इन्टरनेट विकृति कि विकास ?

shivajit tiwari
इन्टरनेटमा पोर्न अर्थात् अश्लील सामाग्रीहरु हेर्ने क्रम विश्वमा दिन दुई गुणा, रात चौगुणा गरी बढिरहेको अवस्था छ । विश्वमा असंख्य पोर्न साइटहरु बनेका छन् । र दिनहुँ करोडौँ मानिस पोर्न सामाग्री हेर्नका लागि नै इन्टरनेट चलाउँदछन् । भलै कतिपय देशमा यसलाई अवैध घोषित गरेर दण्डनीय समेत बनाइएको किन नहोस् तर मानिसहरुमा अनलाइन पोर्नको शौख घट्ने कुरै भएन ।
लाेकपाटी न्यूज

‍‍- शिवजी तिवारी

काठमाडौं । इन्टरनेट सूचना प्रविधिअन्तर्गत विकास भएको एक विश्वव्यापी सञ्जाल वा कम्प्युटरहरुको सञ्जाल हो । विश्वभरिका कम्प्युटर र सोसँग सम्बन्धित उपकरणहरु एकअर्कासँग सम्पर्कमा रही सूचना आदानप्रदान गर्न सक्छन्।

इन्टरनेट कुनै व्यक्ति वा कम्पनीको योजनामा सुरुवात भएको बिजनेश हैन र यो कुनै व्यक्ति संस्था वा समूहको आग्रह–पुर्वाग्रहले बन्देज वा बन्द गर्न सकिने किसिमको सञ्जाल पनि हैन। इन्टरनेट सम्बन्धमा धेरै किसिमका व्याख्या विश्लेषण भएको पाइन्छ। तथापि इन्टरनेट भन्ने बित्तिकै एउटा कम्प्युटर वा उपकरणले अर्कोमा भएको प्रोग्राम वा डाटा चलाउन सकियो भने त्यो नै इन्टरनेट हो।

नेपाल टेलिकम र एनसेलले सेवा विस्तारमा तीव्रता दिएपछि इन्टरनेट प्रयोगकर्ताको संख्या हृवात्तै बढिरहेको छ । कुल इन्टरनेट प्रयोकर्तामध्ये मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या निकै बढी छ । मोबाइलबाट इन्टरनेट चलाउने १ करोड ६९ हजार जना छन् । मोबाइल बाहेक अन्य माध्यमबाट इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या ५ लाखको हाराहारीमा मात्र रहेको प्राधिकरणको तथ्यांक छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यो संख्या ०६८ सालमा गणना गरिएको कुल जनसंख्याको ३९.६८ प्रतिशत बढी हो । टेलिकम, एनसेल र एसटिएम टेलिकम सञ्चारले मोबाइल इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् । नेपाल दूरसंचार प्राधिकरणका अनुसार टेलिकमका ६० लाख ३८ हजार ६ सय २७ इन्टरनेट ग्राहक छन् । एनसेलका ४२ लाख २९ हजार ६ सय १३ ग्राहक छन् । युटिएलका ५६ हजार ७ सय ४४, स्मार्ट टेलिकमका ८८ हजार १२, एटिएमका १३, अन्य सेवा प्रदायकको १ लाख १ हजार ८ सय ८१ जना ग्राहक छन् । अन्य इन्टरनेट सेवा प्रदायकमा वल्र्ड लिंक, साइवर नेट, वेब सर्फर, सुबिसु, क्लासिक टेक, भायोनेटलगायत पर्छन् ।

अहिले इन्टरनेटमा पोर्न अर्थात् अश्लील सामाग्रीहरु हेर्ने क्रम विश्वमा दिन दुई गुणा, रात चौगुणा गरी बढिरहेको अवस्था छ । विश्वमा असंख्य पोर्न साइटहरु बनेका छन् । र दिनहुँ करोडौँ मानिस पोर्न सामाग्री हेर्नका लागि नै इन्टरनेट चलाउँदछन् । भलै कतिपय देशमा यसलाई अवैध घोषित गरेर दण्डनीय समेत बनाइएको किन नहोस् तर मानिसहरुमा अनलाइन पोर्नको शौख घट्ने कुरै भएन ।

हालसालै नेपालले पनि इन्टरनेटमा पोर्न अवैध घोषित गर्दै बन्देज लगाएको छ । तथापि, पोर्न साइटहरु पूर्णरुपमा बन्द भएको भने छैनन्। इन्टरनेट पोर्नले विभिन्न खाले विकृति नल्याएको होइन र खासगरी बालबालिका र किशोर किशोरीमा यसले निकै नकरात्मक प्रभाव पारेको छ । यद्यपि इन्टरनेट विकासमा पोर्नको अभूतपूर्व योगदान पनि छन् । जस्तो कि इन्टरनेटको विस्तार, भिडियो स्ट्रिमिंग, स्टोरेज मार्केट, अनलाइन भुक्तानी, मोबाइल इन्टरनेट आदि कुराको विकासमा पोर्नको निकै ठूलो भूमिका रहेको सर्वविदित नै छ ।

मानिसहरुबीच इमेल, गेमिंग या गुगलका कारण इन्टरनेट लोकप्रिय भएको होइन । ९० को दशकमा मानिसहरुलाई अनलाइनमा आउन सबैभन्दा धेरै प्रेरित गर्ने चिज पोर्न नै थियो । मानिसहरु इमेल हेर्ने, कुनै वेबसाइटबाट जानकारी लिने र पोर्न सामाग्री हेर्नका लागि इन्टरनेटको सहारा लिन्थे ।

पोर्न उद्योगबाटै ठूला टेक कम्पनीहरुलाई थाहा भयो कि भिडियोमा धेरै क्षमता छ । फ्लपी डिस्कबाट सुरु भएर सिडी, डिभिडी तथा फ्लास ड्राइभसम्मको स्टोरेज डिभाइसको विस्तारमा पोर्नको ठूलो भूमिका रहेको छ । जुन समयमा इन्टरनेटका स्पीड धिमा थियो पोर्न सामाग्रीलाई अनलाइनमै स्ट्रिम गर्नुको साटो डाउनलोड गरेर राख्ने कुरालाई प्राथमिकता दिइन्थ्यो । पोर्न सामाग्री भएका डिभीडी र सिडी भाडामा लिएर हेर्ने चलन एकताका खुबै चल्तीमा थियो, पाठकमध्ये कतिले सम्झिनुहुन्छ ? उच्चगतिको इन्टरनेट कनेक्सनका लागि पनि पोर्नले नै मानिसहरुलाई प्रेरित गरेको हो । हाइ रिजोलुसन कन्टेन्ट हेर्नका लागि मानिसहरुलाई डायलअप कनेक्सनको साटो उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट कनेक्सनमा रुची बढ्यो ।

यसो सोचौं त अन्लाइन बिजनेश १२० वर्ष पहिले अनलाइन पेमेन्टको कुरा गर्दा पनि अनौठो लाग्दथ्यो । मानिसहरु भर्चुअल्ली पैसा खर्च गर्ने कुरालाई लिएर सहज मान्दैनथे । तर, पोर्न सामाग्री हेर्नका लागि अनलाइनबाटै पैसा तिर्ने कुरामा भने मानिसहरुले धक फुकाउन थाले । अन्ततः अनलाइन पेमेन्ट तथा अनलाइन कारोबारको युग सुरु भयो के यो पोर्नको फाइदा होइन ?

पंक्तिकारले एक दशक अगाडि कुनै एउटा लोकप्रिय पत्रिकामा २० औं शताब्दीको अन्त्यतिर छापिएको कार्टुन चित्रको बारेमा लेखिएको एउटा सामग्री पढ्ने मौका पाएको थियो जसमामा कम्प्युटरको अगाडि दुई वटा कुकुर देखाइएको थियो। एउटा कुकुरले अर्को कुकुरलाई यसो भनिरहेको थियो, “इन्टरनेट चलाउँदा तिमी कुकुर हो भनेर कसैलाई पनि थाहा हुँदैन।” माथि उल्लेखित प्रसङ्ग के भने हामी अब इन्टरनेटको प्रभावबाट भर्चुअल दुनियाँमा रमाउने भएका छौं। हामीलाई सही के गलत के भन्दा पनि क्षणिकताले बढी सन्तुष्टि दिने गरेको छ ।

यस्तै प्रसङ्ग अर्को पनि छ केही समय अगाडि एकजना हितैषीको कुरा यहाँ सान्दर्भिक हुन्छ होला । उनी एक प्रतिष्ठित स्कूलमा पढाउने काम गर्छन् । सुरु–सुरुमा उनमा सबै ठीकठाक नै देखिन्थ्यो। इन्टरनेटको लत विस्तारै बढ्दै गएपछि विस्तारै उनी स्कूलमा पनि इन्टरनेटमा भुल्ने अनि तयारी गर्न पनि छोडे। कक्षामा गए तापनि तिनी तयारी नगरीकन जान्थे अनि स्कूलमा बसुन्जेल पनि तिनलाई ‘कहिले घर गएर इन्टरनेट चलाऊँ’ जस्तो हुन्थ्यो। पछि तिनले यो त गम्भीर समस्या पो देखापर्यो, केही समयमा डिप्रेसनको सिकार भए अहिले डिप्रेसनको औषधी सेवन गर्छन्। अहिले उनी सामान्य बन्दै गएका छन्। लत नै बस्ने गरी लामो समय इन्टरनेट चलाउनु राम्रो कुरा होइन भन्ने कुरा यो उदाहरणबाट पनि प्रष्टिन्छ।

इन्टरनेट सकारात्मक उपयोग हुनेतर्फ सबै पक्षको ध्यान नपुग्दा इन्टरनेट एउटा समस्या भएर खडा भएको छ । अहिलेको दुनियाँमा विपद व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिको निम्ति अनलाइन सेवा सुविधा, सूशासन स्थापनाको निम्ति सचेतना फैलाउने जस्ता विषयमा सरोकारवाला निकायको भूमिका ध्यान जान जरुरी छ। सँगसँगै इन्टरनेट प्रदायक संस्था तथा नियामक निकायसँग प्रयोगकर्ताको विश्वास र सुरक्षा, इन्टरनेट प्रयोग र विस्तारमा सीपयुक्त मानवश्रोतको उत्पादनलगायत विषयमाथि विस्तृत छलफल र संवाद आवश्यकता छ।

नेपालमा कुनै पनि प्रकारको इन्टरनेट सेवा महंगो भएको सबैको गुनासो रहन्छ। तर, यसको कारण के हो त ? सेवा प्रदायकहरुले राज्य निरीह हुनुको फाइदा उठाइरहेका हुन् कि साँच्चिकै इन्टरनेट महँगो नै हो ? यी र यस्ता प्रश्नमा छलफल भएको पाइँदैन। हुन त इन्टरनेट नेपालको आफ्नो उत्पादन नभई आयातित हो । तर, नेपालमा प्रयोग हुने इन्टरनेट यति महङ्गो जायज छ त ? अनि अर्को कुरा धेरै प्रयोगकर्ता सँगसँगै बेरोजगार युवापंक्तिको कारण नेपालमा सोसल मिडियाको अति धेरै प्रयोग हुन्छ । विदेशमा बसेका नेपालीले नेपालमा बस्ने परिवार÷नातेदारसँग गफ आदि गर्दा झण्डै कुल जनसंख्याको ४० प्रतिशत इन्टरनेटमा अभ्यस्त भैरहँदा नेपाल सरकार आफ्नै इन्टरनेट उत्पादनतर्फ किन ध्यान पुर्याउन सकिरहेको छैन ?

इन्टरनेट प्रदायक संस्थाको नियमित जाँचप्रताल नहुँदा उपोभोक्ता ठगिरहेको पनि सर्वाविदित नै छ। एउटा गतिको इन्टरनेट जोड्ने सम्झौता गरेर त्यहाँभन्दा थोरै गतिको इन्टरनेट एक्सेस दिने विभिन्न किसिमका प्राइभेट एप चलाउन लगाएर उपोभोक्ता ठग्ने क्रम बढ्दो छ । सँगसँगै इन्टरनेटको व्यवस्थित प्रयोग हुन नसक्दा आज इन्टरनेटको माध्यमबाट समाजमा विभिन्न किसिमका समस्या देखा पर्न थालेका छन् ।

गोप्य सामाग्रीहरुको सार्वजनिक गरेर ब्ल्याकमेल गर्ने, झुटा विवरण प्रस्तुत गरेर आम सर्वसाधारणहरुलाई उक्साउने, इन्टरनेटको माध्यमद्वारा अनैतिक व्यापार गर्ने, व्यक्तिको चरित्रहत्या गर्ने, मान्छेहरुलाई निरुत्साहित गरेर क्षणिक फाइदा लिने जस्ता क्रियाकलाप बढिरहेका छन्। यी र यस्ता क्रियाकलापले समाजलाई गलत दिशामा डोर्याइरहेको प्रष्ट हुन्छ। त्यसैले सम्बन्धित निकायले बेलैमा यसतर्फ ध्यान देओस्, शुभकामना !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्