मठमन्दिरमा मागेर बस्नु बाध्यता कि व्यवसाय ?

Sachindra Shrestha
लेखकः सचिन्द्र श्रेष्ठ
लाेकपाटी न्यूज

–सचिन्द्र श्रेष्ठ
हिजो मात्रै बागलुङ कालिका भगवती मन्दिर वरपर भीख मागेर बस्ने जोगी, असहाय ,अपाङ्ग सबैलाई हटाएको खबर एकाएक सामाजिक सञ्जालमा भाइरल नै बन्न पुग्यो। सर्वप्रथम बुझ्न जरुरी यो छ कि आखिर किन माग्नेहरुको भीड मन्दिरमा नै बढी हुन्छ त ? के मन्दिरमा माग्न बस्नु गलत हो ? मन्दिरमा नै माग्न बस्नुले दर्शनार्थी तथा मन्दिर व्यस्थापनलाई असर गरेको छ या छैन ? मन्दिरमा नै माग्न बस्नेले केही राहत या बाध्यतामा बस्ने अवस्था सिर्जना भएको त छैन ? पहिले यस बिषयमा केन्द्रित हुनु आवश्यक छ।

विशेष गरी भन्ने हो भने काठमाडौंमा अवस्थित पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको अवसर पारेर वर्षेनी लाखौं साधूसन्त, तिर्थयात्री र जोगीहरुको छिमेकी मुलुक भारतदेखि ठूलो मात्रामा लर्को लाग्ने गरी बोलाउने गर्दछ। तर, त्यही क्रियाकलाप बागलुङ कालिका मन्दिरमा व्यवस्थापन समितिले प्रहरी प्रशासनको आडमा गलत्यार निकालिरहेको देख्न पाइयो। जबसम्म उनिहरुको सही व्यस्थापन हुन सक्दैन, तबसम्म यसरी निकालनु पक्कै पनि सही होइन।

मन्दिरमा बसेर माग्नु, पूजा गर्नु सबैलाई जायज छ । तर, गलत नियत जो आफू हट्टाकट्टा छ, खरानी लगाएको भरमा आफूलाई योगी सम्झिन्छ, दिनभर चामल, पैसा संकलन गर्छ र रात परेपछि भट्टीमा गएर रक्सी धोक्छ, नशालु पदार्थ प्रयोग गरेर मन्दिर वरपर अश्लील क्रियाकलाप गर्छ भने त्यस्तो व्यक्तिलाई कारबाही या मन्दिरदेखि नै बहिष्कार गर्नु सही ठान्नू पर्दछ।

हिन्दु धर्मं मान्ने हिन्दु धर्मवलम्बी, जहाँ मठ, मन्दिर, सत्तल रहेको छ त्यस ठाउँमा बसेर माग्ने जहीँतहीँ भेटिन्छ र माग्न जायज ठान्दछ । र, त्यहाँ दर्शन गर्न आउने जो कोहीले पनि चामल, अक्षेता, पैसा चढाउने गर्दछन् ताकि दानबाट पुण्य मिलोस्। तर, त्यसको गलत फाइदा अन्य जोगीको भेषमा आउनेले लिने गर्दछन्। मन्दिरमा माग्ने अपाङ्ग, असहायलाई भने मागेकै भरमा आफ्नो ज्यान तथा रोजीरोटी चलेको हुन्छ यसको प्रत्यक्ष असर उनिहरुले पनि भोगेका हुन्छन् ।

प्रसङ्ग हो १ महिना पहिले पंक्तिकार नै बागलुङ कालिका भगवती मन्दिर परिसरमा देखेको अर्को पाटो पनि कुनै जोगी या साधु सन्तको भन्दा फरक पक्कै नहोला। जहाँ मन्दिर वरपर ग्रह दशा, टार्ने भनेर धेरै पण्डितहरुको खींचातानी नै हुने गर्छ। अझ भनु भने त आफूले स्वयं पण्डित लगेर गएको छैन भने त लाइन नै लगाउनु पर्ने अवस्था आउने रहेछ। पूजा गर्न सत्तल नपाएर मन्दिरको अन्य भाग या बाटोमा गएर ग्रह दशा टार्नु पर्ने रहेछ। रमाइलो पक्ष यो छ कि अझ पण्डितहरु चामल, पैसा, दूना टपरी चाँडो टिप्न छिटो–छिटो मन्त्र पढेर आफ्नो मानो सोझाउन १ घण्टामा ४ जनासम्मको सम्पूर्ण सबै रित सक्ने काम सकिएको पाइयो। यो खालको धन्दा गरेर पण्डित एवं माग्न बस्नेहरुले कमाउने व्यवसाय नै बनाएका छन् यसलाई सही तरिकाले अंकुश लगाउनु सक्नु पर्दछ।

हुन त यो प्रत्यक्ष देखेको घटनाको कुनै पण्डित या माग्न बस्नेलाई कटाक्ष मात्र हो, जसले हतार हतारमा पूजा सम्पन्न गरी फाइदा उठाउने गर्छ र आफूलाई महान पण्डित भनेर भन्ने गर्छन् जसले यस्तो तरिकाले कर्मकाण्ड पूजा सम्पन्न गरेको छ त्यसको पुण्य, धर्म उसले नै पाउने न हो। यस्तो प्रवृति मन्दिर आसपास देखिनुले अन्य जो वास्तविक पण्डित, सन्त, माग्नेहरुलाई पनि गलत छाप पार्न टेवा पुग्ने देखिन्छ।

अब के देखिन्छ भने मन्दिर आसपास चाहे मागेर बस्ने होस् या पूजा अर्चना गराउने पण्डित होस्, यिनीहरुको सही व्यस्थापन गराउने साथै सीमित जोगी या जो वास्तविक अंगभङ्ग, असहायलाई मात्र त्यहाँ बस्न स्वीकृत दिने वा मन्दिरको भोग चलन गरे बापत शूल्क, कर लिन सक्यो भने पनि यसले व्यस्थापन समितिलाई फाइदा पुग्ने र माग्न बस्नेलाई पनि कुन प्रकारका जोगी, असहाय, अपाङ्ग, असक्षम छन् त्यसको पहिचान गर्न सहज हुने गर्दछ । किनकी मठ मन्दिर विशुद्ध सार्वजनिक स्थल हो, जहाँ जो कोही पनि आउन र जान सक्छ। तसर्थ, सही व्यस्थापन हुनु आवश्यक छ । जसका कारण मन्दिर र दर्शनार्थीलाई हानी नहोस् । किनकी यो तपाई हामी सबैको साझा सम्पति हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्