–शिवजी तिवारी
काठमाडाैं । मानिस धनी छ कि छैन अर्थात् उसका पूर्खा धनी थिए कि थिएनन् भन्ने बिषयले वा उसको वैचारिक धारणा कस्तो छ भन्ने बिषयले मात्रै को हो क्रान्तिकारी, को हो प्रतिक्रान्तिकारी ? भन्ने कुरा निर्क्यौल गर्न सकिँदैन । यो कुराबाट के भन्न सकिन्छ भने क्रान्तिकारी र प्रतिक्रान्तिकारी मानिसको भौतिक परिस्थिति र वैचारिक परिस्थितिलाई छुटाछुट्टै हेरेर निर्धारण गर्न सकिँदैन । मानिसमा भौतिक परिस्थिति र वैचारिक परिस्थितिको एकत्व छ कि छैन भन्ने कुराले मात्र उसको क्रान्तिकारिता वा प्रतिक्रान्तिकारिता निर्धारण हुन्छ । अर्थात् समाज विकास क्रमको गहन विश्लेषणद्वारा मात्रै त्यहाँको क्रान्तिकारी र प्रतिक्रान्तिको मोतियार छुट्टाउन सकिन्छ ।
नेपाली जनताको लामो संघर्ष र बलिदान पश्चात् देशमा केही हदसम्म समानताको अनुभूत हुन थालेको छ । विभिन्न कुरीति र कुसंस्कारको दमनले समाजमा उच–निच, धनि–गरिब जस्ता विशेषणले विभाजनको रेखालाई निकै नराम्रोसँग स्थापित गरिरहेको परिप्रेक्ष्यमा परिवर्तनद्वारा स्थापित अधिकारको भविष्य आज पनि संकटमा रहेको छ । हिजोको सामन्ती राज्यसत्ता आज पनि पुनःस्थापित हुन खोजिरहेको कुरा त दिनहुँ जसो उनीहरुका क्रियाकलापले देखाउने गरेको छ । ठूलो बलिदानद्वारा स्थापित वर्तमान राज्यको स्वरूपमा त्यस्तो खोट भने छैन । तथापि यो पूर्ण भने हैन । तर, हालसालै प्रतिक्रान्तिकारी तप्का वर्तमान स्वरूप नै बेठिक भन्दै लागिरहेको देख्न सकिन्छ । परिवर्तनका संवाहकहरुले जनहितमा आवाज बुलन्द पार्न नसक्दा प्रतिक्रान्तिकारीहरु व्यक्तिका सिमाहरुलाई देखाएर समग्र व्यबस्थाको बिरुद्ध लागिरहेका छन्। जुन निकै दुःखद पक्ष हो ।
केही मिडियाहरु तथा आउटडेटेड पीएचडीहरु पंचायत र राजा महाराजाहरु ठिक भन्दै कुतर्क गरिरहेको सुनिन्छ। तर, एउटा कुरा के साँचो हो भने वर्तमान शासकीय स्वरूप र स्थापित सकारात्मक मान्यताहरु जनताको इच्छाले नै स्थापित भएका हुन् । हिजो शक्तिमा रहेको र अहिले पराजित भएको वर्गले वर्तमान परिवर्तन विरूद्ध जनतामा भ्रम सृजना गरी विजयी भएको वर्गलाई पछाडि पार्ने प्रयास पक्कै गर्दछ। यसतर्फ हामी समयमा नै सचेत भई परिवर्तन जोगाउने र थप जनमुखी राज्य निर्माणमा लाग्न जरुरी छ। वर्तमान राज्यसत्ता हिजोको भन्दा विज्ञान र सत्यतामा आधारित छ। प्रतिक्रान्ति शक्तिहरु यसको विरूद्ध भ्रम तयार पार्न लाग्ने निश्चितै छ यसको विरूद्ध मोर्चाबन्दी सधैंको आवश्यकता हो ।
यो देशमा कतिसम्म प्रतिक्रान्तिकारीहरु छाडा छन् भन्ने बिषयलाई पुष्टि गर्न कहीँ पर पुग्नै पर्दैन। २ बर्ष अगाडि प्रज्ञा प्रतिष्ठानको आँगनमा प्रश्न सोध्ने जिज्ञासु पाठकमाथि एक जना जर्नेलले गरेको जुत्ता प्रहार नै काफी हुन्छ। २०७४ पुस २७ गते प्रतिष्ठानको आयोजनामा पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्ती मनाइयो। सोही कार्यक्रममा वक्ताका रूपमा उपस्थित थिए, नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्न्यात। उनले पृथ्वीनारायण शाहको आलोचना गरेको भन्दै एक सहभागीलाई मञ्चबाटै जुत्ता प्रहार गरे। अन्तरक्रियात्मक कार्यक्रममा रवि गुरागाईंले पृथ्वीनारायण शाहको गुनगान मात्रै भएको तर प्राज्ञिक विमर्श नभएको मत राखेका थिए। उनीमाथि अतिथि दीर्घाबाटै पूर्वजर्नेल बस्न्यातले जुत्ता मात्रै प्रहार गरेनन्, बन्दुकले उडाइदिनेसम्मको धम्की दिए।
सो कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत रहेको प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती मञ्चासीन थिए। उनी केही बोलेनन्, न प्रतिष्ठानका अन्य सदस्यले सो हर्कतको विरोध नै गरे। त्यस्तो असहिष्णु वातावरण प्रतिष्ठान आफैँले तयार पारेको यो घटनाले पुष्टि गर्छ। घटना देख्दा सामान्य लाग्न सक्छ । तर, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पुराना सामन्ती अवशेषले यस्तो ब्यबाहार गर्दछन् भने उनीहरुको खास शासनमा कति उत्पीडन थियो त्यसको अरु उदाहरण खोज्न जरुरि छ जस्तो मलाई लाग्दैन ।
अहिले प्रतिक्रान्तिका मतियारहरु हिजोको सितायुद्ध फाइदा लिएर बिदेशीसँग भिख मागेर स्थापना गरेका केही कठपुतली उद्योग देखाएर राजनीति गरिरहेका छन् । उनीहरु भनिरहेका छन् “पंचायतले पूर्वपश्चिम राजमार्ग बनाएको” स्मरण रहोस्, त्यो भारतले निर्माण गरिदिएकाे हो। महेन्द्रले त्यही बेला एअरपोर्ट पनि बनाए भनेर भ्रम नछर्दा हुन्छ । उनले एअरपोर्ट उद्घाटन मात्रै गरेका हुन्। पूर्वपश्चिम राजमार्ग, चीन जोड्ने अरनिको राजमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका बिषयमा पनि अब गफ नगर्दा हुन्छ ती सबकासब भिख मागेरै निर्माण सम्पन्न भएका हुन् ।
अलिकति खुला ठाउँ चाहिन्छ भनेर खुलामञ्च कसले राख्यो होला ? भन्दै प्रश्न नगर्दा हुन्छ २५० बर्ष शासन गर्दा २५० ओटा काम देखाउन नसक्ने कालो इतिहासका कलौराहरु फेरी जुरामुराउनु अलिकति पनि उचित देखिँदैन। एक दुईवटा उद्योग खोलियो दुइचारवाटा स्कुल खोलियो भन्दै चिच्याउने हरुले ४००० भन्दा बढी मठमन्दिरमा अपवाद बाहेक कुनै एक जातिको मात्रै आधिपत्य बनाएर अरुमाथि गरेको दमनको जिम्मा लिने कि नलिने ? सामूहिक रुपमा कर उठाएर बनाइएका विद्यालयमा निश्चित जाति र व्यक्तिलाई मात्रै पढ्ने अवसर दिएर अरुमाथि गरेको दमनको जिम्मा लिने कि नलिने ? गोर्खा भर्तीको नाममा नेपाली युवाहरुलाई बेचेर शासकले आफू र आफ्ना पोसेको जिम्मा लिने कि नलिने ?
नेपालमा केही समयदेखि बुर्जुवा र पुरानो शक्तिका मतियारको तप्काबाट बारम्बार यसरी भ्रम सृजना भइरहेको छ । र, उनीहरु भनिरहेका छन् , “नेपालमा बिदेशीहरु चलखेल गर्छन्, मिलेर बस्न दिँदैनन् । नेपाली दलहरु फुटिरहन्छन् । आफैँभित्र मिल्न नसक्ने दलहरुले देश र जनताको समस्या कसरी हल गर्छन् ? यसका निम्ति कुनै स्थायी संस्था चाहिन्छ अर्थात राजतन्त्र ” अब हामीले नेपालका सच्चा देशभक्तहरुले समाजमा व्यापक क्रान्तिकारी ध्रुबीकरण गरेर यसको सही उत्तर दिनुपर्छ । साथै, संसदीय व्यवस्थाको विकल्प खोज्न सकिन्छ ।यहाँभन्दा उन्नत किसिमको गणतन्त्रको परिकल्पना गर्न सकिन्छ। तर, दुनियाँमा लोप भइसकेको राजतन्त्र र सामन्ती राज्यको पुनः स्थापना चाहिँ असम्भव छ ।
अबको युग भनेको समानताको युग हो यहाँ कोही कसैको कब्जामा रहेर बिक्रि हुने अवस्थाको अन्त्य आवश्यक हुनुपर्दछ । समाज विकास समयको आवश्यकता हो, यदि यो प्रक्रियामा अवरोध भयो भने शक्तिहरुबिच टसल हुन पुग्दछ र परिणाम स्वरूप रक्तपात निम्तिनेछ ।आजको युग समाजबाद उन्मुख युग हुनुपर्दछ। यहाँ समूहिकतामा विकास हुनुपर्दछ । विगत ५०० बर्षदेखि भएको पूँजीवादी शासनले खास प्रगति गर्न सकेन । उच–निच, धनि–गरीब, राम्रो–नराम्रो, गोरो–कालो जस्ता विशेषणको उत्पादन बाहेक समाजमा खास किसिमको परिवर्तन गर्न सकेन। बरु यसले गरिबहरुले बेच्ने धनीहरुले किन्ने प्रथा स्थापना गर्यो जहाँ कुनै नैतिक बन्धन नै राखेन ।
बिकसित भनिएका देशहरु जस्तै नर्वे, फिलिपिन्स, थाइल्याण्ड आदि इत्यादि देशमा महिलाहरुलाई सडकमा नै झारेर बिक्रि गरिरहेको देख्न सकिन्छ । पूँजीवाद कति तुच्छ छ भन्ने बिषय पछिल्लो क्रममा चिनमा यौन ब्यबसाय सम्वन्धित एउटा सर्कुलरबाट पनि प्रष्ट हुन्छ । चिनियाँ सरकारले कुनै किसिमको सार्वजनिक विज्ञापन गर्न र सार्वजनिक बिषयमा यौन ब्यबसायको प्रचार गर्न नपाहिने अर्थात लुकाएर गर्ने छुट दिएको छ । पूँजीवादी राज्यव्यवस्थामा शक्तिमा हुनेहरु कमजोरहरुमाथि दमन गर्दछन्, महिलाको मानवअधिकारको सम्मान गर्दैनन्, मानवजातिहरु बिच नै भेदभावको अवस्थाको सृजना गर्दछन् । त्यसैले पूँजीवाको अन्त्य नै आजको आवश्यकता हो ।
पुरानो युगमा पूँजीवादकाे चरम विकास नभईकन समाजवाद परिकल्पना गर्न नसकेको देख्न सकिन्छ । तर, त्यो अहिलेको समयसँग सुहाउने बिषय हैन । अहिले भनेको विज्ञानको युग हो । अब उत्पादन समयसँग त्यति धेरै आश्रित छैन जति त्यो समयमा थियो । अब वितरणको निम्ति कसैसँग लुट्न पर्ने अवस्था छैन । अब उत्पादन गर्दै वितरण गर्न सक्ने अवस्था छ। त्यसैले पूँजीवादको चरम विकासपछि मात्रै समाजवादको परिकल्पना गर्न सकिन्छ भन्नु सान्दर्विक छैन ।अब निर्भिक भएर योजनासहित लाग्दा समाजवादको लक्ष प्राप्तिमा सफल हुन सकिन्छ । आउनुहोस् सबै युवा र बुद्धिजीवी समाजवादको बहस सृजना गरेर अगाडि बढौं । सबैमा सुभकामना ।



लाेकपाटी न्यूज

