाहरण राजनीतिक र सांगठनिक रुपमा रक्षात्मक अवस्थामा पुगेको तर यहाँसम्म आउन मुख्य भूमिकामा रहेको प्रतिपक्ष पार्टीलाई मुख्य दुश्मनको रुपमा व्याख्या गर्नु नै गलत देखिन्छ।

समस्याको चुरो सुरुवात यहाँबाट नै भएको छ। नेपालमा भएका शासकीय उपलब्धी खास वर्गको कारण भन्दा पनि सबै वर्गहरुको सम्झौताले सिर्जना गरेको आन्दोलन र पुनः अर्काे पक्षसँग भएको सम्झौताको कारण भएको बुझ्नु पर्दछ । प्रतिपक्ष पार्टी सही नेतृत्वको अभावका कारण गम्भिर संकटमा आफैंमा रुमलिरहेको छ।

जनताहरुले आफ्नो आवाजलाई विपक्षी पार्टीको माध्यमबाट संगठित रुपमा राख्ने चाहना गर्दछन्। तर, यो माध्यम समेत भ्याकुम हुन पुगेको छ। फलस्वरुप असंगठित नयाँ सोचले भ्याकुमलाई प्रतिस्थापन गर्ने र राज्य विरुद्ध धावा बोल्ने अवस्था आएको छ । विज्ञानको नियम संगत हेर्दा स्वभाविक पनि छ।

जनजीविकाका सवाल पूर्णतया लत्याइएका छन्। देशमा दिनप्रतिदिन परनिर्भरता बढिरहेको छ। व्यापार घाटा इतिहासकै सबैभन्दा नाजुक अवस्थामा छ। देश आत्मनिर्भर र उत्पादनमा केन्द्रीत नहुने हो भने पाँच तिहाईको सरकारले पनि केही गर्न सक्नेवाला छैन। अहिलेको कार्यनीति उत्पादनमा केन्द्रित हुनुपर्छ तर त्यसको पटक्कै गुन्जायास छैन। बेरोजगारीको दर दिनप्रतिदिन बढ्दो छ।

श्रमप्रतिको सम्मान पूर्णतया निषेध जस्तो छ। युवाहरुलाई देश छाड्नु नै बहादुरी हो भने जसरी बुझाउने प्रयासमा राज्य नै लागेको छ। राज्यप्रति जनताको अविश्वास यति बढेको छ। एउटा टि.भी प्रस्तोता कानूनी उपचारको रुपमा हिरासतमा जाँदा हजारौ मान्छेहरु सडकमा आउनु, सरकारले जस्तोसुकै राम्रो काम गर्दा पनि नकारात्मक पक्षहरुको मात्र बढ्ता प्रचार गरिदिने व्यवहारले प्रष्ट पार्छ।

भ्रष्टाचारले इतिहासकै नयाँ रेकर्ड कायम गर्दैछ। स्थानीय सरकारका कर्मचारीदेखि केन्द्रीय सरकारसम्म भुसमा आगो सल्के जसरी देशलाई खरानी बनाउने मोडमा जरा गाडेको छ। यस्तो लाग्छ, कुनै त्यस्तो सरकारी अड्डा छैन, जहाँ गैह्रकानूनी धन्दा नहोस् ! जनता, व्यवसायी र उद्योगीले दुःख नपाएका हुन् ! हेर्दा स्थिति विकराल र भयावह छ। तर, यो व्यवस्थाका हिमायती सम्मानित तपाई नेताहरु रोममा बजेको बाँसुरीको धुनमा रमाई रहनुभएको छ। देश फरक ट्रयाकमा जान खोजेको छ। केही समय त बाँसुरी बिसाउने कष्ट गर्ने हो कि ?

अबको संकल्प
समस्याका यावत् पाटा पक्षहरुप्रति सारत चर्चा गरिसकिएको छ। जनता राज्य भएको अनुभूत गर्ने तीव्र इच्छा र प्रतीक्षामा छन्। सरकार सफल होस्, देश समृद्ध बनोस् भन्ने भावनामा लागिरहेकै छन्। सरकारको पहिलो काम जनताको मनोबल बढ्ने गरी खुला हृदयका साथ बोल्ड निर्णय लिन तयार हुनु पर्दछ।

जनता भावनामा धेरै बहकिन्छन्। यसलाई राजनीतिले जादुको जस्तो गरी बदल्न सक्ने अवस्था छैन। अब बाजा जसरी बजेको छ, त्यसरी नै नाच्नुको विकल्प राज्यले क्षणिक समयको लागि मात्र पनि सोच्नु हुँदैन।

जनभावनाको कदर गर्न सर्वप्रथम देशका मुख्य राजनीतिक पार्टीहरु जसले यो व्यवस्थाको लागि कुर्वानी गरेका छन्। जसले प्रगति चाहन्छन् ती शक्तिहरुबीच सघन शिखर वार्ता गरी देशको समृद्धिको योजना र कहाँसम्म साझेदारी गरेर जाने भन्ने न्यूनतम कार्यक्रमहरुमा राष्ट्रिय संकल्प तयार गरी जनतालाई भन्न अति आवश्यक छ। नेता बन्ने भनेको आफ्नो पार्टी एवं गुटलाई मात्र नेतृत्व दिनेलाई होइन, नेता त त्यो हो जसले दुश्मनलाई फरक पार्टीलाई पनि आफ्नो नेतृत्वमा गोलबद्ध गर्न सक्ने हुनु पर्दछ। प्रधानमन्त्रीले नेता बन्ने आँट गर्नै पर्दछ।

इतिहासले उहाँलाई युगिन जिम्मेवारी दिएको छ। आशा र भरोसा पनि गरेको छ। त्यतिकै मात्रामा निराशा र शंका। एउटी आमालाई छोरा छोरीले खाऊन्, उनीहरु बाचून् भन्ने सबभन्दा बढी चिन्ता हुन्छ। नेपाली आमाको रुपमा प्रधानमन्त्रीलाई हामीले पाउन सक्नु पर्दछ। यसको लागि प्रधानमन्त्रीले सोही अनुरुपको व्यवहार गर्ने विश्वस्त वातावरण बनाउनै पर्दछ। आमाले नलाएर, नखाएर, कष्ट सहेर पनि छोराछोरीको खुशीका लागि बृहत्तर कुर्वानी गरेकी हुन्छिीन्।

तर, उनी सधैं आमा नै रहन्छिन्। यो सरकार केका लागि, विकास र समृद्धिका लागि सरकारको लक्ष्य “समृद्ध नेपाल, सुखी नेपाली हो” अन्तराष्ट्रिय आर्थिक प्रतिस्पर्धी हुनु हो। यसो हो भने अबको दुश्मन वर्ग एवं पक्ष भनेको गरीबी हो, परनिर्भरता हो, भ्रष्टाचार र वैदेशिक हस्तक्षेप हो भनेर बुझ्न ढिला गर्नु हुँदैन।

प्रमूख दुश्मनहरुका विरुद्ध लड्न सहायक प्रतिस्पर्धी शक्ति र सहायक दुश्मनसँग ठोस–ठोस भूमिका र जिम्मेवारीसहित बृहत सम्झौता एवम् कार्यगत एकतासमेत गर्नु पर्दछ। यो कुरा त तपाईंले बोकेको कम्युनिष्ट दर्शन र विचारले सिकाएको छ। कमसेकम हामी कम्युनिष्ट हो भन्ने हो भने पनि यो मान्यतालाई त केही समय प्रयोगमा ल्याएर हेरौं न।

परिणाम राष्ट्र र जनताको पक्षमा ल्याउन सकिने बाटो खुल्छ कि ? नेताले, सरकारले नेतृत्व गरेको पार्टीले गोल बाहेक केही पनि देख्नु हुँदैन । अरु कुरा देख्नको लागि यति धेरै पक्ष छन्। तिनीहरुलाई छाडिदिने हिम्मत गर्नु पर्दछ। देश र जनताको समृद्धि ल्याउन तयार हुन्छन् भने विपक्षी पार्टीका नेताको नेतृत्वमा सबैलाई समेटेर समृद्धि प्राधिकरण बनाउन लाग्नु पर्दछ। यसबाट समृद्धिको शंखघोष गर्न ढिला गर्नु हुँदैन। महत्वपूर्ण कुरा के बुझ्नुपर्छ भने हिजो पार्टीहरु, नेताहरु, कार्यकर्ताहरु र जनताहरुमा व्यवस्था परिवर्तनको भोक थियो।

जनताको अधिकार र समृद्धिलाई केन्द्रमा राखेर सम्पूर्ण त्याग, बलिदान गर्ने, घरबार त्याग्ने, सर्वस्व गुमाउन तयार भएर त्यो भोक मेटाइएको थियो। क्रान्ति गर्न त हामी जस्तोसुकै आगोमा जल्न तयार भयौं तर आज त्यो निष्ठा बिर्सिँदै गएका छौं।

राजनीति गरेको ब्याज खान, तलब खान, गैह्रकानुनी काम गर्न पक्कै पनि थिएन। एक पटक ठण्डा दिमागले ती अतितका कहालीलाग्दा दिनहरु सम्झौं, जहाँ जनताले कसरी माया दिएका थिए। फेरि एक पटक त्यो भाव अगाल्न नेताहरु तयार हुने कि नहुने ? बढ्दो व्ययभार भयो, शासन व्यवस्था ज्यादा महंगो भयो भनेर नयाँ व्यवस्था ल्यायौं । तर, आज त्यस्तै महंगो व्यवस्थाको अभ्यास दोहो¥याउँदै त छैनौं ? हिजो तिनैका लागि जीवन दिन राजनीति गरियो।

फेरि आज खुशी हुन्छन् भने देशका आर्थिक स्तर उकास्ने वातावरण बन्छ भने केवल एक पटक राष्ट्रपति लगायतका मन्त्रीहरु, सांसदहरु, प्रदेश र स्थानीय निकायसम्मका जनप्रतिनिधिहरुले एउटा संकल्प गरौं न ! राजनीति गैह्र आर्थिक, गैह्र मुनाफामूलक र विशुद्ध त्याग र समर्पणद्वारा राष्ट्र र जनताको भलोको लागि गरिन्छ।

यो जस्तो पवित्र त्याग र धर्म कुनै लोकमा भेटिँदैन। पवित्र सारलाई बुझेर ३ वर्षसम्म आधारभूत भौतिक सुविधा लिऊँ, ठीक छ तर राज्यबाट पाउने तलब र भत्ता शर्तसहितको समृद्धि कोष बनाउनमा लगाऔं। यसको क्षतिपूर्तिको लागि सम्पूर्ण पार्टीहरुले देश विकासको खातिर एउटा अप्रिय निर्णय लिऔं कि आगामी निर्वाचनमा बहालमा रहेकै जनप्रतिनिधिहरुलाई नै उम्मेद्वार बनाउने सुनिश्चितता गरिनेछ।

३ वर्षमा तलबको रुपमा जम्मा गरेको समृद्ध कोष १० अर्ब रुपैयाँको बन्छ। नेपाली समाज देश विकास र समृद्धिका लागि यति लहडी र भावनात्मक छ। विकासको नारामा यो मनोविज्ञान सकारात्मक रुपमा प्रयोग गर्नका लागि आह्वान गर्ने हो भने स्वतः स्फूर्त ४० अर्बभन्दा बढी योगदान हुन सक्छ ।

प्रगतिशील कर लगाउँदा स्वतः स्फूर्त कर तिर्न व्यवसायी राजी हुन्छन्। यसबाट लगभग ७० अर्ब रकम कोषमा थपिने देखिन्छ। र, अन्य पक्षबाट समेत थप हुँदा लगभग १ खर्ब ५० अर्बको हाराहारीको समृद्ध कोष खडा हुने देखिन्छ। यो कोष रुपमा सानो त देखिन्छ तर महत्वपूर्ण यो बृहत्तर विचारधाराको रुपमा अगाडि आउँछ।

यसको शक्ति १ सय ५० खर्ब बढीको हुन्छ, जुन जनताहरुको उत्साहको राष्ट्रिय एजेण्डा बन्दछ। बृहत्तर आन्दोलनको जन्म दिने कार्य गर्दछ। देशमा ठूलो विश्वासको वातावरण बन्दछ। त्यही तागतबाट राष्ट्रिय अर्थतन्त्रको विकास हुने सकारात्मक कदमको सञ्चार गरी समृद्धि प्राप्तीको कोशेढुंगा सावित हुन्छ। यस्ता घटनाक्रम र आन्दोलनले औद्योगिक मर्यादा बढाउँछ र निम्न क्षेत्रहरुमा यसरी निर्देशित गर्न सक्छ ।

भ्रष्टाचार
डिजिटल ट्रान्जेक्सनलाई प्रश्रय दिने २५००० भन्दा बढीको कारोबारको लागि डिजिटल करेन्सीको प्रयोग गर्न लगाउने । १००० र ५०० का सम्पूर्ण नोटहरुमा प्रतिबन्ध लगाउने हो भने भ्रष्टाचार अधिकांश नियन्त्रणमा आउँछ। यसले प्रणालीप्रतिको आस्था बढाउने कार्य गर्दछ।

उद्यम
उद्योग धन्दाहरु खोल्नका लागि फास्ट ट्रयाक विधिद्वारा प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने, ती ठाउँहरुमा समृद्ध कोषका शाखाहरु सञ्चालन गर्ने पर्दछ।

अधिकार मुठ्ठीमा राखेर कहिल्यै पनि सम्पन्न भइँदैन। अधिकारको डाइभर्सीफाई गरेर मात्र शक्ति सञ्चय हुन्छ। गुणात्मक अधिकारको प्रवद्र्धन गर्न सक्छ भन्ने कुरा शासकहरुले अनिवार्य बुझ्न कष्ट गर्ने वातावरण बन्दछ ।

व्यवस्थापन
उद्योगधन्दाहरुकाे सही व्यवस्थापन गर्नका लागि बाह्य मुलुकबाट उच्च प्रविधियुक्त जनशक्ति र नेपाली जनशक्तिको उच्च कोल्याव्रेशन गरेर परिणाम निकाल्ने गरी रणनीतिक लक्ष्य लिई कार्यान्वयनमा जान्छ।

नीति, योजना आफैंमा ठूलो कुरा हो। सबभन्दा ठूलो कुरा यसको कार्यान्वयनको सम्पादन र व्यवस्थापन हो । आज संसारको सृष्टि नै व्यवस्थापनकै योगदानका कारण सार्थक र विकसित बन्दै आएको हो भन्ने कुरा बुझिनेछ ।

गरीबी
गरीबीलाई सबैभन्दा ठूलो मोटिभेशन र उत्साह भर्नु पर्ने रहेछ। यसले मनोबल यति धेरै बढ्छ कि सबैले गरीबी भन्ने चिजलाई एकै पटक भत्काएर फाल्ने तागत सिर्जना गर्दछ। जसरी एकै स्वीच अन गर्दा संसार खरानी हुन्छ, त्यसरी नै गरीबी उद्यमशिलताले निषेध गरिदिनेछ ।

वैदेशिक हस्तक्षेप
हाम्रो घर बनाउन, बाटो बनाउन, हाम्रा छोराछोरी पढाउन पनि विदेशीहरुलाई गुहार्नु परेको कारण विदेशीहरुले हामीलाई र हामीले नेतृत्व गर्ने देशलाई नोकर जस्तो ठान्ने गर्दछन्। यो त्यागले त्यस्ता हस्तक्षेप र अपमानको वातावरणलाई जरैदेखि निकालेर फाल्छ। फलस्वरुप विदेशीहरु साइजमा आउँछन्। स्वाभिमानको सम्मान गर्न सिक्छन्। मद्दाको आधारमा हामीसँग वार्ता गर्न तयार हुन्छन्।

देश पूर्णतया औद्योगिक पूँजीवादको युगमा प्रवेश गर्ने वातावरण बन्छ। उद्योग धन्दा, कलकारखाना खुलिसकेपछि जनताहरु समृद्ध हुन्छन्, तलब त्याग गरेका सांसदहरु फेरि चुनाव जित्नेछन्, राज्यले उपलब्ध गराउने तलब लिनेछन्, हार्नेहरुले पनि मासिक ४० देखि ५० हजार पेन्सन पाउने अवस्था प्राप्त गर्नेछन्। राज्यले नियमित करहरु लिएर सफलता चुम्दछ।

वर्तमान सरकार र प्रधानमन्त्रीले गोल गर्नेछन् । विपक्षी पार्टीहरु र त्यसका नेताले पनि जित्नेछन्, सांसदहरुले पनि जित्नेछन्, मन्त्री लगायत सम्पूर्ण जनप्रतिनिधि र जनताहरुले समेत सामूहिक रुपमा जीत हासिल गर्न सक्छन्। हामी कसैलाई घाटा भयो र ?

निष्कर्ष
राजनीति देशको लागि हुनु पर्दछ, देश राजनीतिको लागि हुनु हुँदैन। देश रहे हामी रहने, हामी रहे राजनीतिको मुद्दा उठ्ने हो । केवल एक पटक सबै नेताहरु ती तपाईहरुका त्याग, निष्ठा र सर्मपणका प्रतिमूर्तिलाई संस्थागत गरी आफ्नै सन्ततिका लागि देश परिवर्तनको गर्विलो इतिहास बनाउन लाग्नुहोस्।

सिर्फ ५ वर्ष काफी छ। बल तपाईहरुको कोर्टमा छ, गोल छिराएर मात्र हेर्नु जनता भि भि भुर्रे भन्न तयार छन् । आजको प्रधानमन्त्री सिंगापुरको लिक्वान र विपक्ष नेता दक्षिण अफ्रिकाका महान् नेता नेल्शन मण्डेला जस्तो महान् बन्न कति समय लाग्छ त ? अनि आजका सांसदहरुलाई भगवान्को दर्जा दिन जनता तयार हुन्छन् कि हुँदैनन् हेरौं न त ?

इच्छाशक्ति राखौं मात्र असम्भव भन्ने केही पनि छैन। जनता यति भावनात्मक र लहडी पनि हुन्छन् कि, नेताहरु गरीब जस्ता देखिऊन्, नखाएका जस्ता देखिऊन्, सुविधा नलिऊन् भन्ने सोच राख्छन्। यो बाजा बजाईमा नेताहरु अगाडि बढ्न थाले र उनीहरुले सोचे जस्तो भइदिए भने फेरि क्षणभरमा बिचरा भन्दै आफ्नै गाँस काटेर घरबार बनाइदिन र छोराछोरी पढाइ दिनको लागि चन्दा उठाउन समेत पछि पर्दैनन्।

यो संवेदनशील सोचलाई नेतृत्वले बुझ्न सक्नु पर्दछ। सोही अनुसार नेतृत्व प्रदान गरी परिस्थितिलाई वैज्ञानिक ढंगबाट देशको समृद्धि र जनता स्वयम्को विकासको लागि प्रयोगमा ल्याउन सामथ्र्य राख्नु पर्दछ।

यति गर्न सक्ने हो भने विकासको एजेण्डामा जनसागर एवम् अर्थसागर नै उर्लने ग्यारेण्टी छ। सबैले त्याग गरौं, नेताले त्याग्दा जनताले बुझ्दछन् । जनताले बुझ्दा नेता र देश सफल हुन्छ। केवल त्याग नै देश सफल हुने एक मन्त्र हो।
अस्तु…!

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्