कस्तो हुनुपर्छ कम्युनिष्ट चिन्तन र संस्कृति ?

Ninu-chapagai
नयाँ संस्कृतिको जन्म एकाएक र रातारात नभएर त्यसको विकास–प्रक्रिया पहिलेदेखि नै भैरहेको हुन्छ र पछि पनि लामो अवधिसम्म चलि नै रहन्छ। त्यसै गरी पुरानो संस्कृति पनि रातारात नष्ट हुँदैन, त्यसको आधार पहिलेदेखि कमजोर बन्दै गएको हुन्छ र मूलाधारमा गुणात्मक परिवर्तन भइसकेपछि पनि लामो अवधिसम्म त्यसको ह्रासको प्रक्रिया चलिरहन्छ।
लाेकपाटी न्यूज

– निनु चापागाई

सांस्कृतिक क्रान्ति समाजवाद तथा कम्युनिज्मको निर्माणको प्रक्रियामा समाजको आत्मिक जीवनमा मूलभूत परिवर्तनको एक मात्र माध्यम मानिन्छ। समाजवादी क्रान्तिले मात्र सांस्कृतिक क्रान्तिका निम्ति सम्पूर्ण आवश्यक पूर्वाधारहरूको निर्माण गर्दछ। सांस्कृतिक क्रान्ति समाजवादी क्रान्तिको प्रक्रियामा नै राजनीतिक तथा आर्थिक रूपान्तरणहरूको आधारमा, श्रमजीवी जनताले सत्तामा नियन्त्रण कायम गरेपछि र सम्पूर्ण भौतिक तथा आत्मिक मूल्यहरू जनताका हातमा स्थानान्तरण भएपछि मात्र सम्भव हुन्छ।

सांस्कृतिक क्रान्तिको समर्थन किन ?

सन् १९२३ तिर सोभियत संघको व्यावहारिक अनुभवका क्रममा नै सांस्कृतिक क्रान्ति भन्ने शब्दावली प्रयोगमा ल्याइएको थियो। पुरानो समाजको विचार, संस्कार, आनीबानी र संस्कृतिलाई वर्गसंघर्षकै क्रममा परित्याग गर्न प्रयत्न गर्नु, सही अर्थमा समृद्ध आत्मिक संस्कृतिको निर्माण गर्नु र व्यक्तिको चौतर्फी विकासका लागि सम्भावनाहरू जुटाउनु अर्थात् समुन्नत मानवको सृजन यसको उद्देश्य थियो। चिनियाँ महान सर्वहारा सांस्कृतिक क्रान्ति पनि यसै उद्देश्यद्वारा अभिपे्ररित थियो। तत्कालका निम्ति यसको सारतत्व संस्कृतिका सबै उपलब्धिहरू माथिको सम्पत्तिशाली वर्गहरूको एकाधिकारलाई उन्मूलन गर्नु, आत्मिक मूल्यका सम्पूर्ण विषयहरूलाई आम जनताको पहुँचभित्र ल्याउनु, समाजवादी बुद्धिजीवी समुदायको सृजना गर्नु र श्रमप्रति नयाँ दृष्टिकोण विकास गर्नु थियो। यसलाई मात्र राजनीतिक उद्देश्यमा रूपान्तरित गरेर हेर्ने र अनुभवलाई गहिरिएर बुझन प्रयत्न नगर्ने प्रवृत्ति हामीकहाँ नभएको होइन। यसबाट मुक्त हुनु अत्यावश्यक छ।

हाम्रो आजको सन्दर्भमा सांस्कृतिक क्रान्तिको शिक्षालाई ग्रहण गर्नु भनेको वर्गसंघर्षमा सहभागी हुँदै पुराना सामन्ती एवं पूँजीवादी विचार, संस्कार, आनीबानी र संस्कृतिलाई परित्याग गर्न सचेतन रूपबाट क्रियाशील रहनु र समुन्नत व्यक्तित्वनिर्माणका निम्ति लागिपर्नु हो। यसलाई सांस्कृतिक आन्दोलनको आदर्श मानेको खण्डमा मात्र सही किसिमले नयाँ जनवादी संस्कृतिको निर्माणमा सहयोग पुर्‍याउन सकिन्छ। नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनको लक्ष्य आज पनि यही दिशातिर उन्मुख हुनुपर्दछ। तर यस निम्ति दीर्घकालीन संघर्ष र प्रयत्नको खाँचो अपरिहार्य छ।

दिशा भन्नाले के बुझिन्छ ?

अब हामी दिशाका सम्बन्धमा छलफल गर्न सक्ने अवस्थामा आइपुगेका छौं। जनताको सांस्कृतिक आन्दोलनमा देखा परेका बाधा–व्यवधानलाई राम्ररी बुझन, ती बाधा–व्यवधानबाट पार पाउन र वास्तविक रूपमा नै क्रान्तिकारी सांस्कृतिक आन्दोलन संगठित गर्नका निम्ति दिशाको सवालले अहं भूमिका खेल्दछ। निश्चय नै, सांस्कृतिक आन्दोलनको लक्ष्य वर्तमान प्रतिक्रियावादी जनविरोधी संस्कृतिको स्थानमा प्रगतिशील जनपक्षीय संस्कृतिको स्थापना गर्नु हो। तर, यसका निम्ति सही बाटो निश्चित गर्नु अनिवार्य हुन्छ। दिशाको निर्धारणले जनविरोधी, प्रतिक्रियावादी संस्कृतिको प्रकृति के कस्तो छ निक्र्योल गर्नुका साथै के कस्ता सांस्कृतिक मूल्य–मान्यतालाई हटाउने हो, कुन कुन सांस्कृतिक मूल्यहरूको स्थापना गर्ने हो र सांस्कृतिक आक्रमणको मुख्य धार कहाँ केन्द्रित गर्ने हो यस सम्बन्धमा स्पष्ट समझदारी दिने काम गर्दछ। यही कारण दिशाको निर्धारणको प्रश्नले अहम् स्थान राख्तछ भनिएको हो।

दिशालाई निर्धारित गर्ने आधार के हो ?

सांस्कृतिक आन्दोलनको दिशाको निक्र्योल गर्नुअघि दिशालाई निश्चित गर्ने आधार के हो त्यसका बारेमा नै हामी सबै स्पष्ट हुनु आवश्यक हुन्छ। कुनै पनि आन्दोलनको दिशाको निर्धारण व्यक्तिका मनोगत इच्छा आकांक्षाहरूबाट हुन सक्तैन। दिशाको निर्धारण समाजको वस्तुगत यथार्थले गर्दछ। माथि हामीले संभवतः उल्लेख गरिसकेका छौं सामाजिक–आर्थिक यथार्थले आफूअनुरूप संस्कृतिको निर्माण गर्दछ। संस्कृतिको निर्माण खास समाज र सामाजिक संरचनामा मात्र हुन सक्तछ।

यहाँनिर हामी मूलाधार अर्थात् अर्थतन्त्र र अधिरचना अर्थात् संस्कृतिका बीचको सम्बन्धमा देखा पर्ने गरेको यान्त्रिक सोचबाट मुक्त हुन सचेत हुनुपर्दछ। सांस्कृतिक अधिरचनाका साथै सबै किसिमका अधिरचनाहरू मूलाधारबाट उब्जिए तापनि तिनको आनै छुट्टै अस्मिता हुन्छ र मूलाधारसँग तिनको द्वन्दात्मक सम्बन्ध हुन्छ। आर्थिक सम्बन्धमा हुने परिवर्तनहरूमाथि तिनको विकास निर्भर हुँदाहुँदै पनि तिनले आर्थिक विकासलाई समेत प्रभावित गर्दछन्, अर्थात् आर्थिक विकासको गतिलाई छिटो पार्ने वा ढिलो बनाउने काम गर्दछन्। कहिलेकाहीं समाज विकासको खास खास अवधिमा अधिरचनात्मक अन्तरक्रियाको केन्द्रीय भूमिका समेत नहुने होइन, तथापि अन्ततः मूलाधारकै निर्णायक भूमिका रहने गर्दछ। कारण के भने वर्गीय समाजको इतिहासले प्रमाणित गरेको तथ्य के छ भने समाजका विभिन्न चरणमा वर्गहरूले आर्थिक सम्बन्धहरूलाई आफनो स्वार्थहरूअनुसार ढाल्नका लागि र ती सम्बन्धहरूलाई यथावत कायम गर्नकै निम्ति संघर्ष गर्ने गर्दछन्।

मूलाधार र संस्कृतिका बीचको द्वन्दात्मक सम्बन्धमा मूलाधारको प्रमुख भूमिकाको अर्थ अधिरचनालाई सम्पूर्ण रूपमा मूलाधारबाट मात्र निगमित मान्न सकिन्न। हामीलाई थाहा भएकै विषय हो – आर्थिक सम्बन्धमा परिवर्तन हुने बित्तिकै नयाँ संस्कृतिको जन्म एकाएक र रातारात नभएर त्यसको विकास–प्रक्रिया पहिलेदेखि नै भैरहेको हुन्छ र पछि पनि लामो अवधिसम्म चलि नै रहन्छ। त्यसै गरी पुरानो संस्कृति पनि रातारात नष्ट हुँदैन, त्यसको आधार पहिलेदेखि कमजोर बन्दै गएको हुन्छ र मूलाधारमा गुणात्मक परिवर्तन भइसकेपछि पनि लामो अवधिसम्म त्यसको ह्रासको प्रक्रिया चलिरहन्छ। त्यति मात्र होइन, इतिहासमा त क्रान्तिपछि स्थापित शासक वर्गहरूले उदीयमान वर्गका विरुद्ध पराजित वर्गका प्रतिगामी मूल्य–मान्यतासँग सम्झौता गरेको, तिनका धेरै वा थोरै मूल्य–मान्यतालाई यथावत् रहन दिएको वा तिनलाई परिष्कार गरी अवलम्बन गरेको समेत देखिएको छ। त्यसैले मूलाधार र अधिरचनाका बीचको सम्बन्धलाई वैज्ञानिक अन्तर्दृष्टिसहित हेर्न हामी सचेत बन्न सक्नुपर्दछ।

हामी दिशाको निर्धारण गर्ने आधारका रूपमा वस्तुगत यथार्थको चर्चा गर्दै थियौं। यसको अर्थ के हो भने वर्तमान नेपालको सामाजिक–आर्थिक संरचनाको मूल गति र स्वरूप जस्तो छ त्यसले नै नेपालको वर्तमान सांस्कृतिक आन्दोलनको दिशा र स्वरूपलाई निर्धारित गर्दछ। नेपाली समाजको यथार्थभित्र रहेका धाराहरूको संघर्ष र विकासमान धाराको बोधबिना वर्तमान नेपालको सांस्कृतिक आन्दोलनको दिशा र स्वरूपको निर्धारण हुन सक्तैन। स्पष्ट शब्दमा भन्दा वर्तमान नेपाली समाजको अन्तर्विरोध कोसँग छ भन्ने तथ्यले नै नेपालको वर्तमान सांस्कृतिक आन्दोलनको दिशालाई निर्धारण गर्दछ।

सामाजिक सत्य सिद्धान्तको आधार हो। सामाजिक सत्य बदलिनासाथ सिद्धान्तमा पनि परिवर्तन आउँछ। यस सम्बन्धमा जर्मनीका महान लेखक गेटेको प्रख्यात कृति फाउस्टको पात्र मेफिस्टोफीलिसको भनाइ सम्झन लायक छ। उसको भनाइ छ (Theory, my friend is grey and green is the eternal tree of life) जीवनको गतिसँग पाइला चालेर सिद्धान्त चलेन भने त्यो परिवर्तनको प्रभावकारी साधन नरहेर जडसूत्र बन्न पुग्दछ। संस्कृतिको क्षेत्र पनि यसबाट अपवाद रहन सक्तैन।

नेपालको सामाजिक संरचनाको स्वरूप कस्तो छ ?

नेपालको वर्तमान समाजको संरचनाको स्वरूपका सम्बन्धमा भारतमा जस्तो एकदमै ठूलो विवाद नेपालमा पाइँदैन। तथापि नेपालको सामाजिक संरचनाको स्वरूपका बारेमा नेपालका आमूल परिवर्तनकारी कम्युनिस्ट शक्तिहरू एकमत भने देखिंदैनन्। का. रोहित लगायत केही मानिसहरू वर्तमान नेपालमा श्रम र पूँजीका बीचको अन्तर्विरोध प्रमुख अन्तर्विरोध भएको हुँदा नेपालमा अब समाजवादी क्रान्तिको आवश्यकता भएको मत अघि सारिरहेका छन् र यही कारण नेपालमा समाजवादी अर्थात् सर्वहारा संस्कृतिको दिशा नेपालको सांस्कृतिक आन्दोलनको दिशा हो भन्ने निष्कर्ष निकालिरहेका छन्।

नेपालका अन्य अधिकांश कम्युनिस्ट घटकहरू सामन्तवाद र साम्राज्यवादसँग नेपाली जनताको आधारभूत अन्तर्विरोध र नेपालको घरेलु प्रतिक्रियावादसँग (सामन्तवर्ग, दलाल पूँजीपतिवर्ग र नोकरशाही पूँजीपतिवर्गसँग) नेपाली जनताको अन्तर्विरोध प्रमुख अन्तर्विरोध रहेको दृष्टिकोण अघि सारिरहेका छन्। उनीहरूका दृष्टिमा नेपाल एक अर्धसामन्ती–अर्धऔपनिवेशिक मुलुक हो र यहाँको अर्थतन्त्रदेखि संस्कृतिसम्म सामन्तवादकै प्रभुत्व अद्यावधि रहेको छ। त्यसैले नेपालमा पूँजीवादी क्रान्ति सम्पन्न गरेर मात्र समाजवादतिर पाइला चाल्न सकिन्छ। त्यस्तो क्रान्ति पुरानो किसिमको पूँजीवादी क्रान्ति नभएर समाजवादी क्रान्तिको अभिन्न अंग र सर्वहारावर्गको नेतृत्वमा हुने नयाँ किसिमको पूँजीवादी क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्ति हो। त्यसैले नेपालको वर्तमान सांस्कृतिक आन्दोलनको दिशा पनि नयाँ जनवादी अर्थात् राष्ट्रिय जनवादी संस्कृतिको दिशा हो।

यस्तो दृष्टिकोणलाई पचास वर्षअघि पुष्पलालले जे–जे भन्नुभयो, त्यसैको रटना गर्ने यान्त्रिक र जडसूत्रवादी ठान्ने अर्को एउटा पक्ष पनि नेपालमा विद्यमान छ, जो नेपाली समाजको विकासको दिशा र स्तर के हो समाज र राज्यको चरित्र के हो भन्ने विषयमा एकातिर आफू अध्ययन अनुसन्धानको प्रक्रियामा भएको मान्दछ भने अर्कातिर राज्यको माथिल्लो ढाँचा पुँजीवादी भएको तर जगसम्म पुँजीवादी सुधार हुन नसकेको भन्नचाहिँ अध्ययन अनुसन्धानलाई पर्खेर बसिरहेको देखिंदैन।

यसरी सांस्कृतिक आन्दोलनको दिशा निर्धारणका लागि वर्तमान नेपालको आर्थिक–सामाजिक अवस्थाको समग्र व्याख्या–विश्लेषण गर्नु, आर्थिक–सामाजिक संरचनाको अन्तर्वस्तु र स्वरूपको मूल्यांकन गर्नु र त्यसका आधारमा खास निष्कर्षमा पुग्नु जरुरी हुन्छ। तर यस गोष्ठीको प्रकृति र समय सीमाका कारणले तत्काल त्यसो गर्न सक्ने अवस्था छैन। तथापि केचाहिँ भन्नैपर्ने हुन्छ भने मेरो दृष्टिमा नेपाल शताब्दीयौंदेखि सामन्तवादी र विदेशी प्रभुत्ववादी शोषण र दमनको चपेटामा परेको अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक मुलुक हो। नेपालको आर्थिक–सामाजिक संरचनाले अंग्रेजसँग भएको सुगौली सन्धिपछि अद्र्ध–औपनिवेशिक चरित्र ग्रहण गरेको छ भने प्रथम विश्वयुद्धको पूर्वबेलादेखि नेपालको अर्थतन्त्रमा पुँजीवादीको बीजारोपण भएको हो।

नेपालमा आदिम साम्यवादको अवशेषका रूपमा कविलातन्त्रको विकृत उपस्थिति, पूर्वसामन्ती किसान भूस्वामित्वको विद्यमानता र दलाल पूँजीवादका विविध आर्थिक सम्बन्धहरू एकैसाथ फेला पर्दछन्, तापनि सामन्ती उत्पादन सम्बन्धको प्राधान्य छ र सामन्ती पदचिन्ह अनुशरण गर्ने राज्यव्यवस्था कायम छ। तथ्य स्वयंले के देखाएको छ भने नेपाल कृषिमा आधारित अर्थतन्त्र भएको देश हो र यसको कुल गार्हस्थ्य उत्पादनको पैंसठ््ठी प्रतिशतभन्दा बढी आमदानी कृषिबाट नै भइरहेको छ। नेपालको कृषि प्रणाली आधुनिक कृषि प्रणाली नभएर परम्परागत सामन्ती पद्धति तथा सामन्ती भूस्वामित्वमा अवलम्बित रहेको तथ्य पनि हामी सबै जान्दछौं।

नेपालमा अवस्थित कुल ३८ लाख परिवारसंख्यामध्ये २७ लाख परिवार किसानहरूको छ। नेपालको खेतीयोग्य जमीनमध्ये चौध प्रतिशत जग्गा १.५ प्रतिशत सामन्त र सत्ताइस प्रतिशत जग्गा पाँच प्रतिशत सामन्तहरूको कब्जामा छ भने डेढ बिघा जग्गा समेत नहुनेहरू उनान्सत्तरी प्रतिशत छन्। भूमिहीन र अद्र्ध भूमिहीनहरूको परिवार संख्या नेपालमा पाँच–पाँच लाख छ।

राजतन्त्रको नेतृत्वको नेपालको वर्तमान राज्ययन्त्र घरेलु प्रतिक्रियावादको संयुक्त अधिनायकत्व बाहेक अरू केही होइन। यसले नेपाली समाजमा विद्यमान केही मुठठीभर शोषक–शासकवर्ग – सामन्त, दलाल एवं नोकरशाह –को स्वार्थको संरक्षण गर्ने काम गरिरहेको छ र शासकवर्गले आफ्नो सत्ता सुृरक्षित राख्न भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद लगायत अन्य साम्रज्यवादी शक्तिहरूसँग साँठगाँठ गरेर तिनलाई नेपालको शोषण गर्न छुट दिइरहेको छ। जुनसुकै उपाय गरेर पनि नेपालको अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक अवस्थालाई कायमै राख्नु र नेपालमा हुने कुनै पनि किसिमको क्रान्तिकारी परिवर्तनको विरोध र दमन गर्नु यसको उद्देश्य रहेको छ।

यत्ति मात्र तथ्यांकलाई आधार बनाउदा पनि के छर्लङ्ग हुन्छ भने देशलाई राष्ट्रिय पूँजीवादको विकासमा र औद्योगीकरणको प्रक्रियामा अघि बढाउनका लागि कृषिमा रहेको प्रभुत्वशाली सामन्ती सम्बन्धलाई समाप्त पारेर उत्पादनसम्बन्धलाई परिवर्तन गर्नु, उत्पादकशक्तिलाई स्वतन्त्रतापूर्वक विकास गर्ने परिस्थिति सृजना गर्नु नेपालको आजको मूलभूत समस्या हो। यस निम्ति सामन्तवर्ग, दलाल एवं नोकरशाह पुँजीपतिवर्गका हातमा रहेका उत्पादनका साधनहरूलाई उत्पादक शक्तिहरूका हातमा सुम्पनु आवश्यक हुन्छ। यो काम नेपालमा नयाँ जनवादी क्रान्तिले मात्र पूरा गर्न सक्तछ। त्यसैले मेरो दृष्टिकोणमा नेपालको आजको सांस्कृतिक आन्दोलनको दिशा नयाँ जनवादी संस्कृतिको निर्माणको दिशा बाहेक अरू हुन सक्तैन। वर्तमानमा पूँजीवादी –साम्राज्यवादी र सामन्ती मूल्यमा कुनै विरोध देखा पर्दैन।

नेपालको प्रभुत्वशाली संस्कृतिमा सामन्तवादी र साम्राज्यवादी–पूँजीवादी मूल्य–मान्यता र संस्कृति एकै साथ क्रियाशील रहेका छन् र तिनका बीचमा साँठगाँठ छ भन्ने कुरामा भने हामी सबै झण्डैजसो एकमत नै छौं। विवादको विषय कुन संस्कृतिको आडमा अन्य संस्कृति टिकेका छन् र केन्द्रमा कुन संस्कृति र मूल्य–मान्यता छ, तिनका बीचको सम्बन्ध कस्तो छ र प्रहारको निशाना केलाई बनाउने भन्नेमा मात्र रहेको छ। हामी के कुरामा स्पष्ट हुनु आवश्यक छ भने वर्तमान अवस्थामा पूँजीवादी र साम्राज्यवादी संस्कृतिका बीचमा विभाजक–रेखा खोज्ने र मूल्यका स्तरमा तिनका बीच परस्पर विरोध छ भनेर सोच्ने प्रयत्न राम्रो होइन। त्यसरी नै सामन्तवादी मूल्यहरू र पूँजीवादी मूल्यहरू एवं सामन्तवादी मूल्यहरू र साम्राज्यवादी मूल्यहरूमा आपस्तमा कुनै विरोध वर्तमान अवस्थामा पाइँदैन। किनभने यिनीहरू आज न एकअर्काका विरुद्ध संघर्षरत छन्, न तिनमा आपसमा विरोध नै छ।

पूँजीवादी क्रान्तिको युगमा आफूलाई सुदृढ बनाउन समर्थ हुनासाथ जुधारु भौतिकवादको झण्डा उठाउने, ईश्वरको सत्तालाई पैतालाले किचिमिची पार्ने र राजमुकुटलाई अफ्नो तरवारको टुप्पामा राखेर पर हुत्याउने पूँजीपति वर्गले सामन्ती प्रतिगामी मूल्यहरूसँग सम्झौता गरेर तिनलाई अवलम्बन गरेको, साम्राज्यवादको युगमा तिनलाई पूर्णतः स्वीकार गरेको र आवश्यक पर्दा मूल्य–मान्यताहरू बाहिरबाट आयात गरेको घटना संस्कृतिको इतिहासमा बिर्सन सकिने विषय नै होइन।

निश्चय नै, पूँजीवादी संस्कृति ऐतिहासिक सन्दर्भमा विकासमान पूँजीपति वर्गको देन हो, जुन आफ्नो ऐतिहासिक चरणमा प्रगतिशील थियो र हाम्रा लागि आज पनि उपयोगी नै छ। तर, पूँजीवादी, साम्राज्यवादी तथा सामन्तवादी संस्कृतिका बीचमा आज कहीं कतै मूल्यको स्तरमा संघर्ष र विरोध देखिँदैन। त्यसैले नेपालमा पूँजीवाद वा साम्राज्यवादले सामन्तवादी मूल्य–मान्यता र संस्कृतिका विरोधमा क्रियाशील हुनुपर्ने आवश्यकता नै छैन।

प्रहारको निशाना कुन संस्कृति हुन्छ ?

विद्यमान नेपालको आर्थिक–सामाजिक अवस्थाका कारणले गर्दा अहिलेसम्म सामन्तवादी संस्कृति नै केन्द्रमा र प्रभुत्वमा रहेको छ। सामन्तवादले शताब्दीयौंदेखि जनताको आर्थिक एवं सांस्कृतिक शोषणका निम्ति धर्मलाई उपयोग गर्दै आएको धर्मले यहाँका मानिसको हरेक क्रियाकलापलाई गाँजेको छ, कतिसम्म भने आफूलाई द्वन्दात्मक भौतिकवादी भनेर दाबी गर्दै हिड्नेहरू समेत यसबाट सर्वथा मुक्त देखिंदैन। धर्मसँगै गाँसिएको सामन्ती अवधारणा पुनर्जन्म र कर्मवादबाट पनि नेपाली जनमानस पूर्णतया सञ्चालित पाइन्छ। धर्मको उपउत्पाद वणर््ाव्यवस्था र जातिप्रथा नेपालको संस्कृतिको अझै पनि मेरुदण्ड नै बनेको छ।

नारीलाई दोस्रो दर्जाको नागरिक ठान्ने पितृसत्तात्मक हैकम यथावत छ। खास खास काम गर्ने समाजका लागि नभई नहुने शिल्पीहरूलाई दलित र अछूत भनेर छिःछिः र दूरदूर गर्ने घृणित सामन्ती चलन जस्ताको तस्तै छ। समाजमा विद्यमान सामन्ती उत्पादनसम्बन्ध र समाजमा प्रभुत्वमा रहेको सामन्तवादी संस्कृतिका कारणले गर्दा नै साम्राज्यवादी संस्कृति र सामन्तवादी संस्कृतिका बीचमा विरोध र संघर्ष नहुँदा नहुँदै पनि आज नेपालमा सामन्ती संस्कृति केन्द्रमा रहिरहेको हो।

मूल्यका स्तरमा अन्तर्विरोध नभएकै कारणले यहाँका शासकहरू धमाधम साम्राज्यवादी संस्कृतिको अन्धानुकरण गरिरहेका छन र आफ्ना संचारमाध्यमबाट पनि तिनको तीव्र रूपले प्रचारप्रसार गर्नुका साथै त्यस्तो संस्कृतिलाई प्रश्रय दिने पत्रपत्रिकाको आयात गर्न खुला छुट दिइरहेछन्, त्यस्ता किसिमको संस्कृति फैलाउने स्याटालाइट र च्यानलहरू स्थापना गर्न उत्प्रेरित गरिरहेछन्। यहाँनिर ख्याल राखिनुपर्ने विषय के छ भने नेपालमा साम्राज्यवादी संस्कृतिको प्रवेश मूलतः सामन्ती दृष्टिकोण र संस्कृति भएका शासक वर्गकै आडभरोसामा हुन्दै आएको छ। त्यसैले सामन्तवादी संस्कृतिमाथि प्रहार केन्द्रित गर्दै साम्राज्यवादी संस्कृतिका विरुद्ध संघर्ष विकसित गर्नु नै नयाँ जनवादी संस्कृतिको कार्यभार हुनुपर्दछ।

नयाँ जनवादी संस्कृति भनेको के हो ?

नयाँ जनवादी संस्कृति विश्व सर्वहारावर्गको समाजवादी संस्कृतिको एउटा अभिन्न अंग हो र त्यसको ठूलो सहयोगी पनि हो। यो सर्वहारा संस्कृति र विचारधाराबाट निर्देशित हुन्छ। यही कारण समाजवादी अर्थव्यवस्था र राजनीति व्यवहारमा लागू नभएको स्थितिमा पनि समाजवादी संस्कृतिका प्रमुख लक्षणहरू यसमा विद्यमान रहन्छन्। ती लक्षणहरू मूलतः जीवन सत्यप्रति अगाध निष्ठा, वैज्ञानिक एवं द्वन्दात्मक भौतिकवादको दृढ अवलम्बन, पार्टी–प्रतिबद्धता, जनसेवाको भावना, समाजवादी मानवतावाद र ऐतिहासिक आशावादको अनुसरण, पूँजीवादी विचारधारा र मानिसको चेतना र व्यवहारका विगतका अवशेषसग झुक्दै नझुक्ने संघर्षशीलता, देशभक्ति, अन्तर्राष्ट्रियतावाद एवं कम्युनिस्ट आकांक्षाहरूलाई आत्मसात गर्दै व्यवहारमा तिनलाई लागू गर्ने प्रयत्न, जीवनप्रति सकारात्मक अभिवृत्ति, इमानदारी आदि हुन्।

नयाँ जनवादी संस्कृति सर्वहारावर्गको नेतृत्वमा सञ्चालित हुने जनसमुदायको सामन्तवाद–साम्राज्यवादविरोधी संस्कृति हो। यसको उद्देश्य मजदुर एवं आम श्रमजीवी जनतालाई सामन्तवाद–साम्रज्यवादविरोधी राजनीतिक र सांस्कृतिक क्रान्तिको मार्गमा अघि बढाउन प्रयत्न गर्नुका साथसाथै तिनका माझ समाजवाद र साम्यवादका विचारहरू फिजाउनु पनि हो। नयाँ जनवादी संस्कृति क्रान्तिकारी संस्कृति भएको हुनाले यसले कहिल्यै, कुनै पनि राष्ट्रको प्रतिक्रियावादी, साम्राज्यवादी संस्कृतिसँग एकता र साँठगाँठ गर्दैन।

नयाँ जनवादी संस्कृति वैज्ञानिक संस्कृति हो। यसले अन्धविश्वास, रूढिमा टिकेको सारा सामन्ती संस्कृतिको विरोध गर्नुका साथै वस्तुगत सत्यलाई प्राथमिकता दिने, तथ्यहरूका आधारमा सत्य पत्ता लगाउने काम गर्दछ र सिद्धान्त र व्यवहार, शब्द र कर्मका बीचको एकतामा जोड दिन्छ। नयाँ जनवादी संस्कृतिले भौतिक चिन्तन र विचारलाई आफनो आधार बनाउँछ र आध्यात्मिक चिन्तन एवं आदर्शवादको विरोधमा सक्रिय रहन्छ। धर्म, ईश्वर, स्वर्ग–नरक, पाप–पुण्यजस्ता कुनै पनि किसिमका अदृश्य तत्वहरूमाथि विश्वास नराख्नु, त्यसको विरोधमा क्रियाशील रहनु र निरीश्वरवादको प्रचार–प्रसार गर्नु नया“ जनवादी संस्कृतिको अपरिहार्य काम हो।

साम्राज्यवादी–विस्तारवादी उत्पीडनको विरोध गर्ने र देशभित्रका विभिन्न उत्पीडित जातिहरूको मर्यादा र स्वतन्त्रताको समर्थन गर्ने हुनाले नयाँ जनवादी संस्कृतिको स्वरूप राष्ट्रिय हुन् । देशका अधिकांश श्रमिक, किसान–मजदुर, प्रगतिशील बुद्धिजीवी आदि व्यापक जनसमुदायको सेवा गर्नु आफ्नो कर्तव्य ठान्ने हुनाले नयाँ जनवादी संस्कृतिको प्रकृति जनवादी हुन्छ। यही कारण यसले किसान, मजदुर र नारीहरूको मुक्तिको पक्षमा आफूलाई उभ्याउँछ। सारमा नयाँ जनवादी संस्कृतिले सामन्तवाद र साम्रज्यवादको विरोधमा वर्गसंघर्ष विकसित गर्ने कामलाई प्राथमिकता प्रदान गर्दछ र त्यसअनुरूपका विषयहरू चयन गरेर नया जनवादी क्रान्तिलाई सरसहयोग पुर्‍याउने काम गर्दछ।

श्रम र जनताप्रति आस्था एवं विश्वास जगाउने, शोषण, व्यक्तिगत पूँजी, निजी स्वार्थ र व्यक्तिवादको विरोध गर्दै सामूहिकतावादमाथि विशेष जोड दिने, कामचोर प्रवृत्तिको विरोध गर्ने तथा कर्तव्यपरयणताको समर्थन गर्ने, सामाजिक न्याय, समानता र स्वतन्त्रताको पक्षपोषण गर्ने, समाजमा देखापर्ने सबै किसिमका अमानवीय पक्षको विरोध गर्ने र मानवीय मूल्य–मान्यताको समर्थन जनाउने, सत्यको समर्थन र असत्यको विरोध गर्ने चिन्तनको विकास नयाँ जनवादी संस्कृतिले गर्दछ।

पूँजीवादले मानिसलाई चरम व्यक्तिवादी र उपभोक्तावादी बनाउने, विकृत यौन–वासना, कामुकता एवं अश्लीलता र पशुवृत्ति बढाउने, भयावह हिंसा, हत्यालाई प्रश्रय दिने र आतंक खडा गर्ने, जीवनको उद्देश्यहीनता, सामाजिक समस्याप्रति उदासीनता र चरम आत्मकेन्द्रितता फैलाउने, जीवनका हरेक पक्ष, मानिस, उसको शरीर, मानवतासहित संस्कृति, साहित्य, संगीत र सबै कुराहरूलाई उपभोग्य वस्तु वा माल ठान्ने उपभोक्तावादी संस्कृति निर्माण गर्दछ।

संसारभर आफ्नो विचार र संस्कृति अरूमाथि थोपर्ने साम्राज्यवादी संस्कृतिको दृढताका साथ विरोध अभियान सञ्चालन गर्ने काम नयाँ जनवादी संस्कृतिले गर्दछ। सांस्कृतिक आन्दोलनको दिशा के कस्तो हुनुपर्ने हो र त्यसको काम के हो यस सम्बन्धमा यति विचार प्रस्तुत गरिसकेपछि अब म नेपालको सांस्कृतिक आन्दोलनमा देखिएका केही प्रवृत्तिहरूको चर्चा गर्न चाहन्छु।

सांस्कृतिक आन्दोलनमा कस्ता प्रवृत्ति छन् ?

दिशा निर्धारणको आधार किटान गर्ने क्रममा मैले माथि नेपालको वर्तमान आर्थिक–सामाजिक संरचनालाई हेर्ने दृष्टिकोणमा रहेको भिन्नताका बारेमा संक्षिप्त चर्चा गरिसकेको छु। वर्तमान नेपाली समाजको संरचनाको विश्लेषण गर्ने विचारधारामा रहेको भिन्नता र एउटै विचारधारा राख्नेहरूका बीचमा समेत देखा परेको पद्धति र दृष्टिकोणको मतभेदका कारणले गर्दा नेपालको जनपक्षीय सांस्कृतिक आन्दोलनमा विभिन्न प्रवृत्ति र धाराहरू विकसित भएका छन्। म यहाँ मूलतः नयाँ जनवादी सांस्कृतिक आन्दोलनभित्र रहेका केही प्रवृत्तिको मात्र उल्लेख गर्ने प्रयत्न गर्नेछु।

नेपालको जनपक्षीय सांस्कृतिक आन्दोलनको दिशा राष्ट्रिय जनवादी सांस्कृतिक आन्दोलनको अर्थात नयाँ जनवादी सांस्कृतिक आन्दोलनको दिशा हुनुपर्दछ भन्ने दृष्टिकोण राख्ने संगठन, शक्ति र व्यक्तिहरूको संख्या र परिधि निकै व्यापक छ। यसभित्र क्रान्तिकारी शक्तिदेखि दक्षिणपन्थी संशोधनवादीहरूसम्म रहेका छन्। क्रान्तिकारी शक्तिहरूका बीचमा पनि पद्धति र दृष्टिकोणमा रहेको मतभेदका कारण फुट र विखण्डन विद्यमान छ। फलतः जनपक्षीय सांस्कृतिक आन्दोलन जति शक्तिशाली तथा प्रभावकारी हुनुपर्ने हो त्यति हुन सकेको छैन र यो निकै कमजोर स्थितिमा छ।

नयाँ जनवादी संस्कृतिलाई सांस्कृतिक आन्दोलनको दिशाका रूपमा मान्यता दिए पनि दक्षिणपन्थी सोच राख्ने राजनीतिक एवं सांस्कृतिक शक्ति र व्यक्तिहरूले यसलाई सत्तारूढ वर्ग र त्यसको संस्कृतिका विरुद्ध निर्माण गरिने संस्कृतिको रूपमा व्यवहारमा गंभीरतापूर्वक लिएको देखिंदैन। नयाँ जनवादी संस्कृति त्यस्तो संस्कृति हो, जसले सामन्तवाद र साम्राज्यवादसँग कुनै पक्षमा पनि सम्झौता गर्दैन, वर्गीय पक्षधरतामा जोड दिन्छ र विरोधी शक्तिस“ग जीवन–मरणको संघर्ष चलाउँछ भन्ने नयाँ जनवादी राजनीतिका सफल प्रयोगकर्ता कमरेड माओको विचारप्रति यस्ता तत्वहरूको एकदमै कम ध्यान गएको देखिन्छ।

विद्यमान प्रतिक्रियावादी राजनीतिक पद्धतिलाई नै सुदृढीकरण गर्ने विजातीय चिन्तनको फलस्वरूप विचारहीनता, वर्ग–सम्झौता, वर्गीय दृष्टिहीनताबाट यो प्रवृत्ति ग्रस्त छ र यदाकदा प्रतिध्रुवलाई सरसहयोग पु¥याउने काम समेत यसले गर्दै आएको छ। वर्गसंघर्षको उच्च रूप क्रान्ति हो र त्यो बलप्रयोगबिना सम्पन्न हुन सक्तैन भन्ने इतिहाससम्मत तथ्यलाई सर्वथा उपेक्षा गर्ने र शान्तिपूर्ण प्रक्रियाप्रति आवश्यकभन्दा अतिशय जोड दिने गरेको कारण यथास्थितिको चौघेराबाट यो उम्कन सकेको छैन।

भनाइ र गराइका बीच एकदमै ठूलो अन्तर यसमा पाइन्छ र भौतिक चिन्तनको साटो आध्यात्मिक चिन्तनलाई समय समयमा आधार बनाउने जस्ता प्रवृत्तिहरूबाट यो पूर्णतः ग्रस्त छ। बहुदलीय जनवादी संस्कृतिको समेत नाउँमा देखापर्ने यो प्रवृत्ति वास्तवमा नयाँ जनवादी सांस्कृतिक चिन्तनकै विरुद्ध क्रियाशील देखिन्छ।

अर्को प्रवृत्ति हो व्यक्तिवादी–अराजकतावादी प्रवृत्ति। एकातिर समाज रूपान्तरणको प्रक्रियामा राजनीतिक–आर्थिक क्षेत्रको संघर्ष प्रमुख हुन्छ र सांस्कृतिक आन्दोलनले त्यसैलाई सहयोग पुर्‍याउनुपर्दछ भन्ने चिन्तन प्रकट गर्ने र अर्कातिर नेपालमा क्रियारत राजनीतिक शक्तिहरू सबैलाई निरपेक्ष तरीकाले आलोचना गरी राजनीतिक आन्दोलनप्रति नै वितृष्णा फैलाउने यस प्रवृत्तिले स्वतन्त्रताको नाममा प्रतिबद्धताकै निरपेक्ष विरोध गर्दछ र व्यक्ति आफू वा आफ्नो वृत्तलाई धुरी बनाई सबै कुराको व्याख्या–विश्लेषण गर्ने गर्दछ।

अरूको आलोचना गर्दा अधिकतम रूपमा समाजवादी चिन्तनलाई आधार बनाउने तर आफ्ना गतिविधिमा चाहिँ समाजवादी चिन्तनको कसी सकेसम्म लगाउनबाट पलायन गर्ने यसको विशेषता रहेको देखिन्छ। यथार्थ र तथ्यको तहसम्म नै नपसी मनोगत तरीकाले वा कहिलेकाहीँ गलत रूपमै आफ्ना भनाइहरू प्रचारमा लैजाने र ती गलत भएको प्रमाणित हुँदा पनि आत्मालोचक नहुने रोग यो प्रवृत्ति अवलम्बन गर्नेहरूमा पाइन्छ। वस्तुगत यथार्थलाई आधार बनाउने, तथ्यबाट सत्य पत्ता लगाउने र भनाइ र गराइका बीच एकरूपता हुनुपर्ने नयाँ जनवादी संस्कृतिकै विरोधमा छ यो प्रवृत्ति पनि।

वचनमा संस्कृतिको विशिष्टलाई स्वीकार गर्दागर्दै पनि व्यवहारमा सांस्कृतिक आन्दोलनलाई मात्र राजनीतिक आन्दोलन ठान्ने प्रवृत्ति पनि हामीकहाँ विद्यमान छ। सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलनको अधीनमा रहनु र राजनीतिक आन्दोलनलाई सहयोग गर्नु अत्यावश्यक छ। तर, सांस्कृतिक आन्दोलन आफैंमा राजनीतिक आन्दोलन होइन। आत्मिक विकास, सृजनात्मक सामथ्र्यको प्रस्फुटन, सौन्दर्यबोधी चेतनाको विकासजस्ता विषयमा संस्कृतिको आफ्नै विशिष्ट महत्व र अर्थ छ। विचारका तहमा यस तथ्यलाई स्वीकार गर्दागर्दै पनि यस प्रवृत्तिले व्यवहारमा यस पक्षलाई उपेक्षा गरेकै देखिन्छ। संकीर्णता यस प्रवृत्तिको अर्को रोग हो। कुनै कृति वा स्रष्टाको वर्गीय दृष्टिले के कति महत्व छ वा छैन त्यसको निक्र्योल नगरी आफू निकट रहेको पार्टीको राजनीतिलाई त्यसले कसरी लिएको छ, त्यसका आधारमा आलोचना वा प्रशंसा गर्ने, जथाभावी बिल्ला भिराउने काम यसले गर्दछ।

वस्तुगत यथार्थका विपरीत आफ्ना मनोगत धारणाहरू लाद्नु, जनता इतिहासका निर्माता हुन् भन्ने तथ्यलाई आत्मसात् गर्नुभन्दा केही वीरहरूलाई जनताको रूपमा ग्रहण गर्नु, मित्रहरूलाई दुश्मनको जस्तो व्यवहार गर्नु यसका केही नकारात्मक पक्ष हुन्। क्रान्तिकारी रोमान्सप्रतिको यसको अतिशय मोह पनि उल्लेख्य छ। क्रान्तिकारी रोमान्स आफैंमा नराम्रो कुरो होइन। तर, सामाजिक यथार्थप्रति सचेत गराएर त्यसको रूपान्तरणका निम्ति जनतालाई प्रेरित गर्ने काम नगर्ने हो भने यस्तो रोमान्सले रूपान्तरणको प्रक्रियामा पुर्‍याउनुपर्ने सहयोग पुर्‍याउन सक्तैन।

नयाँ जनवादी संस्कृतिको सही र स्वस्थ विकासका निम्ति यस्ता प्रवृत्तिका विरुद्ध हामी सबै क्रियाशील नभई हुँदैन। उल्लिखित प्रवृत्तिको विरोध गर्दै सांस्कृतिक आन्दोलनलाई तुलनात्मक रूपबाट सञ्चालन गर्ने प्रयत्न भएकै कारण हामी आजको स्थितिसम्म आइपुगेका हौं। मोटामोटी रूपमा प्रवृत्तिका बारेमा मेरो भनाइ यत्ति नै हो। सारमा सांस्कृतिक आन्दोलनका दुई धारा मात्र छन्।

अन्तमा म के भन्न चाहन्छु भने वर्तमान नेपालको सांस्कृतिक अवस्थालाई गहिरिएर अवलोकन गरेको खण्डमा हामीले परस्पर संघर्षरत दुईओटा सांस्कृतिक धारा मात्र फेला पार्नेछौं। सामन्तवादी–साम्रज्यवादी धारा र जनपक्षीय संस्कृतिको धारा। जनपक्षीय धाराले सामन्ती–साम्राज्यवादी धारासँग पुग नपुग पाँच दशकअघिदेखि निरन्तर संघर्ष गर्दै आएको छ र यो नै नेपालको सांस्कृतिक आन्दोलनको एक मात्र सकारात्मक धारा हो।

निश्चय नै, जनपक्षीय सांस्कृतिक आन्दोलनमा भएको विभाजन र आफैंभित्रका विजातीय तत्वहरूसँग संघर्ष गर्नुपर्ने बाध्यताका कारण यो जति बलशाली हुनुपर्ने हो त्यति छैन। तर, वैज्ञानिक दृष्टिकोणमा आधारित भएको कारणले र इतिहासको स्वाभाविक गतिको सहभागी भएको कारणले सबै बाधा–व्यवधानलाई पार गर्दै सामन्तवादी–साम्राज्यवादी संस्कृतिमाथि यसले विजय हासिल गरेरै छाडने छ भन्नेमा म पूर्णतः विश्वस्त छु।

(सांस्कृतिक आन्दोलनको दिशा र कम्युनिष्ट क्रान्तिकारीहरुको कार्यभार सम्बन्धि वामपन्थी चिन्तक एवं संस्कृतिविद् निनु चापागाईले केही वर्षअघि प्रस्तुत गरेको कार्यपत्र सान्दर्भिक लागेर प्रकाशित गरेका हौं–सम्पादक।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्