–डा. निमानन्द रिजाल
लोरीको लेकको कुनाबाट रातो हुँदै उदाएको सूर्यको किरणको स्पर्शले मेरो पढाइमा रोमाञ्चक बानाउँथ्यो । यो मलाई सबैभन्दा मन पर्ने चिज लाग्थ्यो । अँध्यारोबाट उज्यालोमा पढ्न पाउने अवसर र यसले विस्तारै–विस्तारै आफनो रंग फेर्दै रापिलो घाममा परिवर्तन भएको अनौठो लाग्थ्यो । बालकको मन न हो, कसरी गोलो सूर्य आकाशमा हिंड्छ, अचम्मै लाग्ने । अहिलेका बालकहरुले यसरी सोच्दैनन् होला । यसरी पढ्दापढ्दै कक्षा तीनमा पुगिएछ । आमा पनि खुसी, बा पनि खुसी, म त दंग परें अलि ठूलो भएको महसुस हुन लाग्यो । चिनजानको दायरा पनि बढ्दै गए ।
कमेरेपानीमा पढाउने ज्ञान प्रसाद पन्थी, मैले मामा भन्ने गर्दथेँ । उहाँले अंग्रेजी सिकाउने गर्नु हुन्थ्यो । उहाँ भारतको आसाम हो या सिलांगमा पढेर आउनु भएको रे। अङ्ग्रेजी पढाएको अलि अलि धमिलो याद आउँछ । उहाँले माने घोकाउनु हुन्थ्यो । स्पेलिङ्हरु कण्ठ गर्दा टोन अनुरुप बनाउन सजिलो बनाउनु भएको याद आउँछ । उहाँको घर थपकोटभन्दा तलतिर र बाँदाखर्कभन्दा अलि माथि रमाइलो ठाँउ, कुलोबाट पानी आउने ठाउँमा थियो । यो मलाई जीवनको सबैभन्दा आनन्द आउने ठाँउ र सुखी मान्छे लाग्थ्यो । किनकि हंसपुर मेरो घर भएको ठाँउमा आधा घण्टाको उकालोमा गाग्रीमा पानी बोकेर ल्याउनु पर्ने भएकोले होला । यो गाग्रो आधा भयो भने छचल्केर बोकी नसक्नु हुन्छ । अलि ठूलो भएपछि कहिलेकाहीँ पानी बोक्ने गर्थे ।
मेरो कमेरे पानीको स्कूल पाटी जस्तो थियो । तला छापेको भुइँतला खुला र माथि ढोका लगाउने । सायद सरहरुले ताल्चा लगाउनु हुन्थ्यो होला । तलपट्टि हाम्रो पढाइ हुने गर्दथ्यो । पानी परेको बेलामा मात्र हामी भित्र जाने गर्दथ्यौं । ९० प्रतिशतभन्दा बढीबाहिर चौरमा नै पढ्ने हो । सायद त्यस समयमा यहाँ तीन कक्षासम्म पढाइ हुने थियो । स्कूलमाथिबाट रतनमारेतिर जाने मूल बाटो थियो, यो बाटो भएर प्युठानतिरका मान्छेहरु पनि हिँडिरहन्थे । ढाक्रेहरु पनि हिँड्थे । मछि, बागदुला, खैरासम्मका मानिसहरु बुटवल, पाल्पातिर जाँदासम्म यही बाटो हिँड्दा रहेछन् । स्कूलको अलिकति माथितिरबाट बामरुक, छहरा र तलतिरबाट थपकोट बाँदाखर्क जाने बाटो छ ।
स्कूलको तल्लापट्टि बाँजा पाटाहरु थिए । यी पाटाहरु कसैले मेरो भनेर दाबी गरेर चर्चीएका थिएनन् । यी धेरै पुराना पाटाहरु हुन् भन्ने अनुमान लगाउन सकिन्छ । हामीहरुले यी पाटाहरुमा नै कमेरेपानीको स्कूले जीवन बितायौं । स्कूलको अलिमास्थिर छहरा जाने बाटामा पानीको मूल छ । सायद अहिले डोजरले न पुरेको भए त्यो मूल हुनुपर्छ । मूलको माथिपट्टि पैयौँको बडेमाको रुख थियो । त्यसको वरपर ढाक्रेहरुले भात पकाएर खाने गर्दथे । यही मूल नै हाम्रो पिउने पानीको स्रोत थियो । यहाँ पानी जुका थिए ।
पानीका मूलहरु जीवनका लागि अत्यन्तै महत्वपूर्ण र अत्यावश्यक प्राकृतिक स्रोतहरु हुन यिनको जर्गेना नगर्ने हो भने मानवबस्ती, जंगली जनावरहरुको बसोबास हुँदैन । यी महत्वपूर्ण स्रोतहरुको संरक्षण अत्यावश्यक छ । अहिलेको र आउने पीढीले यसको सूरक्षा नगर्ने, जलाधारहरुको संरक्षण नगर्ने हो भने जमिन मरुभूमिमा परिणत हुन्छ । बस्तीहरु उजाड बन्दछन् । हाम्रो क्षेत्र पानी पर्न पनि कठिन हुँदै जान सक्दछ । हिमालबाट टाढा छ । नजिकमा कुनै ठूला नदी पनि बग्दैनन् । सुख्खा क्षेत्र जस्तै छ । यसैले हंसपुरबासीहरु पानीका मूलहरु संरक्षणमा बढी जागरुक हुन आवश्यक देखिन्छ ।
सरस्वती पूजाको प्रसाद
श्रीपञ्चमीका दिन स्कूलमा सरस्वतीको बन्दना गरी मनाइन्थ्यो । स्कूलका विद्यार्थीहरुलाई फूल, घिउ, पिठो आदि ल्याउन भनिन्थ्यो र स्कूलमा हलुवा बनाएर खुवाउने चलन थियो । यो हलुवा मलाई मिठो लाग्थ्यो प्रसादीको रुपमा लिँदा । मलाई त्यसै बेला कण्ठ गराएका केही श्लोकहरु अहिले पनि कण्ठै छ ।
“सरस्वती माया दृष्टा विणा पुस्तक धारिणी ।
हंसवा हनसम युक्त विद्या दानम करो तुमे ।।”
सबैले हात जोडेर लय मिलाएर भन्ने गर्दथ्याैं । योदेखि बाहेक राष्ट्रिय गानको रुपमा गाउँछ गीत नेपाली भन्ने गीत बिहान प्रार्थनाको समयमा गाउन लगाइन्थ्यो ।
“गाउँछ गीत नेपाली ज्योतिको पंखा उचाली ।
जय जय नेपाल सुन्दर शान्त विशाल ।।
मेरो ३ कक्षा यसै स्कूलबाट संपन्न हून्छ । ४ कक्षामा रतनमारेमा भर्ना भएको थिएँ । बिदामा बाख्रा , भेडा गाई हेर्ने काम हुन्थ्यो । हाम्रो घरको ठीक दक्षिणतिर किरामारेको डाँडो थियो, यही डाँडाको आसपासमा र माजमेलातिरको चौरमा बाख्रा लाने गर्दथ्यौं । यो डाँडामा मेलका रुखहरु थिए, बुकी फूल पनि सेताम्मै फुलेको हुन्थ्यो । मेलमा सानो नास्पातीको जस्तो देखिने फल लाग्छ । पाकेको फल कालो हुन्छ खाँदा गुलियो हुन्छ । यो डाँडो अत्यन्तै रमाइलो थियो । यहाँबाट जहाँसुकै देखिन्छ । उत्तरतिरबाट बाँदिकोट, किसान विद्रोहको प्रमूख ठाउँ, पश्चिममा सल्ले र सिमे देउरालीको लेक, मदानेको डाँडा, जुन ५ नं प्रदेशको सबैभन्दा अग्लो डाँडो हो । जाडो मौसममा कहिलेकाहीँ हिँउ पर्ने गर्छ । पूर्वमा घोर्लासीको डाँडो दक्षिणमा शिद्धारासम्म खुलेर देखिन्छ ।
मेरो शिक्षामा यी मेरा पहिला यादमा आउने गर्दछन् । यो स्कूलपछि ढिस्को खारी लाम्चो रुपमा बनाइयो । गाउँले सबैले स्कूलको प्रगति र कक्षा पनि थप भए । यो ठाउँबाट स्कूल सारेर नजिकैको सम्म ठाउँमा कमेरेको छेडा नजिकको चौरमा लगिएको छ र माध्यामिक तहसम्मको पढाइ हुन्छ ।
मलाई त्यहाँ भएका पाटाहरुले दिमागमा चस्का दिइरहन्छन् । त्यहाँ खेतीपाती गरेर मानिसहरु बस्दा रहेछन् । अहिले कहाँ गए । हामीले कृषिको शुरुवातसँगै घुमन्ते जीवनयापन गरेका थियौं र सुरक्षित, उत्पादनमूलक जग्गाहरु हेर्दै र त्यहाँ बसो बास गर्ने रहेछौं । यो अवस्थाबाट हामी स्थायी खेतीपातीतिर लागेका थियौं ।
यो सामन्तवादी युगको प्रवेश हो । जबसम्म हामी घुमन्ते जिवनयापन गरिरहेका थियौं तबसम्म सामन्तहरुको जन्म भएको थिएन। त्यहाँ नाइकेहरु, अगुवाहरु थिए । बलिया बाँगाले अगुवाको काम गरेको भेटिन्छ । जब स्थायी प्रकृतिको बसोबास र उत्पादनको लागि जमिन हडप्ने र त्यसमा खेतिपाती गर्न शुरु गरे । त्यहाँ सामन्तहरु मजबुत बन्दै गए । राजा रजौटाहरुको जन्म भयो । हाम्रो हसंपुर पनि यही इतिहासबाट गुज्रिएको हुनुपर्छ ।
डर र मृत्यु
मरेका मान्छे र मसानका कुराहरु, त्यसमा पनि किचकन्नीका कुरा ठूलापाकाले गरेको सुन्ने गर्दथें । हाम्रा पीढीले यी कुराहरु धेरै सुनेको छ । मनमा यी डरलाग्दा चिज हुन् भन्ने लाग्थ्यो । मरेका मान्छेले तर्साउँछ भन्थे । यसले हामीलाई सताउँथ्यो, स्कूलबाट एक्लै हिँड्दा छेडाहरुमा दर्गुने गर्दथे। बाटो हिँड्दा लास ल्यएका छन् कि भन्ने पछिसम्म पनि डर बसिरहेको थियो ।
हाम्रोतिर के चलन रहेछ भने गण्डक क्षेत्रमा लास जलायो भने स्वर्ग पुग्दछन् । हाम्रो क्षेत्रमा त्यस्ता दुई वटा नदी बगेर मिसिने ठाउँहरु छन् । साकिन्धारा क्षेत्रको नदीको बहाव गण्डक क्षेत्रमा मिसिन्छ भने हाम्रो घर हंसपुर क्षेत्रको बहाव झिमरुक हँुदै राप्तीमा मिसिन्छ । यसर्थ राप्तीमा मिसिने क्षेत्रका मानिसका लासहरु पञ्चधारमा लगेर पोलिन्छ । पञ्चधार साना झरनाहरुको दोभान जस्तै छ । सानो तिनो पानी बगिरहन्छ । धनीहरुको लास त दुई दिनको बाटो रुरु क्षेत्रको गण्डकीको किनारमा लगेर जलाइन्छ । हामीले रिडी भनेर चिन्दछौं । यो धार्मिक विश्वास होला ।
यसर्थ, हाम्रा स्कूलको माथितिर करिब महिनामा दुई–तीन लासहरु लगेको थाहा हुन्थ्यो । विशेष गरी स्कूलबाट फर्कँदा सानो अप्ठेरो साँगुरो बाटो १ मिनेट जतिको थियो, यो बाटामा लास ल्याए भने कता जाने भनेर खुरुर्र दगुर्ने गर्थ्यैं । लास बोकेर ल्याएको त्यो अवस्थामा जम्काभेट कहिले भएन ।
यो डरको चेतना सानो छँदा सुनेका कुराले बसेको हो । यो चेतना दिमागमा बसेपछि हटाउन समय लाग्दछ । यसरी हेर्दा जीवन जगत र घटनालाई वैज्ञानिक चेतनाको आधारमा हेरिनु पर्दछ । प्रकृतिको उपज, पर्दाथबाट निर्मित जीवहरुको सिर्जना हो मरि सकेपछि यो निर्जीव हुन्छ । यसले केही गर्दैन । समाजले मरि सकेपछि स–सम्मान अन्त्येष्टि गरिदिनु पर्दछ ।
मेरा बा अनपढ भएतापनि केटाकेटीको अगाडि यस्ता कुरा कहिले गर्नु भएन र विश्वास पनि गर्नु भएन “ म राती राती मसान घाटको बाटो कति हिँड्नु पर्छ कति ? अहिलेसम्म एउटा मसानसँग जम्काभेट भएको छैन।” यसले विस्तारै आँट पलाएर आउने गर्न लाग्यो । हंसपुरदेखि रतन्मारेसम्म लामो बाटोमा यो भनाइले हिम्मत दिने गर्दथ्यो । अहिलेसम्म पनि मसानका कुराहरु गाँउघरमा हुने गर्छन् । यदि मरेका मानिसहरुले तर्साउने, मसान बन्ने हो भने मसानले हरेक मान्छेमाथि राज गर्थे । किनकि मरेका मान्छेहरुको संख्या जिउँदा मान्छेहरुको भन्दा धेरै छ । फ्रान्समा त मान्छेको जनसंख्याभन्दा हाडखोर झिकेर चिहान खाली गरेको संख्या निकै बढी छरे ।
मृत्युको भय नै डर हो । यो नितान्त वैज्ञानिक चेतनाको कमि हो । मृत्युदेखि मानिस डराउँछ । मृत्युको कुरा गर्दैन । यसबाट पनछिन्छन । यो राम्रो होइन । यस्को सामना गर्न सबैले सिक्नु पर्दछ कि मृत्यु त हुन्छ नै । बाँचेकाहरु मृत्युको कारणले प्रताडित हुनु भएन । डरलाई हटाउँदै गए पछि हिम्मत र अाँटको सिर्जना हुन्छ। यसले व्यक्तिको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । यो मेरो पनि अनुभव हो ।
आमा, हुप्पि र म
हाम्रा घर पूर्व उत्तरायण दिशामा फर्किएको थियो । घरको ठीक ३० फीट जति माथि सानो डाँडो थियो। त्यो दक्षिण पश्चिम फर्किएको छ । यसमा हाम्रो परिवारको डोहा हो । केही भाग खर्यान हो । यो डोहामा हाम्रा परिवारले बाँस लगाएका थियौ, कुनै ठूलो बा का कुनै हाम्रा थिए । हामीमा को–कसको त्यति भेद हुँदैनथ्यो । बाँसहरु अत्यन्तै लाभकारी लाग्यो । घाँस, भाटा, चोया, डोका, सोली, डाला, खावा, टेका, झिक्रा, फर्निचर, अहिले त पलाइ बाँस पनि बन्छ ।
यस्तो लाभकारी बाँसका केटाकेटीका खेलौना किन नबन्ने सुप्लाबाट फिरफिरे बनाएर दौडाएर कति घुमाएँ कति । यसलाइ हुप्पि पनि बनाउने मन लाग्यो र एउटा दुब्लो दुब्लो बाँस (झिनो) छानेर माथि चढेर त्यसको टुप्पामा समाएर तल झार्ने फेरि माथि जाने गरिरहेको थिएँ । आमा डोहामा के गर्दै छ यसले भनेर निस्कनु भएछ । छोरो बाँसमा हुप्पि खेलिरहेको । त्यो हुप्पी नखेल् भनेर एक दुई पटक भनेको सुनिनछु । नखेल् भनेको भनेर सानो मसिनो ढुंगा मतिर हुत्याउनु भएछ। टुच्च मेरो साँप्रोमा लाग्यो। चुच्चाले सानो घाउ बनायो । त्यसबाट अलिअलि रगत आयो। घर लगेर बेसार र तेल लगाइ दिनुभयो र सम्झाउनु भयो । यसबाट हुने खतरा, ज्यानसम्म जान सक्ने सम्भावना देखाई दिनुभयो ।
फित्कुलिले ढुंगा फाले जस्तै बाँसले मान्छेलाई हुत्त्याइ दिँदोरहेछ । अहिले त लिखुटे बाँस रहेछ र पो केही भएन, अलि दरो बाँसले त उछिटाउने रहेछ ।’ म फेरि खेल्न निस्केँ । तर, आमाको दिव्योपदेश सम्झिरहने सानो टाटो अहिले पनि छ । मेरो साथमा आमाको माया छ भनेर ढुक्क हुन्छु । यो स्मृती लेख्दा यो टाटो सुम सुमाएको थिएँ आमा । तेल र बेसारले निको पारेको टाटो । आमा यो हाम्रो जीवन थियो । कतिपय ठाउँमा अहिले पनि यस्तै छ । अहिले यसले मेरो जिन्दगी बोनस जिन्दगी भन्छु ।
केटाकेटीमा खतरा मापन गर्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन । छोरो खतरासँग खेल्दै गरेको देखेर मलाई खतरा मापन गर्ने चेतनाको विकास आमाबाट भएको हो र यो अहिले पनि ताजै छ । त्यस दिनदेखि हुप्पी कहिले खेलिनँ । घाँस काट्दा भाउजु, दाइ, बा, साथीहरुसँग बाँसको टुप्पामा पुगेर उहाँहरुलाई जिउरो समाएर तान्न लगाउँदै आफू पनि त्योसंगै झर्ने काम चाहिँ गरे । यसमा पनि विस्तारै तल झुण्डिएर झर्न मज्जा आउँछ तर यसमा पूर्ण सूरक्षा अपनाइएको थियो । अहिले यो सम्झना हुन्छ । हो अन्जानमा बच्चादेखि युवाहरुले जीवन घातक कामहरु गर्दछन । हरेक ठूलाबडाले घातक काम भनेर संझाउनु पर्ने हुन्छ, जसबाट बच्चा र युवाहरुलाई बचाउन सकिन्छ ।
केटाकेटीलाई सूरक्षित रुपमा खेल्ने ठाँउहरुको विकास हरेक टोल टोलमा आवश्यक छ । खेल्ने पार्कहरुको निर्माण, खेल मैदानहरुको निर्माण (सानो भए पनि) बच्चा र युवाहरुको चौतर्फी विकासको लागि यो आवश्यक छ । बुढाहरु पनि आफनो शरीरलाई तन्दुरुस्त राख्न, साथीहरुसँग भेटघाट गर्न, हिजोका रमाइला कुराहरुसँग जिउन आवश्यक पर्दो रहेछ ।
जीवन पनि अच्चमको छ । सिकाइ कसरी हुन्छ ? पहिले पहिले दिव्य उपदेशबाट सिकाइ हुन्छ भन्थे । वास्तवमा दिगो सिकाइ गराइ र भोगाइबाट हुन्छ । यो नै अहिलेको दिव्य उपदेश हो । शिक्षामा यसको प्रचुर मात्रामा प्राप्त हुनु पर्दछ । नेपाली शिक्षा यसबाट टाढा छ । यसको नजिक ल्याउने प्रयत्नै भएन, यो विडम्बना हो ।
रतनमारेको शिक्षा
रतनमारे सिद्धार्थ प्राथमिक विद्यालय २०१६ सालमा जगतबहादुर टण्डन, बिष्णु प्रदिप लगायत मिलेर स्थापना गरेका थिए। यो विद्यालय, कमेरेपानी, वैद्यनाथको सञ्चालनमा मुठीदानबाट भएको हो । यही मुठीदानबाट आएको अन्न बेचेर शिक्षकको तलब दिने चलन मलाई पछिसम्म थाहा छ । तोयानाथ गुरु जोगीमारेबाट आएर पढाउँदासम्म मुठीदानको चलन थियो ।
हरेक दिन एक मुठी अन्न विद्यालयलाई छुट्याएर विद्यालयमा पुर्याइदिने चलनलाई मुठीदान भनिन्छ । यसरी विद्यालयहरु संचालनमा थिए यो आजभन्दा करिब ५० वर्ष अगाडिको कुरा हो । सरकार निरंकुश राजतन्त्र हाबी थियो । प्राथमिक विद्यालयमा पढाउने हेमराज टण्डन र छविलाल खड्का सरको याद आउँछ । अरु पछि सुमकान्त सर थपिनु भयो । मिडिल स्कूल थपिने बेलाको आसपासको कुरा हो यो।
रतनमारे घरको पूर्वतिर सोजै देखिन्छ । तारो हान्ने जस्तै सोजो छ । तर, हिँडेर जाँदा ४५ मिनेट लाग्थ्यो । विद्यार्थीहरु अलि ढिलो हिँड्ने, साथी कुर्ने गर्दा समय लाग्थ्यो हामीसँग घडि थिएन । तर, लगभग समयमा आमाले खाना दिएर दिउँसोलाई घरमा जे छ त्यही खाजा हाल्दिएर पठाउनु हुन्थ्यो । धान खेत धेरै थिएन, चाड पर्व, पाउनापाछालाई ठिक्क हुन्थ्यो । आमाले यसै भन्नु हुन्थ्यो । चामल बेच्ने चलन थिएन र किनेर खाने चलन पनि थिएन । मकै, गहुँ, जौ, फापर, कोदो राम्रै हुन्थ्यो । मलाई कोदाको रोटी मन पथ्र्यो । सुखा रोटी, तरकारी, सातु, फापरका रोटी यस्तै–यस्तै खाजा हुने गथ्र्यो । खान भने पञ्चायत घरको पछाडिको हाम्रो घर देखिने तिर फर्किएर खान्थ्यांै । कहिलेकाँही कृष्ण दाइ, दिनामनि पन्थी सँगै भए जस्तो लाग्छ ।
यहाँ आए पछि साथीहरुको दायरा बढ्यो, स्कूलकै अगाडि एउटा चिया दुकान थियो, जगत बहादुर बा को कपडा पसल थियो । उहाँले हाम्रो हजुरबा (बुढा बा पनि भन्ने गर्छौं) सँग ज्योतिषी पढ्नु भएकोले । यता ज्योतिषलाई जैसी भन्ने चलन पनि छ । ठूलो बा र उहाँले मित लाउनु भएकोले मित बा भनेको हो जस्तो लाग्छ । यहाँ पञ्चायत घर भएको पढ्नु हुन्थ्यो । यहाँ मैले ४ कक्षा पढी सकेपछि फेरि स्कूल स्थानान्तर भएँ ।
मेरो कान्छी सानिमाको घर प्युठानको खलंगामा थियो । एक दिन सानीमा र सानो बा घर आउनु भएको रहेछ । सानीमाको छोरा दाइ पनि साथमा आउनु भएको रहेछ । यस्तै कुरैकुरामा खलंगामा ठूलो हाइस्कूल छ पढ्न जान्छस् भन्नुभयो । आमालाई पनि दुई भाइ संगै जान्छन्, पढछन् भन्नुभयो । बालाई पनि अलि गतिलो स्कूलमा पढ्छ भने राम्रै हुन्छ भन्ने मनमा लाग्यो होला, हुन्छ नि त भन्नुभयो ।
कपडाको भकुण्डो र हामी
हामीले कपडाका भकुण्डा सिलाएर खुट्टा र हातले हानेर खेल्ने गथ्र्यौं । रतनमारेमा आइसके पछि त्यहाँ दुई टीम बनाएर, गोल पोस्ट जस्तै राखेर खुट्टाले हिर्काएर खेलिँदो रहेछ । यो फुटबल रहेछ । यहाँ ठूलो पोखरी छ, त्यसमा कहिले पानी जमेन। हिउँदमा भकुण्डो खेल्ने अहिलेको फुटसल जस्तै थियो । भलिबल पनि यसैमा खेल्न पुग्थ्यो । वरिपरि दर्शक बसेर हेर्न मिल्ने थियो। यहाँ साँचो मानेमा भलिबल राम्रोसँग खेल हुँदोरहेछ । पल्टने दाइहरु आएर विद्यार्थी शिक्षकसँग खेल भई नै रहन्थ्यो। रतनमारेको पोखरी अहिले पनि विद्यमान छ । अहिले पानीको धारो छोडेर छिपछिपे पानी भइ नै रहन्छ । यो ऐतिहासिक पोखरी हो ।
केटाकेटी विद्यार्थीहरुको चौतर्फी विकासको लागि खेल मैदानको आवश्यकता पर्दो रहेछ । हरेक टोलमा सानो नै भएपनि निर्माण गरिनु पर्ने रहेछ । स्कूलहरुमा अनिवार्य खेल मैदान चाहिन्छ र हरेक खेलहरु रोजेर खेल्न पाउने वातावरण हुनुपर्छ तब मात्रै विश्व प्रसिद्ध खेलाडीहरु उत्पादन गर्न सक्दछौं । हरेक नगरपालिका र गाउँपालिकामा सुविधायुक्त रंगशालाको आवश्यकता हुँदो रहेछ ।
खलंगाको हाइस्कूल र म
प्युठान खलंगाको हाइस्कूलमा म कक्षा ५ मा भर्ना भएँ। दाइले पनि कक्षा ६ मा पढ्नु हुने रहेछ । ठूलो स्कूल, बजार, मान्छेको ओहोरो दोहोरो । घर लस्करै बनेका । कपडा पसल, मिठाइ पसल राम्रो लाग्यो । त्यो स्कूलमा मैले विज्ञानको एउटा राम्रो पाठ पढँे । जिन्दगीमा कहिले भुलिन त्यो हो, “पानीले आफ्नो सतह आफैं मिलाउँछ।” सरको नाम अहिले भुलेँछु। भारतबाट विज्ञान पढेर आएको भन्थे । प्रयोगात्मक गरेर देखाउनु भएको थियो । यसले मेरो जीवनमा विज्ञान महत्वपूर्ण विषय हो भन्ने महसुस गरायो । विज्ञानमा मेरो झुकाव बढाएर लग्यो र जहिले पनि विज्ञानमा राम्रै गरें ।
विद्यालयको वातावरण, शिक्षकको गुणस्तर र लगनशिलताले शिक्षाको गुणस्तर निर्धारण गर्न मद्दत गर्दछ । पढाउने शिक्षक अत्यन्तै मेहनति, सिक्न उत्प्रेरण जगाउन सक्ने हुनुपर्ने रहेछ । यसमा स्कूलको पूर्वाधार पनि अत्यन्तै महत्वपूर्ण पक्ष रहेको छ । स्कूलको व्यवस्थापनको पनि महत्वपूर्ण भुमिका रहेको छ ।
टाढा भएकोले बा, आमा आत्तिनुभएछ । कक्षा ५ को मंसिरमा जाँच लेखेपछि बिरामी परँे। ज्वरो आयो । बा भेट्न आउनु भएको थियो । मैले “बा म घर जान्छु” भनेछु । मलाई सानिमाले, सानो बा, दाइ सबैले अति माया गर्नु हुन्थ्यो । यहाँ आएर थाहा पाएँ नेवार जातिको छुटै भाषा हुने रहेछ र मकै भटमास छ छैन भन्ने सिकें । (कनि मुसी डल मरु)। केही नेवार साथीहरु कक्षामा थिए । घरबाट स्कूल टाढा थिएन । सानिमाको घर सारीबांग जस्तो लाग्छ । त्यहीँ आएर मैले बदाम खाएको थिएँ । सानिमाहरुले बदामको खेती गर्नु हुँदोरहेछ । ज्वरो आएको बेलामा बदाम खाएछु । वाक्क भएको महसुस पछिसम्म भइ नै रह्यो ।
धुर्कोटको हाइस्कूल र हामी
घर आएर के गर्ने ? मोहन दाइ, मुक्ति दाइ, गोपाल भान्जा, दिनामनि पन्थी, प्रेम पन्थी, तुल्सी पन्थी लगायतले धुर्कोट हाइस्कूल जाने निधो गरेछन् । म पनि जाने भएँ । त्यहाँ म एक कक्षा माथि चढी ७ मा भर्ना हुने निधो भयो । यो कक्षा चढ्ने काम अर्धवार्षिकमा राम्रो गरेमा चढाइ दिने गर्थे । यो मेरो २ को आधा पढ्दै ३ मा गएको थिएँ । त्यो हाइस्कूलमा धेरै पढेनांै । मोहन दाइ, मुक्ति दाइ, गोपाल भान्जा हामी एउटै घरमा बसेर आफैं पकाएर खाने गर्दथ्यौं । हामीमध्ये परिपक्व मोहन दाइ कता जानुभयो । साउन भदौको महिना थियो, दाउरा नबल्ने, धुवाँ मात्र आउने । मकै बारीका फर्सीका मुन्टा टिपेर घरबेटीले ल्याई दिएकी थिइन् । जेनतेन भात पकायौं। फर्सीका मुन्टा पकाउन नजानेर पखालेर काटेर पकायांै । त्यति न मिठो फर्सीका मुन्टा आजसम्म कसैले बनाएको छैन होला । नजिकको घरबाट मोही र घरबाट ल्याएको घिउ हालेर खाना खायौं र ४ जना स्कूल गयौं । दाइ बहिर जानुभएको थियो हामी तीन जना उस्तै थियौं । आगो बाल्नै निकै कठिन हुन्थ्यो । धुवाँले आँसु आँसु हुन्थ्यो ।
धुर्कोट गुल्मी जिल्लाको राम्रो ठाउँ हो। सम्म परेको टार जस्तै छ । यहाँ, कटहर, आँप, बेलौती (हाम्रातिर अम्बालाई बेलौती भन्छौं । काठमाडौं पश्चिममा बेलौती नै भन्छन, लमजुङ, तनहुँ र गोर्खामा पनि बेलौती नै भनेको सुने) स्थानीय बिशेष भाषाले नेपाली भाषाको शब्दभण्डार ओजिलो बनाई दिएको छ । यो गाउँको ठीक उत्तरतिर मदानेको लेकबाट उत्पति भई आसपासका झर्नाहरु मिसिँदै राम्रो नदी बनेको छ । यसले राम्रो फाँटको निर्माण गरेको छ ।
यो नदीलाई छल्ली नदि भनिँदो रहेछ । छल्ली नदीले बनाएको फाँट राम्रो छ । यो फाँट नजिक थियो । यो नदीका किनारामा चौरहरु थिए । यिनमा आँपका बगैंचा थिए । यो समयमा अाँप खुब फलेका रहेछन् । म यो समयमा ११ बर्षको थिएँ । रुख चढन सक्थें । रहरमा अलिअलि पौडन सकने भइसकेको थिएँ । पौडिन गाउँका पोखरीले सिकाएको थियो । यस पटक घर आउँदा सुपारी, आँप झोलाभरि बोकेर सबै दाजुभाइ र साथीहरुले ल्याएका थियौं । आमाले यो देखेर गहभरि आँसु पार्नु भएको मेरा आँखा वरिपरि नाँचिरहन्छ ।
उहाँले यसरी आँप लिएर घर आउला भन्ने कल्पना नै गर्नु भएको थिएन । ऊ कहिले आउँछ भनेर आँखा बिच्छाएर बस्नु भएको थियो । यी आँप छिप्पिएका तर पाकिसकेका थिएनन् । पकाएर सबैले खाएका थियाैं। मेरो दाइ शीतल प्रसाद भारतको सिलांगमा जानुभएको थियो । यो २६ साल तिरको कुरा हो । यो समयमा शिक्षा दुर्लभ जस्तै थियो, साधारण मान्छेले लगातार पढ्न नसक्ने । पढ्न घर अनिवार्य छोड्नु पर्ने बाध्यात्मक अवस्था थियो । यस्तो अवस्थामा शिक्षा प्राप्त गर्न निकै संघर्ष गर्नु पथ्र्याे । कलिलो उमेरमै बाआमा छोड्नु पर्ने । पैसाको अभाव, घरबाट झोलामा खर्च बोकेर हिँड्नु पर्ने । आफै पकाउने, खाने, भाँडा माझ्ने । समयमा उठ्ने पढ्ने । अहिले जस्ता बिजुली बत्ति जिल्लाका सदरमुकाममा पनि थिएनन् । पानी पँधेरोबाट बोक्नुपर्ने । यो संघर्ष हो, जीवनको लागि संघर्ष । शिक्षाको लागि संघर्ष । अहिले गाउँगाउँमा १२ कक्षासम्म स्कूलहरु छन् ।
म फर्किएर पुनः सिद्धार्थ निम्न माध्यामिकमा कक्षा ७ मा भर्ना भएँ । त्यहाँ कृष्ण दाइले पढिरहनु भएको थियो । उहाँ मभन्दा अलि परिपक्व देखिनु हुन्थ्यो । अरु साथीहरुमा प्रेम बहादुर महत, बमबहादुर महत, मेघराज टण्डन, चन्द्र टण्डन, खुमराज पुंजाली, ओम प्रकाश आचार्य र अरु केही बामरुकका साथीहरुसँग भेट भयो ।
कक्षा ७ दुई, तीन महिना पढेपछि जाँच आयो । जाँचमा राम्रै गरियो । मलाई इंग्लिसका टेन्सहरु राम्रै अभ्यास भएकोले इंग्लिस पास गर्न कहिले समस्या भएन । मैले अलि राम्रोसँग एक वर्ष पूरै पढेको भनेको कक्षा ४, ५ र ८ मा हो । अरु कक्षाहरु भ्यागुतो उफ्रिए जस्तै गरेको महसुस हुन्छ । सबै साथीहरुले केही न केही राम्रा काम गर्नुभएको छ । सबै साथीहरुको जानकारी राख्न सक्ने अवस्था भएन । तैपनि केही पछिसम्म भेट हुनेमा मेघराज टण्डन भारतीय सेनाको उच्च ओहोदामा पुगी अहिले भुपूसैनिक संगठनको अध्यक्ष हुनुभएको छ । मुक्ति रिजाल पी.एच.डि गरी नेपालको स्थानीय प्रशासनविद् हुनुभएको छ । उहाँ राइजिंग नेपालको संपादकबाट रिटायर्ड हुनुभयो । खुमराज पुंजाली नेपाल सरकारको सचिव भएर रिटायर्ड हुनुभयो । ओम प्रकाश आचार्य वाणिज्य बैंकको ११ आंै तहबाट रिटायर्ड हुनुभयो । दिनमनि पन्थी शिक्षकबाट रिटायर्ड हुनु भयो । बमबहादुर महत भारतीय सेनाबाट रिटायर्ड हुनुभयो । जीवन जिउन शिक्षाले राम्रो भूमिका खेलेको रहेछ भन्ने थाहा हुन्छ । हंसपुर नपढी दाङ गएर बसेर पढेकाहरुमा समकालीन भाइमा धर्म अधिकारी पी.एच.डि गरी त्रिभुवन विश्व विद्यालयको प्रोफेसर बन्नु भएको छ ।
यो मिडिल स्कूलसम्म आइपुग्दा विद्यार्थी संख्या राम्रै हुन लागेका थिए। पसलेंग, गोखुंगा, पात्लेबाट समेत विद्यार्थीहरु आउने गर्न लाग्नु भएको थियो । स्कूल बनाउँदा दिउँसो विद्यार्थीहरु काठ बोक्न र चिरपट बोक्न पञ्चधारको आसपास पुग्नु पथ्र्यो । यी चिरपटहरु तलो छाप्न र ढुंगाको छानोको तल राख्न प्रयोग हुन्थे । यो कक्षा आठमा पढ्दाका शुरुशूरुका दिनहरु थिए ।
काँध खुइलिँदासम्म चिरपट बोकियो । यसरी यो विद्यालय बनाउन मेहनत गरिएको थियो । कक्षा ८ मा सुमकान्त, होमनाथ र तोयानाथ गुरु हुनुहुन्थ्यो । तर, यो शिक्षाले जीवन जिउने कला दिएको थिएन । शिक्षाले जीवन जिउने कला दिनुपर्छ होइन र ? तपाईंको उत्पादनसँग कताको साइनो छ त ? यसको अर्थ तपाईंलाई अर्थोपार्जनमा जागिर खोज्नेदेखि बाहेक अरु केही दिन सक्यो । गोबर फाल्न सिकाएन, गोबर छुन हुन्न भन्ने सिकायो । यसरी सम्रग देशलाई परनिर्भतातिर धकेल्यो । हाम्रो विकासको बाधक शिक्षामा भएको खराबी हुन आयो । अहिलेको १२ पछि अधिकांश खाडी मुलुकमा ३ डि (यो भनेको फोहरी, खतरनाक र गधा जस्तै लदिने) कामको लागि जाने बनाइरहेको छ ।
हाम्रो देशमा भएको प्राविधिक शिक्षाले पनि सीपयुक्त र काम गर्न सक्ने बनाएन। यो झन् बिग्रँदो अवस्थामा छ । यसले देशलाई झन् डुबाउन सक्छ । शिक्षा त्यसमा पनि प्राविधिक शिक्षा जीवन र उत्पादनसँग प्रत्यक्ष सम्बन्ध राख्दै अनुसन्धानमुखी बनाउनु पर्छ । प्राविधिक शिक्षामा प्राविधिक वातावरण तयार गनुपर्छ तब मात्रै काम गर्ने जनशक्ति उत्पादन हुन्छन् ।
यस गाउँका दाजुहरु भारतीय र ब्रिटीश सेनामा जाने भएकोले पढ्नु पर्छ भन्ने जागरण अलिअलि आएको रहेछ । किनकि दास्रोे विश्वयुद्धको अनुभवले लेख्न पढ्न सक्ने बहादुर जवान ब्रिटीशको लागि माग भएको थियो । हरेक शीरको रोयल्टी नेपालका शासकको खातामा आउने गथ्र्यो । यी सोजा युवा दास जस्तै भएको के थाहा । तैपनि प्रचुर मात्रामा शिक्षाको प्रचार भएको थिएन।
अहिलेको वातावरणमा कस्तो शिक्षा पढ्ने भन्ने युवाहरुले गहन रुपमा सोच्नु र सोहीअनुरुपको तयारीमा जुट्नुपर्ने भएको छ । किनकि अबको प्रतिस्पर्धा उत्पादन र वैज्ञानिक अनुसन्धानमा हुने गर्दछ । यदि हाम्रो शिक्षा यो अनुरुप सञ्चालन भएन भने उही २२ औं शताब्दीको दासत्व स्वीकार्नु बाहेकको विकल्प हामीसँग केही रहन्छ र ? यसर्थ, शिक्षाले समाजको आवश्यकता पूरा गर्दै भविष्यसँग जुध्न सक्ने अनुसन्धानमुखी जनशक्ति उत्पादन गर्ने हुन आवश्यक छ ।



लाेकपाटी न्यूज

