चितवन, २८ साउन। माडी नगरपालिकाले कृतिम गर्भाधानबाट गाई भैंसी सुत्केरी हुँदा सुत्केरी भत्ता दिन शुरु गरेको छ। पशुपालन व्यवसाय र दुग्ध व्यवसायलाई प्रोत्सान गर्न नगरपालिकाले सुत्केरी भत्ता दिन सुरु गरेको हो। नगरबासी कृषकले पालेका गाई भैंसी सुत्केरी हुँदा एक हजार रुपैयाँ नगरपालिकाले उपलव्ध गराउने जनाएको छ।
अहिलेसम्म १ सय ७८ जना किसानले रकम बुझेको नगरपालिकाका सूचना अधिकारी प्रविन भण्डारीले जानकारी दिए। नगरपालिकाभित्र गाइभैंसी सुत्केरी भएको छ भने किसान आफैँ उपस्थित भएर नगरपालिकामा निवेदन दिने र पशु शाखाका कर्मचारीहरुले स्थलगत अनुगमन गरेपछि मात्र रकम उपलव्ध गराउने माडी नगरपालिकाका नगर प्रमूख ठाकुरप्रसाद ढकालले बताए।
सुत्केरी भत्ता पाउन योग्य गाईभैंसीको लागि निवेदन दिन किसानलाई आह्वान गरिएको छ। माडीमा उत्पादित दूधलाई बजारको अभाव रहेको गुनासो आएको हुँदा दूध डेरी सञ्चालन गर्न इच्छुकलाई समेत नगरपालिकाले सहयोग गर्ने नगरपालिकाले जनाएको छ।
यसैबीच, दूध बिक्री गर्दा कृषकलाई नगरपालिकाले प्रति लिटर तीन रुपैयाँ अनुदान दिइरहेको माडी नगरपालिकाका नगरप्रमूख ढकालले जानकारी दिए। अहिलेसम्म १२ लाख १६ हजार ६६७ लिटरमा ३६ लाख ५० हजार रुपैयाँ अनुदान दिइएको छ। अनुदान प्राप्त गरेका कृषकले समेत स्थानीय सरकारले थालेको अभियान सकारात्मक भएको बताएका छन्।



लाेकपाटी न्यूज

