माेरङ, ५ असाेज। मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका–१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आइतबार बिहान पक्राउ गरेको हो।
मोरङका प्रहरी उपरीक्षक विश्व पोखरेलका अनुसार पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका–५ का २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाशकुमार थारू रहेका छन्।
उनका अनुसार शनिबार राति पक्राउ परेकामध्ये एक जनाले ती किशोरीलाई बोलाएर मदिरा सेवन गराई लठ्याएका थिए। किशोरी लठ्ठिएपछि उनले अरू तीन जना साथीलाई बोलाएर केराघारीमा पुर्याएर त्यहाँ पनि मदिरा सेवन गराएका थिए।
‘मदिरा सेवन गरेपछि किशोरी अचेतझैं भएपछि उनीहरूले सामूहिक रूपमा करणी गरेको खुल्नमा आएको छ,’ उनले भने।
राति नै पीडकमध्येका एक युवककी श्रीमती श्रीमान् खोज्न जाने क्रममा केराघारीमा गतिविधि देखेपछि उनैले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले त्यसपछि युवाहरूको खोजी थालेको थियो।
स्वास्थ्य परीक्षण गर्न किशोरीलाई कोशी अञ्चल अस्पताल ल्याइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।



लाेकपाटी न्यूज

