ओझेलमा पर्दै पर्वत तलातुमकाे गुफा

लाेकपाटी न्यूज

पर्वत, २ भदाै । पर्वत जिल्लाकाे वहाकी ७ तलातुममा रहेको गौरी देवी थान गुफा सौन्दर्यका दृष्टीले नेपालका अरु गुफाहरु भन्दा कम नभए पनि प्राचिन समयदेखि वर्तमान समयसम्म आई पुग्दा पनि ओझेलमा पर्दै आएको छ । तलातुममा रहेकोे उक्त गुफाको धेरै महत्व भए पनि सरोकारवाला र स्थानीयको बेवास्ताको कारण ओझेलमा पर्दै आएको हो ।

भाैगाेलिक विकटाता र प्रचार–प्रसारकाे अभावमा उक्त गुफा ओझेलमा पर्दै आएको स्थानीय युवाहरु बताउँछन् । गुफाभित्र विभिन्न देवी देवताका आकर्षक आकृती र मूर्तीहरु रहेका छन् । जहाँ गएर गुफाको दर्शन गर्ने हो भने मात्र आफूले मागेको वरको प्रतिफल ३७ दिनभित्र प्राप्त हुने स्थानीयहरुले बताउने गरेका छन् ।

त्यस गुफाभित्र पसेर तीन मिनेटसम्म श्वासप्रश्वास गरेमा शरीरमा रहेको केही प्रतिशत रोग हराउने तलातुम निवासी विश्व न्यौपानेले बताए। पर्वतको विश्वविराट शालिग्रामबाट उत्तरतर्फ माथि करिब एक घण्टाको बाटो हिँडेपछि उक्त गुफा पुगिन्छ ।

गुफाको पूर्वतर्फ बाइसे चौविसे राज्य मध्येको शक्तीशाली राज्य पैँयु राज्य पनि रहेको छ। करिब ३ तीन घण्टाको हिँडाइ पछि पैँयु राज्यमा पुग्न सकिन्छ । गुफाको माथि शिरमा भारतीय भूमि अवलोकन गर्न सकिने लुङरेङ डाँडा रहेको छ । गुफाको दर्शन गरेर उक्त डाँडामा गई आरम गरेमा मनकाे सन्तोष मिल्ने लुङरेङबासीको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्