चुनावी र्‍यालीमा विष्फोट हुँदा २४ जनाको मृत्यु

विष्फोटमा अरु ३१ जना घाइते भएका छन् । विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रुपमा बच्न सफल भएको अफगान अधिकारीले जनाएका छन् । मारिनेमा महिला तथा बालबालिकासमेत रहेको बताइएको छ ।
लाेकपाटी न्यूज

एजेन्सी। अफगानका राष्ट्रपति अशरफ घानी सहभागी रहेको एक चुनावी र्‍याली नजिकै विष्फोट हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ । परवान प्रान्तको चारिकर शहरमा भएकाे चुनावी र्‍यालीमा साे विष्फोट भएको हो ।

विष्फोटमा अरु ३१ जना घाइते भएका छन् । विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रुपमा बच्न सफल भएको अफगान अधिकारीले जनाएका छन् । मारिनेमा महिला तथा बालबालिकासमेत रहेको बताइएको छ । घाइतेहरुको अवस्था गम्भिर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

अधिकारीले विष्फोटन आत्मघाती प्रकृतिको रहेको जनाएका छन् । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन ।

यद्यपि, अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले अर्को साताको शनिबार हुन लागेको चुनावमा सहभागी नहुने र चुनाव हुनै नदिने भन्दै यस्ता चुनावी कार्यक्रमलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।