उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दिए २१ दलले निवेदन

Election Commission
लाेकपाटी न्यूज

काठमाडौं, १ असोज। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो।

आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले उपनिर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दर्ता गराएको जानकारी दिए।

वि.सं. २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि निर्वाचन भएपछि एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलले उपनिर्वाचनमा भाग लिन दल दर्ता हुनुपर्ने प्रावधान छ। तर २०७४ को तीन तहको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु पर्दैन।

उनका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ले पनि दल दर्ताको निवेदन दिएका छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच एकीकरण भएर नयाँ दल बनेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोगमा पुनः दर्ता गर्नु परेको हो। यस्तै तत्कालीन सङ्घीय समाजवादी पार्टी, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण भएर ‘समाजवादी पार्टी’ बनेपछि उनीहरुले पनि दल दर्ताका लागि निवेदन दिएका हुन्।

यसैगरी मङ्गोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), नेपाल लोकतान्त्रिक पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन्।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी संयुक्त, खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस बी.पी., ग्रीन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल र हाम्रो पार्टी छन्। वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा ८० दल र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ९२ दल दर्ता भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्