एक्लिएको गाउँ (कविता)

dinesh bhusal
लाेकपाटी न्यूज

– दिनेश भुसाल

सुनसान छ बस्ती
सुनसान छ वातावरण
रित्ता घरहरू, भत्किएका गोठहरु
चुहिएका मन्दिरहरु, बाँझिएका खेतहरु
थलिएका वृद्धहरु, थिचिएका मनहरु
बेसहारा गाउँ, टुहुरो गाउँ
पीँडाले भरिएको भकारी
एक्लिएको जीवन
हराएको चहलपहल
छैन सहारा कसैको
न छ साथमा कोही ।

जेठ महिनाको क्षणिक वर्षाले
टुसाउने घाँसका सिराहरु
वर्षौंदेखि नकाटेको साधुको दाह्री जस्तै
जरिएका छन्
नयाँ कोपिलामा फक्रन चाहेका
लालुपातेहरु
कयौं वसन्तहरु बित्दा समेत
उही पुरानो सुकेको फूल र डाँठमा
नाङ्गो शरीर देखाउँदै ठडिएका छन् ।

न छ कुनै उत्साह, न त उल्लास
केवल शुन्यता, मौनता मात्रै
हुरीले उडाएको छाना
रित्तो गोठ, खाली घर
चुहिएको छानाबाट पखालिएको भित्ता
भूइँचालोबाट चिरिएको पर्खाल
छियाछिया परेको जमिन
आखिर यस्तै छ गाउँको हालचाल
यस्तै छ बस्ती यस्तै छ दिनचर्या,
अनि यस्तै–यस्तैमा हराएको छ मेरो जीवन ।

– कवि दिनेश भुसाल

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्