कम्युनिष्ट काे हुन्, काे हाेइनन् : के भन्छ मार्क्सवादी दर्शन ?

communist
लाेकपाटी न्यूज

काठमाडौं/मनहरि तिमिल्सिना। नेपालमा वामपन्थी शक्तिको सत्ता र सडकमा बलियो जनमत छ। गत निर्वाचनमा जनताले वामपन्थी शक्तिलाई दुईतिहाई जनमत दिएका छन्। तर, वामपन्थी सरकार, पार्टी र नेता–कार्यकर्ताका दैनिक गतिविधि हेर्दा उनीहरु कम्युनिष्ट त के, वामपन्थीजस्ता पनि लाग्दैनन्।

सबैभन्दा ठूलो वामपन्थी शक्ति नेकपा सरकारको नेतृत्वमा छ। अर्को विद्रोही नेकपा सशस्त्र सङ्घर्षकै बलमा समाजवाद स्थापना गर्ने एजेण्डामा छ। केही साना समूहहरु सत्ता र सशस्त्र सङ्घर्षबाट अलग भए पनि मार्क्सवादी सिद्धान्तकै वकालत गरिरहेका छन् र उनीहरुकै भाषामा अनुकूल परिस्थितिको पर्खाइमा छन्। सबैको एउटै रणनीतिक लक्ष्य छ, ‘समाजवाद हुँदै साम्यवाद।’

जनता भन्छन्, ‘नेपालमा नामधारी कम्युनिष्ट धेरै छन्। तर, कोही पनि मार्क्सवादी सिद्धान्त र आदर्शअनुसार चल्दैनन्। क्रान्तिको बाटो कुन रोज्ने, वर्ग शक्ति सन्तुलनको अवस्था के छ, रणनीतिसम्म पुग्न कुन कार्यनीति अख्तियार गर्ने, क्रान्तिको मार्गचित्र कस्तो हुन्छ ? यो अलग बहसको विषय हुन सक्ला। तर, एउटा कम्युनिष्ट कार्यकर्ताको सोच्ने तरिका कस्तो हुन्छ, विश्व दृष्टिकोण कस्तो हुनुपर्छ, दैनिक आचरण र व्यवहार कस्तो हुनुपर्छ ? यसमा भने खासै विवाद गर्नु पर्दैन।

विश्व कम्युनिष्ट आन्दोलनमा कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, भि.आई. लेनिन, जोसेफ स्टालिन, माओत्सेतुङ, होचि मिन्ह, चे–ग्वेभारा, चाओ, किम इल सुन लगायतका नेताहरुले मार्क्सवादी व्यवहार र कम्युनिष्ट नैतिकताबारे प्रशस्तै व्याख्या गरेका छन्, त्यसमध्ये सिद्धान्त, धर्म, संस्कृति र पक्षधरताबारे कार्ल मार्क्स र व्यवहारिक गतिविधिबारे माओत्सेतुङले धेरै सटिक ढङ्गले व्याख्या गरेका छन्।

एउटा असल कम्युनिष्ट कस्तो हुन्छ, उसले परिवार, समाजदेखि राष्ट्रिय जिम्मेवारीसम्म गर्ने व्यवहार कस्तो हुन्छ ? एउटा कम्युनिष्टले धर्म, संस्कृति, परम्परा र संस्कारहरुबारे कसरी सोच्दछ ? चिन्तनदेखि व्यवहारसम्मका श्रृङ्खलामा उसले आफूलाई कता र कसरी उभ्याउँछ ? कम्युनिष्टहरु जनमतमा शक्तिशाली भएर पनि संस्कृति र आचरणमा स्खलित भएको बेला यसबारे थोरै चर्चा गरौं।

पहिलो, कम्युनिष्टहरु भौतिकवादी हुन्छन्। उनीहरु हरेक कुरा विज्ञानको कसीमा जाँच्ने कोशिस गर्दछन्। कम्युनिष्टहरु ईश्वर, धर्म, पूर्वजन्म, पूनर्जज्म, स्वर्ग, नर्क, परलोक, बैकुण्ठबासजस्ता काल्पनिक मान्यताको विरोध गर्दछन्। एउटा सच्चा कम्युनिष्टले त्यो कुरा मात्र मान्दछ, जुन विज्ञानको प्रयोगशालाबाट प्रमाणित भएको हुन्छ। हामीकहाँ भौतिकवाद र आध्यात्मिक चिन्तन मिलाएर छुट्टै दर्शन बनाउने वकालत र अभ्यास गरेको पाइन्छ, जुन मार्क्सवाद होइन, पूँजीवादकै अपवित्र सन्तान मात्र हो।

दोस्रो, कम्युनिष्टहरु द्धन्द्धवादी हुन्छन्। द्धन्द्धवादले हो पनि भन्छ, होइन पनि भन्छ। हरेक वस्तु, घटनाक्रम र समाजका प्रत्येक घटनालाई सकारात्मक र नकारात्मक कोणबाट विश्लेषण गर्नु द्धन्द्धवाद हो। द्धन्द्धवादले कुनै पनि वस्तु, घटना वा व्यक्तिलाई सतप्रतिशत सही वा सतप्रतिशत गलत मान्न सक्दैन। प्रत्येक वस्तु, घटना वा व्यक्तिमा केही राम्रा र केही नराम्रा गुण हुन्छन्। हामीले राम्रा र नराम्रा गुणहरुको तुलनात्मक अध्ययन गर्नुपर्दछ, अनि राम्रा र नराम्रा गुणमध्ये कुन गुण बढ्ता छन्, त्यसकै आधारमा निष्कर्ष निकाल्नुपर्छ। तर, नेपालका कम्युनिष्टहरुमा एउटा कुनै कुरा चित्त नबुझे त्यसलाई पूर्णतः गलत र एउटा गुण राम्रो लागे त्यो पूर्णतः ठीक ठान्ने प्रवृत्ति छ, त्यो द्धन्द्धवाद होइन, अधिभूतवाद हो।

तेस्रो, कम्युनिष्टहरु आलोचनात्मक र क्रान्तिकारी हुन्छन्। एक पत्रकारले मार्क्सलाई सोधे, ‘तपाईलाई सबैभन्दा मनपर्ने शुत्रवाक्य के हो ?’ मार्क्सको जवाफ थियो, ‘हरेक कुरामाथि शंका गर।’ आलोचनात्मक चेतबाट कुनै पनि वस्तु वा घटनाक्रमको अध्ययन गर्नु मार्क्सवाद हो। तर, त्यो आलोचना ध्वंशका लागि होइन, सिर्जनाका लागि हुनुपर्छ। त्यो आलोचना अग्रगति र सामाजिक रुपान्तरणका लागि हुनुपर्छ। तर, हामीकहाँ मन परे अन्धसमर्थन र मन नपरे ज्यान फालेर विरोध गर्ने प्रवृत्ति संस्कृतिकै रुपमा हुर्किएको छ, जुन मार्क्सवादी मान्यताभित्र पर्दैन।

चौंथो, कम्युनिष्टहरु नास्तिक हुन्छन्, उनीहरु कुनै पनि धर्मको पक्ष वा विपक्षमा उभिँदैनन्। कार्ल मार्क्सले धर्मलाई अफिमसँग तुलना गरे। धर्मबारे मार्क्सका ५ मान्यता छन्, १. कम्युनिष्टहरुले धर्म मान्दैनन्, २. कम्युनिष्टहरु कुनै धर्मको पक्ष वा विपक्षमा उभिँदैनन्, ३. कम्युनिष्टहरु धार्मिक गतिविधिबाट अलग रहन्छन्, ४. कम्युनिष्टहरुले जनताको धार्मिक आस्थामाथि बलपूर्वक हस्तक्षेप गर्दैनन् र ५. जनतालाई धार्मिक जडताबाट क्रमशः बुझाउँदै अन्ततः भौतिकवादी दर्शनमा लैजान्छन्।

तर, नेपालका कम्युनिष्टहरुमा धर्मबारे सबैभन्दा गञ्जागोल धारणा पाइन्छ। हामी धर्मनिरपेक्ष देशमा छौं। तर, एकथरिले यसको अर्थ हिन्दू छोडेर क्रिश्चियन हुनु ठान्दछन्, ठानिरहेका छन्। अर्कोथरि, प्रलोभनमा पारी क्रिश्चियनहरु बढाएको भन्दै हिन्दू धर्मको वकालत गरिरहेका छन्। केही यस्ता कम्युनिष्ट नेता–कार्यकर्ता छन्, जसले धर्म र संस्कृतिको भेद बुझ्दैनन् र संस्कृति भन्दै धर्मको रक्षा गरिरहेका छन्। कतिले जनताको आस्थाको सम्मान भन्दै धार्मिक भुलभुलैयामा फसिरहेका छन्। यी कुनै पनि गतिविधि मार्क्सको धर्मसम्बन्धि व्याख्यासँग मेल खाँदैनन्।

पाँचौं, कम्युनिष्टहरु रुढीवाद र अन्धविश्वासका विरोधी हुन्छन्। उनीहरु बोक्सी, भूतप्रेत, ईश्वर लगायत कुनै पनि अलौकिक शक्तिमा विश्वास गर्दैनन्। आफ्ना पूर्खाहरु मरेपछि बैतरणी तर्ने, स्वर्ग वा नर्क जाने कुरामा विश्वास गर्दैनन्। बरु, त्यसको स्थानमा प्रगतिशील संस्कार र मान्यता स्थापित गर्ने प्रयत्न गर्दछन्। तर, हामीकहाँ बिरामीलाई अस्पताल नलगेर धामी–झाँक्रीकहाँ लैजाने, मान्छे मरेपछि गौदान लगायतका दान गर्ने, पितृका नाममा पिण्ड दिने, अनि आफूलाई सच्चा कम्युनिष्ट भन्नेहरुको कमि छैन। भूतप्रेत मन्साउने, ग्रहदशा हेराउने र काट्नेहरु आफूलाई छाती खोलेर कम्युनिष्ट भन्दछन्, मार्कसवादी सिद्धान्तअनुसार उनीहरु कम्युनिष्ट होइनन्। बरु, आध्यात्मिक दर्शनका अनुयायी मात्र हुन्।

छैटौं, कम्युनिष्टहरु विज्ञान र अन्वेषणमा विश्वास गर्दछन्। उनीहरु हरेक विषयमा प्रश्न गर्दछन्। कुनै पनि कुराको वैज्ञानिकता पुष्टि हुन प्रयोगशालाको नतिजा खोज्दछन्। मार्क्सवादले ब्रह्माण्डका कैयौं कुराको अन्वेषण हुन बाँकी नै रहेको तथ्यलाई स्वीकार गर्दछ। तर, कहिल्यै पनि काल्पनिक कुरामा विश्वास गर्दैनन्। कतिपयले मानव मस्तिकको क्षमता, भावना र मानिसको श्वासप्रश्वास प्रक्रियाको जटिलतालाई अलौकिक शक्तिसँग जोड्ने प्रयत्न गर्दछन् र कम्युनिष्टहरु त्यसको रनभुल्लमा पर्दछन्। तर, मार्क्सवादले त्यसमा पनि तथ्यको खोजी गर्दछ।

सातौं, मार्क्सवादी सिद्धान्तले पदार्थ नै सार्वभौम रहेको मान्यता राख्दछ। हरेक वस्तु, घटनाक्रम र व्यक्तिलाई हेर्ने विश्वमा मूलतः २ दृष्टिकोण छन्, जसलाई विश्वदृष्टिकोण भनिन्छ। विश्वदृष्टिकोणका सन्दर्भमा विश्व २ प्रश्नका वरिपरि घुमिरहेको छ, १. पदार्थबाट चेतनाको निर्माण हुन्छ कि चेतनाबाट पदार्थको निर्माण ? २. विश्वका सबै वस्तु र घटनालाई बुझ्न सकिन्छ कि सकिँदैन ? मार्क्सवादी दर्शन (भौतिकवाद) ले भन्छ, ‘१. पदार्थबाट नै चेतनाको निर्माण हुन्छ, २. विश्वका हरेक कुरालाई बुझ्न सकिन्छ। तर, त्यसलाई विज्ञानको सहायताले अन्वेषण गर्ने जटिल प्रक्रिया सन्निहित हुन्छ। जुन कुरा आध्यात्मिक चिन्तनले मान्दैन। विज्ञानद्वारा प्रमाणित तथ्यलाई नमानेर नेपालका कम्युनिष्टहरु गुगल व्वाई र बाबाहरुको शरणमा पर्दै आएका छन्, जुन मार्क्सवादी सिद्धान्तको पूर्णतः विपरित छ।

आठौं, कम्युनिष्टहरु कुनै बहादुर, वीर वा शक्तिमा विश्वास गर्दैनन्, जनतामा विश्वास गर्दछन्। माओत्सेतुङको भाषामा ‘इतिहासका निर्माता जनता हुन्।’ माओ यतिमै रोकिँदैनन्, उनी थप्छन्, ‘जनता पानी हुन्, अनि कम्युनिष्ट पार्टी माछा, पानीबिना माछाको अस्तित्व असम्भव छ।’ जनताले चाहेमा इतिहास बदल्दिन सक्छन्। जनता नै सार्वभौम हुन्छन्। हरेक अग्रगति वा अधोगतिमा जनताको भूमिका नै निर्णायक हुन्छन्। त्यसकारण कम्युनिष्टहरुले जनताको जनमतको सधैं सम्मान गर्नुपर्छ। तर, हामीकहाँ जनता एकथोक चाहन्छन्, शासक र नेता अर्कोथोक। जुन मार्क्सवादी सोचाइ र व्यवहार होइन।

नवौं, कम्युनिष्टहरु नीजि सम्पत्तिका विरोधी हुन्छन्। मार्क्सवादी सिद्धान्तको अन्तिम लक्ष्य हो सत्ताको अन्त्य। कम्युनिष्टहरुले परिकल्पना गरेको साम्यवादी सत्तामा धनी र गरीबको भेद हुँदैन, गाउँ र शहरको भेद हुँदैन, शारीरिक श्रम र मानसिक श्रमको भेद हुँदैन। साम्यवाद त्यस्तो आधुनिक समाज हो, जहाँ मानिसहरु स्वतन्त्र रुपले उच्च नैतिक धरातलमा रहन्छन्, त्यहाँ कसैले कसैमाथि विभेद गर्दैन, त्यहाँ वर्ग हुँदैन, त्यहाँ सेना, प्रहरी, अदालतजस्ता राज्यका मेसिनरी रहँदैनन्। मार्क्सकै भाषा सत्ता केवल दमनको औजार मात्र हो। जहाँ उच्च नैतिकता र समानता सहितको समाज रहन्छ, त्यहाँ कसैमाथि दमनको जरुरत नै पर्दैन।

तर, त्यस्तो समाज कसरी बन्दछ ? पूँजीपति वर्गविरुद्ध सङ्घर्ष गरेपछि समाजवादी सत्ताको स्थापना हुन्छ। तर, क्षणिक रुपमा पराजित पूँजीपतिहरु आफ्नो नीजि सम्पत्ति फर्काउन अन्तिमसम्म लडिरहन्छन्। त्यतिबेला कम्युनिष्टहरुसँग सत्ताको हतियार चाहिन्छ, जुन हतियार पूँजीवाद फर्काउन चाहने पूँजीपति वर्गका विरुद्ध प्रयोग गरिन्छ। तर, पूँजीवादीहरु पार्टी बाहिर मात्र रहँदैनन्, कम्युनिष्ट पार्टीभित्र पनि हुन्छन्, तिनीहरु समाजवादका विरुद्ध उभिन्छन्। अनि, सत्तामा पुगेपछि सत्ताको दुरुपयोग गर्दै केही नेता–कार्यकर्ता पूँजीवादी कित्तामा जान्छन्, उनीहरु पनि समाजवादका विरुद्ध उभिन्छन्। तसर्थ, कम्युनिष्टहरुले पार्टीभित्र र बाहिरका पूँजीवादीहरुसँग लडिरहनुपर्छ, व्यक्तिगत सम्पत्तिको विरोधमा उभिनुपर्छ।

दशौं, कम्युनिष्टहरु अन्यायका विरोधी हुन्छन्। उनीहरुले न्याय हेर्छन्, आफन्त वा निकटता हेर्दैनन्। तर, हामीकहाँ न्यायलाई आफूअनुकूल परिभाषित गर्ने महामारी बढिरहेको छ। कम्युनिष्टहरुले कुनै पनि धर्म, समुदाय, जाति, क्षेत्र, वर्ग र लिङ्गमाथि हुने अन्यायको विरोध गर्दछन्। तर, हामीकहाँ महिलाले महिला अधिकार खोज्ने तर दलितमाथि हेयको दृष्टिले हेर्ने, जनजातिले जनजाति अधिकारको कुरा गर्ने तर जनजातिकै महिलामाथि अन्याय गर्ने, खस–आर्यले गरीबीको कुरा गर्ने तर आफूले गरेको उत्पीडनको अनुभूति नगर्ने रोग छ, जुन मार्क्सवादी मान्यताको विरुद्ध छ। कम्युनिष्ट सिद्धान्तले मानव जातिबीच पूर्णतः न्याय र समानताको वकालत गर्दछ।

एघारौं, कम्युनिष्टहरु भीडमा होइन, सत्यमा विश्वास गर्दछन्। कम्युनिष्ट सिद्धान्तको एउटा बलियो शर्त छ, ‘अल्पमत होस्। तर, सत्यको बाटो नछोड। तिमीसँग सत्य छ भने त्यो एकदिन शक्तिमा बदलिन्छ।’ लेनिनको भाषामा ‘प्रतिकूलताभित्र अनुकूलता खोज्नु’ नै मार्क्सवाद हो। सत्य भुलेर भीडको पछि लाग्नेहरु कम्युनिष्ट हुन सक्दैनन्। त्यो मात्र असल कम्युनिष्ट हो, जसले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सत्यको वकालत गर्दछ।

बाह्रौं, कम्युनिष्टहरुले धर्म र संस्कृतिलाई एक–अर्काका पूरक ठान्दैनन्। धर्म र संस्कृतिबीच सम्बन्ध हुन्छ। तर, एउटै चाहिँ होइनन्। धर्म कुनै अलौकिक शक्ति र दर्शनप्रतिको अन्ध समर्थन हो, जुन परिवर्तन हुँदैन। तर, संस्कृति समकालीन समाजको आर्थिक–सामाजिक परिस्थितिको उत्तरदेन हो, त्यो सधैं गतिशील हुन्छ। धर्म कम्युनिष्ट पक्षधर वा विरोधी हुँदैन। तर, संस्कृति प्रगतिशील वा रुढीवादी हुन सक्छ। तसर्थ, कम्युनिष्टहरु हरेक वस्तु र घटनाक्रमभित्र रहेको धार्मिक पक्षमा अलग रहन्छन्, प्रतिगामी संस्कृतिको विरोध गर्दछन् र संस्कृतिका प्रगतिशील पक्षको वकालत गर्दछन्।

तेह्रौं, कम्युनिष्टहरुले सांस्कृतिक रुपान्तरण बिना राजनीतिक रुपान्तरण टिक्न नसक्ने मान्यता बोक्दछन्। जुनकुनै राजनीतिक व्यवस्था पनि प्रगतिशील संस्कृतिको जगमा उभिएको छैन भने त्यो एकदिन ढल्छ नै। हामीकहाँ राजनीतिमा प्रगतिशील विचार बोकेपछि संस्कृति किन चाहियो ? भन्ने मत पनि बलियो बन्दै गएको छ, जुन मार्क्सवाद होइन। मार्क्सवादी मान्यताले समाज, वस्तु र घटनाक्रमको तीन तरीकाले विवेचना गर्दछ, १. त्यो भौतिकवादी छ वा छैन, २. त्यसका सकार र नकार के–के छन् र ३. त्यो कुन ऐतिहासिक तथ्यमा उभिएको छ ? मार्क्सवादले हरेक कुराको विश्लेषण उल्लेखित ३ आधारमा गर्न जोड दिन्छ।

चौधौं, मार्क्सवादले सत्य, शिवम्, सुन्दरमलाई नै मार्क्सवादी सौन्दर्यशास्त्र ठान्दछ। हरेक वस्तु वा व्यक्तिलाई रुपका आधारमा होइन, गुणका आधारमा मूल्याङ्कन गरिनुपर्दछ। तर, नेपालका कम्युनिष्टहरुले खुलेआम सुन्दरी प्रतियोगिताको वकालत गर्ने गरेका छन्। मार्क्सवादले वर्णको होइन, विचार र व्यवहारको सुन्दरता खोज्दछ। मार्क्सवादी सौन्दर्यशास्त्रका दृष्टिमा हरेक वर्ग, जाति, लिङ्ग वा समुदायको आफ्नै सौन्दर्यशास्त्रीय मान्यता हुन्छ, जुन अरुको तुलनामा फरक हुन सक्छ।

नेपालमा कुनै सिद्धान्त र आचरणको अनुशरण गर्ने मान्छे नै छैनन् भन्ने होइन। तर, अल्पमतमा छन्। राजनीतिक कार्यदिशा र कार्यनीतिको मुद्दामा बहस गरे पनि उल्लेखित विषयहरु मार्क्सवादका आम सत्य हुन्, जुन हाम्रो दैनिक जीवनमा प्रयोगमा आउँछन्। उल्लेखित विषयलाई मात्र मनन् गरेर अगाडि बढ्न सक्ने हो भने नेपालका कम्युनिष्टहरुले आफूलाई अब्बल राजनीतिक शक्तिका रुपमा जनतामा जरो गाड्न सक्दछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्