काठमाडौं, ९ असोज । निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएका छन् । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले बढी रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारको निर्णयको विरोध गर्दै सरकारलाई नै मेडिकल कलेज चलाउन चूनौती दिएका छन् ।
निजी मेडिकल कलेज एसोसिएसनले सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने अभिप्रायले कलेजहरुको सिट संख्या, शूल्क निर्धारण, विदेशी विद्यार्थीको भर्ना सम्बन्धी स्पष्ट नीति नभएको भन्दै यस्तो अन्यौलताका वीच विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएको हो।
निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष वसुरुद्दिन अन्सारीले चिकित्सा शिक्षा ऐनले निर्दिष्ट गरेअनुसार शिक्षण संस्था शुल्क निर्धारण नगरी तथा विदेशी विद्यार्थी भर्ना सम्बन्धमा स्पष्ट प्रक्रिया नतोकी विश्वविद्यालयहरुले प्रवेश परीक्षा सञ्चालन गरेको भन्दै त्यस्तो कदमको कडा विरोध गरेका छन् ।
अध्यक्ष अन्सारीले आफूहरुलाई ठग भनेर आरोप लगाएकोमा कडा प्रतिवाद गरे । उनले भने,‘जबसम्म कानूनले कुनै चिज प्रमाणि गर्दैन् । अपराध सावित नभएसम्म अपराधी भन्न मिल्दैन् । अधिवक्ता ओमप्रकाश अर्यालजीले बिना प्रमाण ठग भन्नुभयो । माफीया शब्द प्रयोग गर्नुभयो । म खेद प्रकट गर्दछु ।’
आफूहरुले धेरै सोच विचार गरेर अब कलेज चलाउँदैनौं भनेर निर्णय गरेको पनि उनले सुनाए । उनले भने,‘विद्यार्थीलाई अनुरोध गर्न चाहन्छौं । निजी मेडिकल कलेज त्यति बेइईमान होईन, हामीले चाबी बुझायौं । तर, यो फ्याक्ट्रीजस्तो बन्द गर्ने बित्तिकै बन्द हुने होईन, कम्तिमा पनि पाँच÷६ वर्ष लाग्छ । तर, हामीले कलेज बन्द गर्ने थालनी गरिसकेका छौं ।’
उनले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मेडिकल कलेज चलाउन आफूलाई गरेको आग्रहप्रति टिप्पणी गर्दै भने, ‘उहाँले म चलाउँछु भन्नुभयो, तर उहाँले चिकित्सा शिक्षा ऐन राम्रोसँग पढ्नुभएको छैन। मुख्यमन्त्री भएको व्यक्तिले कानूनको परिधिभित्र रहेर बोल्नुपर्छ । टेकओभर गर्ने हो भने आउनुहोस् । मुख्यमन्त्रीजीले ७५ प्रतिशत भोलि दिनुहोला, हामी पढाउँछौं । प्रदेश नम्बर २ बाट ५० विद्यार्थीलाई निःशुल्क छात्रावृतिको स्पोन्सर गर्नुहोस । हामी निःशुल्क पढाईदिन्छौं । अहिलेसम्म शिक्षा मन्त्रालयबाट गएका विद्यार्थीहरुलाई फ्रि स्कलरसिप भन्ने गरेका छौं ।’
‘प्रवेश परीक्षाको प्ररीक्षाफल समेत प्रकाशित गरिसकेको र भर्ना प्रक्रिया सुरु गर्न खोजिएको सन्र्दभमा कलेजहरुले सिट संख्या, शुल्क निर्धारण, विदेशी विद्यार्थीको भर्ना सम्बन्धी स्पष्ट नीति तथा संघीय संसद, प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुको शुल्क लगायत विविध विषयका सन्दर्भमा दिइएको निर्देशनलाई पालना नगरी यथास्थितिमा कलेजहरुका तर्फबाट विद्यार्थी भर्ना गर्न असमर्थता व्यक्त गर्दछौँ’–एशोसिएसनका अध्यक्ष अन्सारीले भने ।
कार्यक्रममा निजी मेडिकल कलेज एशोसिएसन नेपालका महासचिव डा. सुनिल शर्माले नेपाल सरकार र नेताले गर्ने काम मेडिकल कलेजले गर्दै आएको भन्दै सरकारी लगानीमा १०० प्रतिशत छुट हुनुपर्ने बताए । उनले अन्य मेडिकल कलेजमा आजसम्म सतार जातमा विद्यार्थी डाक्टर नभएको तर नोबेल मेडिकल कलेजमा सतार विद्यार्थी डाक्टर बनेर आउने बताए ।
शर्माले आफूहरुले गरेको राम्रो कामको प्रशंसा नभएको गुनासो पोखे । उनले भने, ‘हामीले त सधैं अपराध मात्रै गर्यौं जस्तो गरेर प्रचार नगरौं ।’ सस्तो लोकप्रियताको निम्ति देशको मेडिकल शिक्षालाई ध्वस्त पार्ने काम अभियन्ताहरुबाट हुन नहुने उनको चेतावनी थियो ।
उनले भने, ‘स्कूलको फि नियन्त्रण हुनुपर्दैन ? ईन्जिनियररिङको फि नियन्त्रण हुनुपर्दैन ? समस्या मुलुकभित्र सबै ठाउँमा छ । प्याकेजमा हल खोजौं । टिक्ने खालको हल खोजौं ।’ उनले वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पेलेरै जाने रवैया देखाए कुर्सीबाट निकालेरे फालिदिने चेतावनी दिए । उनले भने, ‘शिक्षामन्त्री गिरिराजमणि सरले अहिलेकै रवैया अपनाउनुभयो र पेलेर जान्छु भनेर सोच्नुभयो भने उहाँको कुर्सीबाट निकालेर हामी फालिदिन्छौं । लेखेर राख्नुहोस्।’
उनले प्रा.डा. गोविन्द केसीले उठाएका सबै कुरा गलत नभएको पनि स्पष्ट पारे। एनले भने, ‘गोविन्द केसीले उठाएका सबै कुरा गलत छन् भनेर हामी भन्दैनौं । केसी सरको अभियानबाट केही जेन्युन काम भएका छन् । मेरिट बेसमा भर्ना भएको छ । यो अभियान सरकारले गरेको भए हुन्थ्यो । जिम्मेवार निकायले आफ्नो दायित्व पूरा नगरेकोले केसीको अभियान सुरु भएको हो ।’
सरकारी ईन्स्टिच्युट नाफामा नजानुको कारण भ्रष्टाचार भएको उनको टिप्पणी छ । उनले भने,‘आईएओमले पहिला आफूलाई परिवर्तन गर्नुपर्छ । फ्याकल्टी पुग्छ भने सिट संख्या घटाउनु हुँदैन् । पाउन सक्ने पाउनुपर्छ भनेको हो।’



लाेकपाटी न्यूज

