काठमाडौँ, ३ भदौ। सरकारले सचिवहरूको सरुवा गर्ने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा सरुवा हुने सचिवहरूको नाम सुनाइएको थियो। बैठकमा सचिवहरूको सरुवाका विषयमा केही मन्त्रीहरूले आपत्ति जनाएपछि बुधवार अन्तिम टुङ्गो लगाइने बताइएको छ।
बैठकमा सुनाइए अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव साटिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारीअनुसार श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ।
यसै गरी महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। उनी गृह सचिव हुने दौडमा थिए। भूमि व्यवस्थाबाट सरुवा गरिएका गोपीनाथ मैनालीलाई दिइएको नयाँ जिम्मेवारीका बारेमा भने जानकारी दिइएको छैन।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिँचाइ सचिव सञ्जय शर्माको पनि सरुवा भएको छ। उनलाई पठाइएको कार्यालयबारे पनि जानकारी दिइएको छैन। पर्यटन सचिव मोहनकृष्ण सापकोटाको पनि सरुवा भएको छ। उनको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई ल्याइएको स्रोतको जनाएको छ।
स्रोतले दिएको जानकारीअनुसार केही मन्त्रालयका सचिव, प्रदेशका प्रमुख सचिव र आयोगका सचिवहरू सरुवाको सूचीमा छन्। प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाल र प्रदेश ५ का प्रमुख सचिव डा तीर्थ ढकाल काठमाडौँ आउँदछन्।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि सिङ्गापुर जाने भएपछि भदौ १० मा अनिवार्य अवकाश पाउने राजस्व सचिव लाल शंकर घिमिरेको अवकाश स्वीकृति पनि सोमबार नै गरिएको छ।



लाेकपाटी न्यूज

