नेकपा सचिवालय बैठक : सांगठनिक एकता टुंग्याउने तयारी

nekapa
लाेकपाटी न्यूज

काठमाडौं, ५ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बिहीबार) पनि बस्दैछ। बुधबारको बैठकमा छलफल भएका विषयलाई आजको बैठकले निणार्यक बनाउने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बुधबारको बैठकमा सांगठनिक एकताको बाँकी रहेका कामको बारेमा छलफल भएको बताउँदै प्रवक्ता श्रेष्ठले भने(‘हिजोको बैठकमा ६ वटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा छलफल भयो। तर समय अभावका कारण बैठक आज सम्मका लागि स्थगित भएको छ । सकेसम्म हिजोका विषयलाई आज टुंग्याइने छ।’

यसैबीच नेकपा नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिपत्रका विषयमा पार्टीमा कुनै छलफल नरहेको नेकपाले जनाएको छ। नेता नेपालले विभिन्न समयमा पार्टीको बैठकले गरेका निर्णयप्रति मङ्गलबार बसेको सचिवालयको बैठकमा सात बुँदे असहमतिपत्र दर्ता गराएका छन् । उनले केही निर्णय सच्याउन माग पनि गरेका छन्।

श्रेष्ठले भने, ‘नोट अफ डिसेन्टको विषयमा छलफल हुँदैन। बैठकबाट भएका निर्णयमा उहाँले नोट अफ डिसेन्ट लेख्नुभएको छ । त्यो छलफलको विषय बन्दैन। छलफल नै गर्ने हो भने त्यो विषयलाई प्रस्तावको रूपमा ल्याउनुपर्छ ।’