मेरो बाल्यकाल र हंसपुर

Nimananda rijal
मोटर बाटोको अभावमा नुन तेल, खासगरी मट्टिलेल ल्याउन पत्थरकोट पुग्नु पथ्र्यो । मेरो बा र गाउँका धेरै मानिसहरु पुस माघमा नुन तेलको जोहो गर्न पत्थरकोट जाँदा पर्खाइका क्षणहरु खुब रमाइला क्षणहरु हुन्थे ।
लाेकपाटी न्यूज

–डा. निमानन्द रिजाल

कस्तो चिसो ! मेरी भाउजुको स्वर कानमा गुन्जिरहन्छ । धौलागिरीको सोझो दक्षिणमा हाम्रो घर थियो। घर एक तले, खरको छानो भएको आफ्नो परिवारलाई गुजारा चल्ने बाले बनाउनु भएको थियो । छेउमा पाली हालेर एउटा कोठा निकालिएको थियो । पाहुना आएमा त्यसै कोठामा सुताउने चलन रहेछ । घरको माथि देवीको मन्दिर छ त्यसलाइ कोट भन्ने गर्दछाैं । त्यहाँ हिँड्न थालेपछि गएको थिएँ । त्यहाँ हरेक दशैंमा देवी भागवत लगाइन्छ । देवी भागवत सुन्न वरिपरिका मानछे जम्मा हुने गर्थे । यो देवी भागवत पढ्ने गुरु ठाडा खोला बस्नु हुन्थ्यो । यो अवस्था सम्झँदा ४, ५ बर्षको भएको थिएँ ।

Nimananda Rijal
डा. निमानन्द रिजाल

लामो अन्तरालमा जन्मिएको छोरो, घरमा दुहुना भैँसी हुदाँ दुध, दहीको खाना अली राम्रै भएको जस्तो लाग्छ । म जस्तै मेरा दौंतरीहरु पनि हलक्कै बढेका थिए । राम प्रसाद, छविलाल, टिकाराम पंथी, कृष्ण पांडे, हुमलाल भाइ, मुक्ती रिजाल बाल्यकालकाम मेरा मिल्ने खेल्ने साथीहरु थिए। सबै नातामा दाजुभाइ, मामा, भान्जा भाइ थियाैं ।

हाम्रो घर उत्तर पूर्वमा लोरीके लेक पर्दछ । यो लेक करीब ७ हजार फीट भन्दा माथिको उचाइमा भएको हुनु पर्दछ । यो पनि महाभारत पर्वत श्रृङ्खलाकै एक अंग हो भन्न सकिन्छ । हाम्रो कोटबाट पनि निकै टाढाका दृश्यहरु देखिन्छन् । यही पहाड नै ठाडाखोला र पजींग खोलाको उद्गम स्थल हो । यस्तै सोझै पश्चिममा सीमे देउरालीको लेक छ, त्यसको उत्तर पश्चिममा लिस्ने खोला बग्छ। यो खोलाको वरिपरि सानातिना खेत भेटिन्छन् । हाम्रो कोटबाट सिद्यारा देखिन्छ, दक्षिण पट्टि पुरै खुलेको छ ।

यहाँ कसैको पनि नामले बोलाउने चलन रहेनछ । सानो ठूलो, गरिब, धनी, ठूलो जात, सानो जात केही नभनी, कान्छो, ठूलो माइलो, कान्छी बहिनी, ठूली भनेर बोलाइँदो रहेछ । यही सामाजिक परिवेशमा मेरो हंसपुर थियो । डोरो बाँध्ने, तिजका गीत र नाँच, जिउरे पिंग, रोटे पिंग, घेले मही र पोलेका मकै, ब्याउती, दशैं र सराँय, मेरो हंसपुरले विभेदविहीन रुपमा मलाई हुर्कायो ।

मोटर बाटोको अभावमा नुन तेल, खासगरी मट्टिलेल ल्याउन पत्थरकोट पुग्नु पथ्र्यो । मेरो बा र गाउँका धेरै मानिसहरु पुस माघमा नुन तेलको जोहो गर्न पत्थरकोट जाँदा पर्खाइका क्षणहरु खुब रमाइला क्षणहरु हुन्थे । पत्थरकोट जाँदा सानातिना घिउका टिन बोकेर लर्को लागेर जाने गर्नु हुन्थ्यो । यी टिनहरुमा करिब १५ किलो जति घिउ हुँदोरहेछ । यो बेच्ने र लगेका केही पैसाले नुन, मट्टितेल, चिनी, नरीवल, मिश्री, डल्ले साबन आदि ल्याउने गर्नु हुन्थ्यो । बा कहिले आउनु हुन्छ र गडि खान पाइन्छ भन्दै दिनहरु गन्दै रतन्मारेतिर आँखा लाउँदै बस्ने दिनहरुका रमाइला क्षणहरु थिए । हाम्रो गाँउ घरमा नरिवललाइ गडि भन्ने गरिन्थ्यो । हामी के गर्दथ्यांै भने जो जसका बाबा, दाजुभाइ ,मामा पत्थरकोट जानु भएको छ रतन्मारेसम्म लिन जाने गर्दथ्यौं । अलि ठूला बलिया बाँगा दाजुहरुले भारी नै बोकेर घरसम्म ल्याइ दिनुहुन्थ्यो । यो दृश्य मेरो आँखा वरिपरि नाँचिरहन्छ । यी सबैलाई हामीले ढाक्रे भन्दथ्यौं । यी ढाक्रेहरु हंसपुरबाट टिमुरे, हिले ,पकले, ढिकुरा, खाँचीकोट, ठाडा हुँदै पत्थरकोट पुग्दा रहेछन् ।

पत्थरकोट सानो हाट बजार रहेछ । यस्तो गडि, मिश्री पाइने ठाउँ कस्तो होला भन्ने कौतुहल लाग्दथ्यो । त्यहाँ गोरु सिंगेबाट धुलो उडाउँदै मोटरले मटितेल, नुन, नरिवल, कपडा भारतबाट ल्याउँदो रहेछ । पहिले हजुर बुवाको पालामा झन्डीबाट नुन तेल ल्याउनु पर्ने रहेछ । हाम्रो अर्घा खाँचीमा भारी बोक्न खच्चड आदिको विकल्प सोचेका रहेनछांै । भरियाहरुले व्यापारीहरुका सामान ओसारेर आप्mनो गृहस्थी चलाएको अलि ठूलो भएपछि थाहा पाएँ । अलि धनीहरुले भरिया लगाएर यी सबै आवश्यकता पूरा गर्दा रहेछन् । अलि ठूलो हुँदै गर्दा ठाढुँगामा बर्मेली मामाहरु (बर्मा बाट फर्किएकोले बर्मेली भनिदो रहेछ ।) ले कपडा,मिश्री, चिनी, अत्याबस्यक चिजहरुको दुकान राख्नु भएको रहेछ । अपुग त्यहीबाट पुरा गरिदो रहेछ । बाल्यकालमा मलाइ याद आउनेहरुमा उहाँको एक परिवार हो । मेरो मामाको घर पात्ले, मामाको घर जाँदा आमाले पिपल गेडी र नरविल उहाँहरुका दुकानमा किनी दिनु हुन्थ्यो । उहाँहरु मेरो ठुलीआमाको तर्फबाट मामा पर्नुहुँदो रहेछ । पछि २०३० सालतिर मामा बसाई सरेर जलुके जानु भयो ।

बल्ल तल्ल सबैको प्रयासले कमेरे पानीमा प्राथमिक विद्यालय खुलेको रहेछ । २०१५ सालतिर हुनुपर्छ । मैले पढ्ने हुँदा यहाँ स्कूल थियो । म प्रजातन्त्रमा जन्मिए र निरंकुश राजतन्त्रमा हिँड्न थालें । म करिब २ बर्षको हुँदा २०१७ सालमा “कू” भएको रहेछ । चुनावबाट दुई तिहाइको भोट ल्याएको विश्वेश्वर प्रसाद कोइरालाको सरकारलाई क्वाप्प खाएर राजा महेन्द्रले आफनो निरंकुश हुकुमी शासन चलाउन सुरु गरेका रहेछन् । सात सालदेखि १७ सालको बिचमा कमेरेपानी, बामरुक बैद्यनाथ, रतन्मारे गरी ३ वटा प्राथमिक विद्यालयहरु खोलिएका रहेछन् । हाम्रो घरको नजिकको विद्यालय कमेरे पानी थियो ।

अंगार, कालो पाटी, चकटी र म
हामीले विशेष गरी मेरो पुस्ताले काठको फलेकमा, त्यो फलेक बछुलाले ताछेर सम्मो बनाएको हुँदो रहेछ । अहिले जस्तै रन्दा लाउने चलन गाउँघरमा रहेनछ । यो पाटीमा अंगारलाई पिसेर मसिनो धुलो बनाइ सकेपछि पानीमा मुछेर लेप्नु पर्दथ्यो । अंगार लेपिसकेपछि घाममा सुकाएर मात्रै प्रयोग गनु पथ्र्यो । यो पाटीमा अक्षर प्रस्ट देखिने र लेख्दा राम्रा अक्षर बन्दा रहेछन् । यो पाटीमा लेख्न बाले खरिढुंगा ल्याइदिनु हुन्थ्यो । चक थाहा नै थिएन, पाइने रहेनछ हाम्रो गाउँमा ।

कालो पाटी रंगाउने काम म सानो छदाँ आमा र दाइले गरी दिनुभयो । बाले स्कूलसम्म छोडि दिने गर्नु हुनथ्यो । मलाइ ३ बर्ष देखि नै घरमा पढ्ने बातावरण थियो । मेरो ठुलो बा र माइलो बा ज्योतिष हुनु भएकोले पढ्न पर्छ भन्ने चेतना आमा र “बा’ दुबैमा प्रचुर मात्रामा थियो । मेरा दाजुले पढ्न अलि अल्छि गरी दिनु भएछ । ज्योतिष हजुरबा देखि नै भएकोले बा र आमाको ईच्छा छोराहरुले पढुन् भन्ने रहेछ । वर्णमालको पहिलो पुस्तक ल्याइदिएर पढाउन शुरु गर्नु भएको थियो । मेरो ठुलो दाजु, जेठ बा को छोरा मोहन र मुक्ती दाजु सबै पढ्दै हुनु भएकोले शिक्षा प्राप्त गर्न वातावरण मिल्यो भन्ने लाग्छ अहिले ।

यही कालो पाटिले मलाई शिक्षा लिने कामको शुरुवात बनाएको थियो । चकटि पछाडि बोक्दै, पाटि हातमा झुन्डाएर स्कूल जान खुव मजा आउँथ्यो । त्यति बेला बेन्च डेस्कको त्यति चलन थिएन । स्कूल जान मन नगरेको दिनको मलाई याद आउँदैन । शिक्षकहरुले कमल “क”, खरायो “ख” भनेर घोकाएर पढाउँदा लय मिलाएर भन्नु पर्दथ्यो । पहिलो पुस्तक म लगायतका साथीहरुको शिक्षाको आधार बनेको थियो । यो पुस्तक क देखि कथा सम्म, १ देखि भागसम्म, चिठी देखि राजीनामासम्म र अंग्रेजीमा ब् देखि चिठीसम्म लेख्न सिकाउँथ्यो । यो र्दुगमदेखि सुगमसम्मका विद्यार्थीहरुलाई अति उपयोगी पुस्तक अहिलेकोे मेरो समीक्षा हो । यो किताब सानै उमेरमा खरर पढ्न सक्ने भएकोले शिक्षाको उचाई चुम्न त्यति कठिनाइ परेन ।

मेरो बा, आमा र मेरो शिक्षा
आमा र बा दुबैले पढ्न सक्नु भएन ज्योतिषको छोरो हुँदा हँुदै पनि दाजु साक्षर मात्रै बन्नुभयो । पहिले पहिले पात्रो सम्म हेरेर तिथी मिति आदि हेर्ने गर्नु हुन्थ्यो । हंसपुरको जाडो त्यसमा घरको पेटिमा झिस मिसेमै उठाएर कम्बल ओडाएर पढ्न लगाउनु हुन्थ्यो । अहिले आएर बिगत पल्टाउँदा आमा बा को सपना हुन्छ, जो सुकैको पनि त्यस्तै । मेरो आमाले पनि खुब पढोस भन्ने मनमा लिनु भएको रहेछ । त्यस्तै बा को पनि थियो, हामी दुबै भाइलाई अति माया गर्नु भएको मैले महसुस गरेको छु । कहिलै गुनासो गर्नु भएन । यो नै मेरो शिक्षाको ठुलो प्रेरणा अहिलेसम्म छ । मेरो झिस मिसे र पढाइ मेरा बा र आमामा सर्मपित गर्दै छु । पढ्न कहिले छाडिन । यो समयमा उठ्ने र पढ्ने बानी अहिलेसम्म छुटेको छैन ।

धौला गिरी र म
निकै जाडोले सताउँथ्यो। मंसिर देखिनै सेताम्मै तुसारो पर्ने। पोखरीका पानीमा सिसा जस्तै बरफ जम्ने। अँधेरी खोलामा एउटा पोखरी बनाइएको थियो। गाई चराउँदा यसमा पानी खाने ठाउँ जस्तै थियो तर फागुनसम्म पानी सुकि सक्थ्यो । यो पोखरीको पानीमा सिसा जस्तै बरफ जम्ने गथ्र्यो यो बरफ फुटाल्न बिहानै जाने गर्दथ्याैं । हिँड्दा करंया कुरुंग गथ्र्यो । यो मेरा दौंतरी हरुका लागि पनि रमाइलो लाग्थ्यो । तर, चिसोले लुग लुग काम्ने बनाउँथ्यो । यो समयमा अहिले जस्ता न्याना ज्याकेट थिएन्न । चिनले पठाएको थिएन । नेपालीले बनाउन जानेका थिएनौ । नाकबाट सिंगान आउर हैरान हुन्थ्यौं । सिँगान बाहुलाले पुछ्दा आमाले मसिनो टालो दिएर पुछ्न लाउनु हुन्थ्यो । लुगा धुन खरानी र डल्ले साबुन प्रयोग गरेको याद आउँछ ।

बर्षेनी लुगा सिलाउने बालिघरे दर्जि थिए । उनीहरुले हाम्रो घरको लुगा फाटेका टाली दीने, नयाँ सिलाउने गर्थे । यस्तै हामीले भेडा पालेका थियौं। यी भेडाको मल खेतिपातीको लागि राम्रो हुन्छ भन्ने चलन रहेछ र बर्षको एक पटक गर्मीको समयमा उन कोत्रनु पर्ने रहेछ । भेडाको उन काट्ने कामलाई हाम्रोतिर कोत्रने भन्दछन् । यसबाट काम्मलो बनाउन गुरुङ दाइहरुलाई दिनु हुन्थ्यो । उहाँहरुको गाँउ मेहलपानी रहेछ । उहाँहरु उन धुने र काम्ला बनाउन सिपालु रहेछन् । यसले ओछ्यान न्यानो हुन्थ्यो । यो धौलागिरी नभएको भए जाडो हुने थिएन होला भन्ने मनमा आइरहन्थ्यो ।

अहिले के लाग्छ भने, बालकले पनि वातावरणसँग खेल्दै चेतनाको अभिवृद्धि गर्दोरहेछ । परिकल्पना गर्दो रहेछ । वस्तुको विकासले चेतनामा परिवर्तन र चेतनाले आवश्यकता अनुरुपको वस्तुको निर्माणमा सहयोग गर्दोरहेछ । हाम्रा कपाल काट्ने काम दाइहरुले गरी दिनु हुन्थ्यो । गर्मिमा चिन्डे बनाइ दिने र जाडोमा जुल्फी काटी दिने चलन रहेछ । त्यही चलनमा हामि पनि हुर्कदै आयौ । अलि ठुलो भएपछि यो बिडो मैले पनि थामेको याद छ । यसैले मलाइ कपाल काट्न सिपालु पनि बनायो ।

जुत्ताको त्यति समस्या थिएन। अति ठिहीराउने समयमा लगाउनु पथ्र्यो होइन भने खाली खुटटा हो हिाड्ने । यी जुत्ता लगायो कि खुट्टा दुख्थे सुरु सुरुमा । यो धेरै समयसम्म हामीले लगाउनु परेन। बर्मेली मामाका दुकानमा चप्पल आउन लागे। चप्पल लाउने बानीको बिकास भयो । यो चलन गाउँ घरमा व्याप्त छ । त्यो समयमा फीत्ता भएका चप्पल आउन लागेका थिए । यो २२, २३ साल तिरको कुरा हो । म दुई कक्षामा पढ्थें । म अहिले सम्झन्छु, आत्म निर्भर भइरहेको समाजमा पैसाको धेरै आवश्यकता पर्दोरहेनछ ।

अर्घाको मेला र म
म कक्षा तिनमा पढदा आमा, दाइ , भाउजु र बा संग संगै अर्घा जाने भनेर बिहानै झिसमिसेमै हिडेको याद आउँछ । म कतै लड्छु कि हराउँछु कि भनेर आमा होसीयार हुनु भएको थियो । बाटा बाटामा सेल रोटी पकाइ रहेका हुन्थे । मादल बजाउँदै गीत गाउँदै हिड्ने समुह भेटिए । खानालाई आमाले, अचार, ढकनी आदि बनाएर लग्नु भएको रहेछ । अर्घाको नजिक पुगेपछि खाना खायौ, अर्घा कस्तो होला भन्ने कौतुहल थियो । अलि अलि थकाइ लागेको महसुस भएको थियो ।

पहिलो पल्ट मैले यति धेरै मान्छेको जमघट देखेको थिएँ । हामीले मैदानको माथितिर बस्ने थलो बानएर बा, आमा, पालै पालो घुम्न जानु भयो । घुम्री परेको ताततातो चिज ल्याएर ख्वाउनु भयो । यो जुलेबी हो भन्नु भयो । पहिलो पल्ट जुलेवि चाखेको थिएँ । मिठो लाग्यो । दिउसोतिर सरायँ खेल्दै आलम निकाले । आलम निकाली सकेपछि हामीले दही च्युरा र केरा गरेर खायौं । यो क्षण घरबाट टाढा भएको भएपनि रमाइलो लाग्यो । साँझ पर्दा घर आएको संझना हुन्छ ।

बा र काली भैंसी
घरको आँगनको अलि परजसोमा गोठ थियो । त्यो गोठमा कहिले भरी भराउ भैंसी हुन्थे । कहिले एउटा काली भंैसी मात्र हुन्थ्यो । बाले बस्तु भाउ किन बेच गर्नु हुँदो रहेछ । त्यो भैंसी बा कतै टाढा आएको थाहा पाउँथ्यो र वाय ऽऽऽ गरेर कराउँथ्यो । आमाले बा आउनु भए होला भन्दै गर्दा बा आइ पुग्नु हुन्थ्यो । बाले आएर सानो घाँसको अँम्सो मुखमा दिए पछि, टाउको हल्लाउँथ्यो । पछि थाहा पाएँ । यो भैसीको सन्तान दर सन्तान हाम्रो घरमा पालिएको रहेछ । कहिले बेच्ने गर्नु हुँदो रहेनछ । एउटा पाडी घरमा हुर्काउने र त्यसको नाम काली राखिँदो रहेछ । अहिले संझना हुन्छ , भैेसी पनि यति मायालु हुदोरहेछ । आफूलाई माया गर्ने मान्छेको पदचाप चिन्ने, बोली चिन्ने र त्यसको प्रतिक्रि दिने गर्दोरहेछ । बाको सेख पछि पनि दाइले यस्को सन्तानलाई राखिरहनु भयो ।

मेरो सानोको तीज र म
नेपाल गएर आए पछि कानून जान्दछ भन्दथे । पहिले काठमाडौंको खाल्डोलाई नेपाल भन्ने जन बोली हाम्रो गाँउ घरमा रहेछ । पञ्चायत आएपछि त पञ्चहरु कानून जान्ने भए अरु सबै रैती भइहाले । यो समयको चाड पर्व नै मनोरन्जनका साधन रहेछन् । मलाई पनि तीज अति मन पर्ने पर्व हो । आमा, दिदी बहिनीहरु सबैले रमाइलो गर्ने नाँच्ने र मनाका पिडाहरुको निकास दिन पर्व मलाई तीज हो भन्ने अहिले आएर लाग्छ ।

यो समयमा मकै पाक्ने, काँक्रा फलेका हुने, भैसी ब्याउने, दुध प्रसस्त हुने गर्दथ्यो । हरिया मकै पोलेर बाक्लो महिसँग खान सबैलाई मन पर्दथ्यो । हाम्रो घरको नजिकमा तीजको डाँडो भनेर चिनिने साबवजनिक स्थल छ । यहाँ तीजको दिन दिउँसो मेला लाग्छ । गाँउका सबै दिदी बहिनीहरु, आमाहरु प्नि घाँस काटी रहँदा तीजका गीतहरु गाएको प्रस्ट सुनिन्छ । कति मिराराणाहरु, आशाभोस्लेहरु छन् कति । मेरो आमा लगायत गाँउका सबै महिलाहरुले तीजका गीत गाएको याद छ । यो समयमा गाएको एउटा तीजको गीतले मलाई अहिले छक्क पार्दछ । दुई लाइनको याद खुबै आउँछ ।
“ हाम्रा राजाले के जानेका छन् र अंगे्रजी राजाले आकाशमा रेल घुमाए ।” पछाडि परेको मनस्थिति राजतन्त्रमा छ । विकास गर्न सक्दैनन् भन्ने आशयको गीत हो यो । यो गीतले युग चेतनालाई प्रतिनिधित्व गर्दै मार्गदर्शन पनि गर्दछ । चेतनालाई किताब पढ्न पर्दो रहेनछ, भोगाइ र देखाइको अनुभव चेतनाको मूल श्रोत हो । जीवन जिउने कलामा ल्याउने साधन नै बिकासको मूल श्रोत रहेछ । उत्पादनका साधनहरु फेरिएसँगै चेतनाको स्तर पनि माथि उठदै जाँदो रहेछ ।

बस्तु र चेतना, चेतना र बस्तु एक अर्काका परिपूरक जस्तै रहेछन् । विकासको मुल आधार भनेको वस्तुको विकास रहेछ । वस्तुको विकाससँंगै उत्पादनका साधनहरुमा पनि परिबर्तन आउादो रहेछ । यो समाज विकासको क्रम रहेछ । यस्ले रुपान्तरणको लागि संर्घष गराउदो रहेछ । यसरीने समाजमा न्यायमुलक र समतामुलक समाज निर्माण हुँदै जाने प्रकृया रहेछ । यसलाई अर्को नाममा भन्दा समाजबाद हो। यस्को स्थापनालाई गती प्रदान गर्न चेतनशील हस्तक्षेपको आवश्यकता पर्दो रहेछ । अहिले हामीहरु यही रुपान्तरणको प्रकृयामा छौं । न देखेका कुरा धेरै हुँदा रहेछन् । मोवाइलमा अनुहार हेरेर कुरा गरिन्छ । हंसपुरमा टयाक्सी जाने भएछ । न देखेका कुरा हुन्छन् । समाज बिकासको क्रमले भन्छ, समाज समाजवाद हुँदै साम्यवादमा प्रवेश गर्छ । एकै पटक न होला, समाजवादको स्थापना नै यस्को खुड्किलो हो तर पुग्छ । नेपाल यतै बढेको छ । समृद्ध बन्दै सिक्दै अगाडि बढ्ने हो । यो हुन सक्दैन भन्नु फाल्तु कुरा हो।
अस्तु !
क्रमशः–

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्