क्यान्सर अस्पताल विवादः कारणसहित उपस्थित हुन सर्वाेच्चकाे आदेश

लाेकपाटी न्यूज

काठमाडाैं, ११ भदाै। सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुको कारण १५ दिनभित्र लिखित रुपमा पेश गर्न भक्तपुर नगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा आफ्नै अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि विवाद उत्पन्न भएको थियो ।

नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा संचालित भक्तपुर क्यान्सर अस्पतालमा पुरानो व्यवस्थापन समितिले अनियमितता गरेको भन्दै नगर प्रमूख प्रजापतिले नयाँ व्यवस्थापन समिति गठन गरेका थिए ।

नगरप्रमूख प्रजापतिले गैर कानुनी रुपमा अस्पताल व्यवस्थापन समिति गठन गरेको भन्दै पूर्व व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले सर्वोच्वमा मुद्दा दर्ता गरेका थिए ।

श्रेष्ठको रिट निवेदनमा मंगलबार न्यायाधीश तेह बहादुर केसीको एकल इजलासले पुरानो व्यवस्थापन समिति र नयाँ व्यवस्थापन समितिलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्चले भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न भक्तपुर नगरपालिकालाई भनेको छ । सर्वोच्चले नयाँ व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका मेयर प्रजापतिलाई भदौ १६ गते उपस्थित हुन सूचना समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्