– मनहरि क्षितिज
लघुकथाः– हेडसर
हेडसरले छोरो श्याम स्कूलमा फस्ट नभएको भन्दै बेलुकी घरको खाँबोमा बाँधेर खुब कुटे । श्यामकी आमाले रोक्न खोज्दा पनि हेडसरको रिस मरेन । ‘रातभरि यहीँ मर् अब,’ भन्दै हेडसर बाहिर निस्के ।
उनी सरासर गाउँमा तास खेल्ने ठाउँमा पुगे । मानिसहरू रक्सीले मात्तिएर फोहोरी कुरा गर्दै तास खेल्दै थिए । हेडसर पनि उनीहरूसँग मिसिए । रक्सिको उन्मादमा तास खेल्दै मनपरी बोल्दै हेडसर रमाइरहेका थिए। बेला बेलामा उनी चिच्याउँथे, ‘हारेँ भने छोरो र बुढी समेत दाउमा राखेर खेल्छु !’
अचानक हेडसरकी श्रीमती रुँदै उनलाई खोज्न त्यहीं पुगिन् । उनले लोग्नेको कठालो समात्दै भनिन्, ‘छोरालाई बिग्रियो भनेर पिटेर यहाँ रक्सी र जुवा खेल्ने जँड्याहा । छोरा कहाँ छ पत्ता लगा ।’
रक्सीको मातमा उनका अरु साथीहरू चुपचाप लाग्दै मुखामुख गरे। हेडसर मुन्टो निहुराएर श्रीमतीको पछिपछि घरतिर लागे । रात बित्यो। श्याम भेटिएन। ‘तैंले डोरी फुकाइदिस् र मेरो छोरो हरायो,’ उल्टै हेडसरले पत्नीलाई आरोप लगाए ।
दिन बिते, बर्ष बिते, श्याम भेटिएन । सबैले आस मारे ।
धेरै बर्षपछि हेडसरको गाउँमा प्रहरी चौकीमा नयाँ इन्स्पेक्टर आए । उनले गाउँलाई तास जुवा र रक्सी मुक्त बनाउने घोषणा गरे । तर, हेडसरको बानी सुध्रिएको थिएन ।
एक रात प्रहरीले जुवा खेलिरहेको ठाउँमा छापा मार्यो र धेरै जनालाई समातेर खोरमा थुन्यो ।
भोलि पल्ट इन्स्पेक्टर जुवाडेहरूको अवस्था बुझ्न गए । इन्स्पेक्टरलाई देखेर हेडसरका आँखा खुलेको खुल्यै भए । उनको मुखबाट बोली निस्केन । धेरै सोच विचार र प्रयास गरेपछि उनको बोली फुट्यो, ‘श्याम तिमी !’
लघुकथाः– ममता
अच्चानक कालो धुलोको मुस्लोले आकाश छोप्यो । ममताले के भएको हो भनेर सोच्नै नपाइ उसले टेकेको जमिन नै उस बाट टाढा जाँदै गरेको महसुस गर्न थाली। फेरि पनि जमिनको कम्पन सुरु भयो र उसले हेर्दा हेर्दै अलिक परको एउटा घर लड्यो। जताततैको होहल्ला र कोलाहलमा उसको दिमागले नै काम नगरेको जस्तो महसुस गर्दै थिई ।
सबै जना “खुल्ला ठाउँमा जाउँ” भनि कराउदै थिए। उ पनि अरुको पछिपछी दौड्दै अलिक परको चौरमा पुगी र लामो सास फेरी । वरिपरीको माहोल, त्यो कम्पन अनि विभिन्न अवस्थामा त्यहाँ पुगेका मानिसहरु, कसैको नि अवस्था हेर्न लायक थिएन, न त उसैको थियो।
धेरै घर ढले । उसको आँखा आफू बाहलमा बसेको घरमा पुगेर टक्क अडियाे। अचानक उसको दिमागमा बिजुली चम्के जस्तो भयाे । उसका पाइला उसको डेरातिर बढ्न थाले । ‘भाउजु त्यता नजाउ,’ छिमेकीले रोक्न खाेज्यो । तर उसले मानिन ।
भुकम्प थामिएको थिएन । तर उ डेराभित्र जान खाेज्दै थिई। ‘यस्तो बेलामा पनि घर भित्र जाने कस्तो तपाईं ? धन सम्पत्तिको मायाले जान लाग्नु भएको हो ? छाड्नुस् । ज्यान बच्यो भने धन सम्पत्ति फेरि कमाउन सकिन्छ । नजाउनुस् भाउजु ।’
तर उसका पाइला रोकिएनन् । मानिसहरूले उसको बाटो छेके । ‘यो त बहुलायी कि के हो । कालसँग जुध्न खाेज्छे । म त पटक्कै जान दिन्न,’ भन्दै छिमेकी दिदीले उसलाई कम्मरमा समातेर रोक्न खोजी । तर ममतालाई कसैले रोक सकेन ।
‘भीरबाट लड्न खोज्ने गोरूलाई रामराम भन्न सकिन्छ काँध थाम्न सकिन्न,’ भन्दै सबै जना पछि हटे । उ एक्लै दगुर्दै डेराभित्र पसी । उसले ढोकाबाटै सुनी, कोठाभित्रबाट जोड जोडले ढोकामा ठोकेको । अनि बीचबीचमा उसको छोरा ‘मम्मी, मम्मी’ भनेर रोइरहेको थियो । उसको लाेग्ने पनि चिच्याइरहेको थियो, ‘ममता… यो के गरेको तिमीले ? हामीलाई ज्युँदै मारेको ?’
ममताले हत्तपत्त कम्मरमा घुसारेकाे साँचो झिकी र खोली । उ तरकारी किन्न निस्कँदा बाहिरबाट ताला लगाएर गएकी थिई ।



लाेकपाटी न्यूज

