यी बलात्कृत आँसुका मूलहरु
अनि मात्र अस्थिपञ्जर बाहेक
अरु के नै छ र मसँग ?
म किन रातभरि चिच्याइरहन्छु ?
आमाको काख र
न्यानो छातीमा टाउको लुकाउनु अगावै
सडकका नालीहरुमा
अनायास चिच्याइरहन्छु म
आमा… आमा…..
मध्यरातमा,
जब मेरो आँखै अगाडि
हजार मुर्कुटाहरुको सुनिन्छ कुटिल हाँसो
म गरुडको छत्रछायाँमा परेको सापझैं लट्पटिएर
एक्कासी चिच्याउन पुग्छु बचाउ….बचाउ……!!
अपहरित भएपछि स्वयम्
मेरो चित्कार सुनिदिने भगवान् नै
के लाग्दो रहेछ र
निष्प्राण हुन लागेकी एउटी अबलाको ?
बिच सडकमा ओछ्याएर
मेरो अर्ध चेत शरीर
तिनीहरु निस्फिक्री बाँधिदिन्छन् मुखमा पट्टी
र आवेगको हावाले मुसारिरहन्छन् मेरो गाला…
म मेरो आकाशमा
मसानजस्तै काला बादलका धब्बाहरु
यताउता मडारिरहेको देख्छु
उनीहरु रहरका फिताले
तल – माथि
लम्बाई – चौडाई
उचाई – मोटाई
नापिरहन्छन् मेरो चौबन्दी र फरिया !
हिजोको यो दुर्लभ कथा
आज फेसन भइसकेको छ
अनि कसरी थाहा होस्
मलाई जन्म दिने मेरा बाबुआमालाई
यी आँखामा के का आँसु बगिरहेछन्
अनि कसरी थाहा होस्
मलाई कखरा सिकाउने गुरुहरुलाई
मेरा ओठहरु बोल्न नसक्नुको पीँडा
कसरी बुझुन् मेरा साथीसङ्गीले
किन बढिरहेछ मुटुको ढुकढुकी ?
कसरी जानोस् यो पाखण्डी समाज
कस्ले मेट्दैछ सभ्यताका प्रतीकहरु ?
सुन ए कान खोलेर सुन,
मान्छेको खोल ओडेका मसानहरु हो
आज रगताम्मे हातहरु लिएर
तिम्रो यो मसान घाटबाट
एउटा मुर्दा ब्युँतिएको छ !
मलाई, चिहान उत्खनन गर्ने इजाजत देऊ
म प्रत्येक चिहानबाट
जीउँदा मृत्युहरु निकाल्नेछु…!
–बि.एन ढकाल
अरुण गाउँपालिका–५, भोजपुर ।



लाेकपाटी न्यूज

