अनेरास्ववियू समाजवादको सारथि बन्ला ?

shivajit tiwari
हिजो जनयुद्धमा भोगेका दुःखहरु भोग्नेले पनि सहजै अभिव्यक्त गर्न नसक्ने किसिमका छन् भने हामीले बखान गर्नु न्यायिक हुँदैन। यसको अर्थ यस्तो मानिनु हुँदैन कि अरु क्षमतावान् मान्छेलाई छायामा राखेर तिनै त्यागी योद्धाहरूलाई मात्रै नेतृत्व सुम्पनु पर्दछ ।
लाेकपाटी न्यूज

–शिवजी तिवारी

काठमाडौं। नेपाली धर्तीको नेपालभित्रै अपहरण निकै कारुणिक यथार्थता थियो। नेपालभित्रै नेपालीहरुले आफ्नो अपनत्व महसुस गर्न नसक्नु राज्य व्यवस्थाको तितो यथार्थ थियो। मानवता, स्वतन्त्रता, न्याय, समानता एवं भेदभावरहित समाजको परिकल्पना निकै परको विषय थियो। सानालाई ऐन ठूला–ठूलालाई चैन भनेजस्तै प्रसाशनिक प्रवृत्ति थियो।

यद्यपि, अझै पनि पूर्ण रुपमा आम जनसमुदायले समानताको आवास गर्न सकिरहेको छैनन्। यस्तो असहजतालाई चिर्दै अगाडि नबढेसम्म हाम्रो समाजको विकास असम्भव थियो। यही धरातलीय यथार्थलाई आत्मसात् गर्दै सबै विद्यार्थी संगठन देशको राजनीतिक मुक्ति युद्धमा समावेश हुन पुगे।

व्यक्तिगत इच्छा आकांक्षालाई तिलाञ्जली दिएर देश र समाजको हित नै सर्वपरी ठानेर अगाडि बढेका ती योद्धाहरूको कदरका निम्ति जति नै शब्द खर्चिए पनि अपुरो हुने स्वभाविक छ। प्रतिगामी र यथास्थितिवादीको गुलामी राज्य सत्ताको विरुद्धको लडार्इं निकै कठिन हुनु स्वभाविक थियो।

अझ तत्कालिन अखिल (क्रान्तिकारी) त सशस्त्र जनयुद्धमा नै सामेल भयो। पुरै राज्य एवं अन्तर्राष्ट्रिय समुदाय माओवादीलाई बन्दुकको गोलीबाटै निस्तेज पार्नु पर्छ भनेर लागिरहेको बखत समाजका न्यायप्रेमी जना समुदायको सहयोगमा योद्धाहरु दरिलो बन्दै अगाडि बढेर दुश्मनको अखडामा धावा बोल्यो। यही क्रममा धेरै लाल योद्धाहरु शहिद बने। धेरै बेपत्ता छन् अझैसम्म।

उनीहरुका बाबुआमा आज पनि बिहान ढोका खोल्दै गर्दा आफ्नो सन्तान बाहिरै आएर बसिरहेछ कि भन्ने आशा राखिरहेका छन्। कोही नौलो मान्छे परबाट आएको देखे भने उनीहरु आफ्नै सन्तान हो कि भनेर आशा राख्न बाध्य छन्। यस्तो कारुणिक एवं गौरवशाली इतिहासको जगमा उभिएको संगठन अखिल क्रान्तिकारी र त्यस्तै गौरव गाथा बोकेको संगठन अनिरास्ववियू एकता भएर अनिरास्ववियू बनेको छ।

यति बेला देशमा उनीहरुको आफ्नै माउ पार्टी दुईतिहाईको सरकार नेतृत्व गरिराखेको छ। विभिन्न बाधा अड्चन पछिको एकता र त्यसपछिको ऐतिहासिक पार्टी र संगठन विभिन्न कोणवाट निकै महत्वपूर्ण हुने निश्चित छ।

आजको राजनीति हिजोको जस्तो बन्दुक बोकेर जनदुश्मनलाई सफाया गरेर अगाडि बढे जस्तो प्रवृत्ति र प्रकृतिको छैन न त हिजो गद्दारहरुलाई जनकारवाही गरेर पार्टी संगठनको निर्माणमा जुट्न सक्ने स्थिति छ। यहाँ त विभिन्न पक्ष विचार समूह, प्रवृत्ति बीचको प्रतिस्पर्धा मार्फत् कुशल नेतृत्व छनोटमा जुट्नु पर्ने आवश्यकता छ। त्याग र बलिदान आफ्नो ठाउँमा निकै ओजिला दौलत हुन्। तर, अहिलेको प्रतिस्पर्धात्मक राजनीतिमा खालि त्याग बलिदानलाई मात्रै अधार मानेर नेतृत्वमा पुर्याउनु संगठन निर्माण र ऐतिहासिक उपलब्धीका निम्ति त्यति न्यायिक नहुन पनि सक्छ।

हिजो जनयुद्धमा भोगेका दुःखहरु भोग्नेले पनि सहजै अभिव्यक्त गर्न नसक्ने किसिमका छन् भने हामीले बखान गर्नु न्यायिक हुँदैन। यसको अर्थ यस्तो मानिनु हुँदैन कि अरु क्षमतावान् मान्छेलाई छायामा राखेर तिनै त्यागी योद्धाहरूलाई मात्रै नेतृत्व सुम्पनु पर्दछ । विभिन्न कालखण्डमा देशमा भएका परिवर्तनको पूर्ण जसको भागिदार विभिन्न देशप्रेमी सपुतहरुको त्याग बलिदान निष्ठा नै हो। तर, अब देशले एउटा अवस्था पार गरिसकेको अवस्थामा देशमा इमान्दारिताले मात्रै पुग्दैन सँगै दूरयोजना पनि आवश्यक छ।

मुलुकको शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक रूपान्तरणको अभियानमा निर्धक्कतापूर्वक, अविचलित रूपमा आफ्ना पाइलाहरू अगाडि बढाउन सक्ने हिम्मत भएको, अहिलेको विद्यार्थी राजनीतिमा देखिएको जटिल तरलताबाट मुक्त गराउन वैैचारिक हिसाबले सशक्त भूमिका खेल्न सक्ने र दूरदराजका विद्यार्थी माझ पुगेर न्याय र समानतासहितको व्यवहारिक एवं जनमूखी शिक्षाको पक्षमा विचार प्रवाह गर्दै बहसको सृजना गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो।

राजनीतिक नेतृत्व गर्ने अधिकार त्यस्तालाई दिनु पर्दछ, जो साँच्चिकै नीति निर्माणको काबिल हुन्छन्। साथै साँच्चिकै आम बुझाइलाई सकारात्मक दिशा प्रदान गर्न सफल हुन सक्छन्। हाम्रो जस्तो विकासोन्मुख देशमा राजनीति निकै कठिन प्रक्रियाको रुपमा चित्रित गरिँदै आइएको छ। यहाँ नेता बन्नकै निम्ति वर्षौं वर्षको त्याग तपस्या आवश्यक पर्दछ भन्ने आम बुझाइ छ। विभिन्न कालखण्डमा उसले भोगेका दुःखको ब्याजको रुपमा उसलाई पदको निम्ति एक मात्रै दाबेदार ठानिन्छ। तर, सत्ता र पदलाई सुविधाको रुपमा बुझ्नु नै गल्ती हो।

नैतिकता र सृजनशीलतामा आधारित भई आर्थिक समृद्धि, सामाजिक सद्भावको विकास र मुलुकको सार्वभौमिकताको रक्षा गर्न सक्षम व्यक्तिलाई सत्ताको हकदार बनाउनु पर्दछ। सत्ता र पद त दिर्घकालिन योजनासहित तत्कालको असहजता निराकरण गर्ने मञ्च हो। मुलुकको जटिल तरलताबाट मुक्त गर्न वैचारिक हिसाबले सशक्त भूमिका खेल्न सक्ने र दूरदराजका बस्तीहरूसम्म पुगेर न्याय र समानताको पक्षमा आफ्नो विचार प्रवाह गर्न सक्ने व्यक्तिले मात्रै साँचो अर्थमा सत्तालाई न्याय गर्न सक्दछ ।

देशमा संविधान सभा मार्फत् संविधान निर्माण पश्चात् दुईतिहाई बहुमत सहितको कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ। यस परिस्थितिमा देश समृद्धिको बाटो हिँड्न चाहन्छ। समृद्ध देश निर्माण गर्दै देशलाई समाजवादी दिशामा अगाडि बढाउन विद्यार्थी राजनीतिको ठूलो भूमिका हुने गर्दछ। भइराखेका कामको निरन्तरताले पुग्नेवाला छैन। अब नयाँ बहसको उठान गर्दा विचारलाई केन्द्रमा राखेर नेतृत्व छनोट हुनु पर्दछ।

केही समयदेखि कम्युनिष्ट पार्टीको जनवर्गीय संगठनमा भएका केन्द्रीकरणलाई निहाल्दा कम वैचारिक बढी महत्वाकांक्षीहरुको बाहुल्यता देखिन्छ। विद्यार्थीहरुको नेतृत्व गर्छु भनेर लाग्नु भएका व्यक्तिहरुको कुनै किसिमको विद्यार्थी राजनीति सम्बन्धि योजना र बहसको उठान नदेखिनु निकै दुःखद विषय हो।

संगठन जे भए हुन्छ। तर, म नेता हुनुपर्यो भन्ने किसिमको गैरजिम्मेवारी पारा स्पष्ट देखिरहिएको छ। अब नियामित विद्यार्थी नेताको एजेण्डा के हुने ? देश र पार्टीप्रति उसको जिम्मेवारी के हुने सोच्न आवश्यक छ। अहिले संगठनले खटाएको नेतृत्वको काम केवल संगठनको सर्कुलर वचन गर्दै क्याम्पसका मिटिंग धाउने मात्रै भएको देखिन्छ ।

जो नियामित क्याम्पस गएर विद्यार्थीको समस्यासँग हातेमालो गर्दैन, जो वर्तमान शिक्षा प्रणालीको समस्या निराकरण गर्ने स्पष्ट योजना प्रस्तुत गर्न सक्दैन। उसलाई आम विद्यार्थीले नेता स्वीकार किन गर्ने ? विद्यार्थी राजनीति केही राष्ट्रिय सरोकारका विषय बाहेक शैक्षिक विषयमा नै केन्द्रित हुनु पर्दछ।

विद्यार्थी नेताले भावी शैक्षिक नीति कस्तो हुने, विश्वविद्यालयको ढाँचा कस्तो बनाउँदा राज्यको शैक्षिक अवस्था अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिन्छ भन्ने विषयमा विचार विश्लेषण गर्नु पर्दछ। समितिबाहिर तर नजिकै बसेर विगतको विद्यार्थी राजनीतिलाई विश्लेषण गर्दा केवल विद्यार्थी नेता मन्त्रीको पीएको जागिर खाने बाहेक केही नयाँ सोच अगाडि बढाएको देखिँदैन।

प्रथमतः अहिलेको राष्ट्रिय आवश्यकता शैक्षिक सुधार नै हो। विगतको कमीकमजोरीलाई पाठ सम्झिएर भावानात्मक रुपमा नभई योजनासहित संगठनको मूलप्रवाहलाई व्यवहारिक शिक्षातर्फ सोझो गर्न सकियो भने त्यही नै सबभन्दा ठूलो प्रगति बन्न सक्दछ। अहिलेका विद्यार्थी संगठनका आकार निकै ठूला छन्। तर, वितरणको हिसाबले न्यायिक नदेखिएको कुरालाई पनि नेतृत्वले आत्मसात् गर्न आवश्यक छ ।

विगतका गल्तीहरु जे जस्ता भए अब त्यसको लेखाजोखा गरेर अल्झिने समय छैन। केन्द्रीय राजनीतिले शिक्षालाई निर्देशन गर्छ। तर, त्यसलाई कस्तो दिशामा अगाडि बढाउने भन्ने विषय सम्बन्धित सरोकारवालालाई जति चासो हुन्छ, त्यति अरुलाई हुँदैन। अहिलेको विद्यार्थी राजनीतिलाई निर्मम समीक्षा गर्ने हो भने विभिन्न संगठनका जिल्लाको इञ्चार्ज सह–इन्चार्ज अध्यक्ष माइन्यूटमा मात्रै सीमित बनेको सपष्ट देखियो।

सबै संगठनका सबै कमिटी केवल काठमाडौंका विभिन्न चिया पसलमा सीमित जस्तो देखियो। सबै विद्यार्थी संगठनले कम्तिमा जिम्मेवारी बाँडफाँड गर्दा सम्बन्धित क्षेत्रमा पुगेर संगठनको योजना प्रस्तुत गर्ने र समस्या समाधानको पहल लिन सक्ने चुन्नु पर्दछ। अन्यथा, पदको लागि तीन हात उफ्रने तर चुनावमा एउटा भोट हाल्ने शिवाय केही योगदान नगर्नेहरुको बाहुल्यता बढ्नेछ। जसको नतिजा संविधानमा उल्लेखित समाजवादको यात्रामा स्वयं युवा विद्यार्थी नै बाधक हुन सक्छ ।

हरेक विद्यार्थी संगठनको अबको लक्ष्य हरेक स्थानीय तहमा अत्याधुनिक एक–एक वटा व्यवहारिक एवं जनवादी विद्यालय स्थापना गर्ने हुनु पर्दछ। जसले नैतिक शिक्षा, ज्ञान र सीप, राष्ट्र प्रेम सबै सिक्न सक्ने वातावरण स्थानीय स्तरमा दिन सकोस्। प्राथमिकदेखि माध्यमिक तहको गुणस्तरीय शिक्षामा न्यूनतम प्राविधिक शिक्षा अनिवार्य गर्न पहल गर्नु पर्दछ।

त्यसैले मात्र उद्यमशीलता प्रवद्र्धन गरी समृद्धि दिलाउन सक्दछ। हामीलाई राष्ट्रिय सद्भावको विकास गर्ने नागरिक र देशको रक्षक चाहिएको छ। यी सबै कामको पहलकदमी केवल युवा विद्यार्थीको नेतृत्वमा बाहेक अरुमा सम्भव देखिँदैन। त्यसैले अबको नेतृत्व छनोट गर्दा विश्वविद्यालय शिक्षामा जोडिएको साथै समाजवादी सोच राख्ने व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चित हुने नीति अवलम्बन गर्नु पर्दछ।

विज्ञानलाई सृजनशील कार्यमा प्रयोग गर्ने समय सापेक्ष नीति चाहिएको छ। विद्यालय शिक्षामा सिर्जनशीलता बढाउने, पाठ्यक्रममा लगानी बढाउने, स्थानीय स्तरमा उद्योग निर्माण र घरायसी प्रयोजनको निमित्त विज्ञानको प्रयोग, वैज्ञानिक अन्वेषणलाई सुरक्षित र व्यवहार उपयोगी बनाउन मद्दत गर्ने, भाग्यवादी समाजलाई क्रमशः वैज्ञानिक र विवेकशील बनाउने सँगै सहज आधुनिक सोचको विकास र विज्ञानलाई समाजमा स्थापित गर्ने दायित्व पनि विद्यार्थी संगठन माझ नै छ।

शिक्षा र सीपमा केन्द्रित नमुना विद्यालयको विकास गर्ने, व्यवहारिक एवं जनमुखी शिक्षाको योजना विकास गरी प्रत्येक विकट गाउँमा गएर पढाउने अवधारणालाई देशव्यापी रुपमा विकास गर्नका लागि तत्पर हुने किसिमका व्यक्तिहरुको छनोटले मात्रै संगठनको अविभारा बहन गर्न सक्दछ।

यसरी हेर्दा र विश्लेषण गर्दा विद्यार्थी संगठनको नेतृत्वको छनोट नै समृद्धिको दिशा कुन हुने भन्ने हो। विद्यार्थी राजनीतिमा देखिएको बुर्जुवाहरूको वर्तमान बहुल्यतालाई निस्तेज गर्दै राष्ट्रिय हितलाई नै सर्वोपरी मान्ने अग्रगामी विचार र इच्छाशक्तिकाे नेतृत्वमा विद्यार्थी संगठन अगाडि बढ्न सकुन्। साथै सरोकारवाला सबैको समाजवादी व्यवस्था स्थापनाको निम्ति आफ्नो भूमिका निर्वाह गरुन्, शुभकामना !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्