काठमाडौं, १६ साउन। अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिद लादेनको मृत्यु भएको छ।अमेरिकी गुप्तचर अधिकारीहरुले हम्जाको मृत्यु भएको दाबी गरेपनि कहाँ कसरी मृत्यु भएको हो भन्ने खुलाएका छैनन्।
गत फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो। साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो।
करिब ३० वर्षको भएका ठानिएका हम्जा बिन लादेन अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेको बीबीसीले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने यो विषयमा बोल्न चाहेनन्। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि यसबारे कुनै टिप्पणी गरेका छैनन्। हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए।
अल कायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको भीषण आक्रमण हमलामा जिम्मेदार समूह हो। ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए।



लाेकपाटी न्यूज

