प्रदेश २ को प्रदेशसभा बैठक आज फेरि अवरुद्ध

लाेकपाटी न्यूज

जनकपुरधाम, २७ भदाै। प्रदेश २ काे प्रदेश सभा बैठक आज पनि अवरुद्ध भएकाे छ। सांसद विकास कोष र प्रदेश सरकारले कार्यान्वयन गरेका योजनाको भुक्तानी नदिएको विरोधमा शुक्रबार सांसदहरुले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।

योजना सम्पन्न भइसकेको लामो समय भइसक्दा पनि भुक्तानी नदिएको भन्दै उनीहरुले शुक्रबार दोस्रो पटक संसद अवरुद्ध गरेका छन्। संसद अवरुद्ध गर्नेमा सत्तारुढ र विपक्षी दुबैथरी दलका सांसद रहेकाे जनाइएकाे छ।

यसअघि भदौ २२ गतेको प्रदेशसभा बैठक पनि रकम निकासा नभएको भन्दै अवरुद्ध भएकाे थियाे । शुक्रबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक पनि सांसदहरुले सुरुमै अवरुद्ध गरे पनि सभामुख सरोजकुमार यादवले रकम निकासाबारे शुक्रबारको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि सांसदहरुले केहीबेर बैठक चल्न दिएका थिए।

तर सरकारले आजै जवाफ नदिएपछि सांसदहरुले पुनः बैठक अवरुद्ध गरेका हुन् । विपक्षी दल नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले सरकारले सम्पन्न भइसकेका योजनाको निकासा दिन नमानेको र सभामुखको रुलिङको समेत अवज्ञा गरेको कारण बैठक अवरुद्ध गर्ने घोषणा गरेका थिए । उनको घोषणासँगै प्रतिपक्षी नेकपा र कांग्रेसका सांसद तथा सत्तारुढ राजपाका समेत केही सांसदले उठेर बैठक अवरुद्ध गरेका थिए ।

आगामी बैठक २९ गते बोलाइएको छ । सभामुख सरोजकुमार यादवले रकम निकासा गर्न नसकेको सन्दर्भमा जवाफ दिन रुलिङ गरेका छन् । समयमै योजना सम्पन्न गरी कागजात पेश गर्दा समेत निकासा नदिएको सांसदहरुको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्