काठमाडौं। विश्वमा विभिन्न मान्यता, दृष्टिकोण र दर्शनशास्त्रका शाखाहरु रहिआएका छन्। जीवन र जगतलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने मान्यताको दृष्टिकोण एवं दर्शन नै द्वन्द्वात्मक भौतिकवाद हो। मार्क्सवादी कार्यकर्ताका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यस्तो गहन एवं जटिल विषयमा वैज्ञानिक प्रयोगात्मक तर्क संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ।
(क) परिभाषा :– जीवन र जगतमा हुने संसारका सबै जैविक र अजैविक वस्तु, घटना, घटना प्रक्रिया, सङ्घर्ष र आन्दोलनहरु निरन्तर गति र परिवर्तनको प्रक्रियामा हुने गर्छ। यही सार्वभौम पद्धतिलाई नै द्वन्द्वात्मक भौतिकवाद भनिन्छ। वस्तु या समाज परिवर्तन निरन्तर चलिरहने ऐतिहासिक प्रक्रियाको रुपमा हुने गर्दछ, यसलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद भनिन्छ ।
(ख) द्वन्द्व र द्वन्द्ववाद :– कुनै पनि वस्तु, घटना र घटना प्रक्रियामा अन्तरनिहित अन्तरविरोध वा विरोधाभाष नै द्वन्द्व हो। पूँजीवादी समाजमा मजदुर र मालिक, शासक र शासित बीचको अन्तरविरोध मूख्य द्धन्द्धका रुपमा रहन्छ।
पदार्थको गति तथा क्रिया र सम्वन्धमा हुने दुई विपरीत पक्षहरु वीचको अन्तरविरोधपूर्ण एकत्व नै द्वन्द्वात्मकता हो। संसारमा भएका सबै वस्तु, घटना प्रक्रियाहरु गतिशील, अन्तरविरोधपूर्ण, विरोधाभाषपूर्ण र प्रतिपक्षपूर्ण रहने सार्वभौम दृष्टिकोण वा विश्लेषण पद्धति नै द्वन्द्ववाद हो।
द्वन्द्वात्मकता भनेको वस्तु वा समाजलाई जीवन्त राख्ने जीवन रेखा हो। द्धन्दवादले हरेक वस्तुभित्र राम्रो र खराब, धनात्मक र ऋणात्मक, फाइदा र बेफाइदा सँगसँगै अन्तरनिहित हुने मान्यता राख्दछ। जीवन र जगतको समग्र प्रक्रिया नै त्यही द्धन्द्धको परिणाम हो, जसले जीवन र जगतलाई नियमित र गतिशील तुल्याउँछ।
(ग) दार्शनिक मान्यता :– मार्क्सवादका प्रवर्तक एवं सर्वहारा वर्गका नेता फ्रेडरिक एंगेल्स भन्छन्, ‘द्वन्द्ववाद भनेको सार्वभौम अन्तरसम्बन्धहरुको विज्ञान हो।’ त्यसैगरि मार्क्सवादी चिन्तक एवं सर्वहारा वर्गका नेता लेनिन भन्छन्, ‘द्धन्द्धवाद विपरित तत्वहरुको एकताको सिद्धान्त हो।’ माओत्सेतुङ भन्छन्, ‘वस्तुहरुको अस्तित्व र विकासको नियमलाई नै द्वन्द्ववाद भनिन्छ।
पदार्थ वा भौतिक तत्वलाई प्रधान मान्ने पद्धति नै द्वन्द्वात्मक भौतिकवाद हो। यसले वस्तुलाई पहिलो मान्दछ, त्यसभित्र गतिको सार्वभौमिकतालाई स्वीकार गर्दछ। हरेक वस्तु पदार्थको जगमा उभिएको छ, ती सबै गतिशील छन्, यही मान्यता नै समग्रमा भौतिकवादी द्धन्द्धवाद हो।
(घ) पदार्थ :– पदार्थ भनेको इन्द्रीयमार्फत् हाम्रो जानकारीमा आउने वस्तुहरु हुन्, जुन भौतिक तत्वबाट बनेका हुन्छन्। विश्व ब्रह्माण्डमा रहेका सम्पूर्ण भौतिक वस्तुहरु पदार्थ हुन्, जुन कहिल्यै नष्ट हुँदैनन्। बरु, गति र शक्तिका कारण एउटाबाट अर्कोमा बदलिरहन्छन्।
(ङ) पदार्थको क्षेत्र :– प्रारम्भमा द्रव्यलाई मात्र पदार्थ भनिन्थ्यो। तर, विद्युत, चुम्वकीय क्षेत्र, एक्सरे र रेडियो तरङ्गको आविष्कारपछि यसको व्यापक क्षेत्रलाई पदार्थ मानिएको छ। द्रव्य र क्षेत्र पदार्थको दुई विपरीत पक्षहरु हुन्, जसको अन्तरक्रियाबाट असंख्य घटना प्रक्रियाहरुको अस्तित्व निर्धारण हुन्छ। पदार्थको क्षेत्र व्यापक रहेको छ।
जीवन र जगतमा जताततै पाइने साथै हाम्रो व्यवहारिक जीवनको सम्पर्कमा आइरहने वस्तु नै वास्तवमा पदार्थ हो। ठोस, तरल र ग्यास नै पदार्थका रुपहरु हुन्। इलेक्ट्रोन, क्वान्टम र प्रोटोनहरुको आविष्कारपछि पदार्थ भनेको प्रत्यक्ष देखिने वा वोध हुने बृहत वस्तु जगतमा मात्र सीमित छैन। योभन्दा फरक अयान्त्रिक नियमहरुबाट सञ्चालित सूक्ष्म जगत पनि पदार्थ नै हो।
(च) पदार्थको सार्वभौम गति :– पदार्थको मुख्य गुण नै गति हो, जसले वस्तुलाई जीवित मात्र राख्दैन, विकास एवं रुपान्तरण गर्दछ। प्रकृति, जीवन, समाज र चिन्तनको हर क्षेत्रमा घटने समस्त घटनाहरुको ऐतिहासिक प्रक्रिया नै गति हो। संसारमा गति बिनाको पदार्थ र पदार्थ बिनाको गति हुन सक्दैन।
(छ) गतिको रुपः :– गति पदार्थको सार्वभौम चरित्र हो। भौतिक पदार्थको गतिको पनि विभिन्न रुपहरु रहेको छ। विशेष गरेर यान्त्रिक, भौतिक गति, रासायनिक गति, जैविक गति र सामाजिक गतिहरु यसका रुपहरु हुन्। पिण्डलाई एउटा स्थानबाट अर्को ठाउँमा स्थानान्तरण गरिने पद्धति नै यान्त्रिक गति हो।
(ज) चेतना :– माक्र्सका अनुसार जीवनले चेतना निर्धारण गर्दछ। वस्तुले चेतना निर्माण गर्दछ। मानव मस्तिष्कको क्रियाको विशिष्ट गुण नै चेतना हो। मस्तिष्कद्वारा भौतिक वास्तविकताको प्रतिविम्व उतार्ने कार्य चेतनाले गर्दछ।
पदार्थको उपज एवं पदार्थको गतिको सामाजिक रुपको एक विशिष्ट अभिव्यक्ति नै चेतना हो। चेतनाको मूल आधार भनेको भौतिक श्रम र व्यवहार हो। जैविक विकास र सामाजिक विकास यसको आधारहरु हुन्। तमाम् वस्तु समाजको चरित्र अनरुप नै चेतना निर्धारण हुने गर्दछ।
(झ) चेतनाको सारतत्व :– भौतिक अस्तित्वको प्रतिविम्व नै चेतना हो। मानिसको भौतिक अस्तित्व भनेको यो हाम्रो सामाजिक जीवनसँग गाँसिएको छ। अझ वर्गीय भौतिक समाजमा चेतना पनि वर्गीय हुन्छ। चेतनाको चरित्र सामाजिक हुन्छ, जसले गर्दा यसको निर्माणमा शिक्षा, सूचना र सञ्चार माध्यमहरुको समेत महत्वपूर्ण भूमिका हुन्छ।
(ञ) द्वन्द्वात्मक भौतिकवाद के हो :– द्वन्द्वात्मक भौतिकवाद भनेको यो जीवन र जगतलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने वैज्ञानिक एवं भौतिकवादी विश्व दृष्टिकोण हो, मान्यता हो र एक वैज्ञानिक क्रान्तिकारी दर्शन हो। पदार्थमा निहित गतिका कारण पूराना वस्तुहरु ढल्छन् र नयाँ वस्तुको उदय हुन्छ। समाज पनि त्यस्तै हो। समाजमा हुने वर्गसङ्घर्षको गतिले पूरानो समाज ढालिदिन्छ र नयाँ वैज्ञानिक समाजवादको जन्म हुन्छ।
(ट) निष्कर्ष :– संसारका सबै वस्तु र घटनाहरु गतिशील छन्। कुनै पनि वस्तुमा रहेको द्वन्द्वात्मक गतिद्वारा नै विकास वा रुपान्तरण सम्भव हुँदै आएको छ। वस्तुमा अन्र्तनिहित आन्तरकि संघर्ष नै द्वन्द्व हो। वस्तुभित्रको विपरीत पक्षहरुबीचको एकत्व नै द्वन्द्वात्मकता हो। वस्तुहरुको यही चरित्रको कारण परिर्वतन सम्भव भएको हो।
मानव समाजमा मजदुर र मालिक, शासक र शासितहरु अस्तित्वमा रहन्छन्। द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी मान्यताअनुसार नै वस्तु वा समाजको विकास र रुपान्तरण हुँदै आएको छ।



लाेकपाटी न्यूज

