– शिवजी तिवारी
काठमाडौं । नेपालमा वर्तमान शताब्दीमा पटक–पटक जनआन्दोलनहरु भए । फलस्वरूप जनताले पूँजीवादी भए पनि गणतन्त्र नेपालको नागरिक बन्ने अवसर प्राप्त गरेका छन् । सामन्ती घेराबाट मुक्त हुन नसके पनि जनताको छोराछोरी राज्यको सबै निकायमा पुग्न सक्ने संवैधानिक व्यवस्था भएको छ । र, संविधानमा नै समाजवाद शब्दको प्रयोग भएको छ ।
सबल वैज्ञानिक समाजवाद नै जनमुक्तिको लक्ष्य हो भन्ने विषयमा पुरै नपाली समाज एकमत भएको महान् ऐतिहासिक यथार्थता हाम्रो सामु स्थापित भएको छ । यो महान् ऐतिहासिक यथार्थता, पूँजीवादी तथा सामन्ती संरचना विरुद्ध विद्रोह गर्न सबै शोषित र श्रमजीवी जनतालाई निरन्तर आह्वान पनि हो ।
हुन त अमेरिकी साम्राज्यवादी, भारतीय विस्तारवादी तथा चिनियाँ अनुदारवादी विदेशी नितिले प्रत्यक्ष रूपले हाम्रो बाटो सहज नहुने स्पष्ट छ । तर, जुनसुकै देश कस्तो हुने र के हुँदा आफ्नो दीर्घकालीन हित हुन्छ भन्ने कुराको छिनोफानो जनताद्वारा नै भइरहेको इतिहास छ । बरु स्पष्ट रोडम्याप लिएर अगाडि बढेका कैयन् मुलूकहरुले स्वशासनद्वारा पूँजीवादी–सम्राज्यवादी कैदबाट मुक्त पारेर समाजवादी विश्वको सीमानालाई विस्तारित पारेको इतिहास छ ।
नेपालले औपनिवेशिक हुनु नपरेको इतिहास भएपनि जनताहरूले खुल्ला सशस्त्र विद्रोहको बाटो बारम्बार लिनुपर्ने बाध्यात्मक अवस्था आएको तितो यथार्थ सर्वविदितै छ । विश्वमा पूँजीवादको उग्र विकास भइरहँदा समाजवादी आन्दोलन गम्भिर खतरामा परेको छ । तथापि विषम परिस्थितिमा पनि संविधानमा नै समाजवाद शब्द राखेर अगाडि बढ्नु नै एउटा ऐतिहासिक साहस र प्रगति हो।
लामो समयको सङ्क्रमणकाल पश्चात् देशले दुईतिहाइको नेपाल कम्युनिष्ट पार्टीको स्थिर सरकार प्राप्त गरेको छ। “समृद्ध नेपाल : सुखी नेपाली” को नाराले जनमत त प्राप्त गरेको छ। तर, समृद्धिको निम्ति खास विकासको मोडेल के हुने भन्ने विषयमा छलफल र बहस भएको पाइँदैन ।
हाम्रो भूगोल र विश्व परिवेश अनुरुप कुन किसिमको विकासलाई प्राथमिकता दिने हो ? केलाई राष्ट्रिय उत्पादानको रुपमा विकास गर्ने हो ? हाम्रो उत्पादनले के अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्छ त ? वर्तमान आर्थिक नीति के सही छ त ? यी र यस्ता विषयमा बहस र छलफल अगाडि बढाउन आवश्यक छ । साथसाथै विकास के हो ? के कुरालाई विकास भन्ने ? के काम भएपछि विकास हुन्छ ? विकास सापेक्ष कि निरपेक्ष ? हाम्रो मुलूकलाई तेस्रो दर्जामा राखेर कथित विकसित मुलूकहरुका लागि दक्ष जनशक्ति उपलब्ध गराइरहँदा यसको समाधानको उपाय के हो ? यी र यस्ता प्रश्नको उत्तर हामी सबै चाहन्छौं नै । तर, खास अर्थमा उत्तर पाएर हो या पाउने आशा नभएर यी प्रश्नको सन्दर्भमा बहस तथा छलफल भएको पाइँदैन ।
हुन त रफ्तारी दुनियाँमा कसैलाई फुर्सद नै कहाँ छ र यहाँ विशेष छलफल बहस बिनासित्तिमा गर्ने ! बहस गर्न नै छ भने एनजीओ आइएनजीओको आयोजनामा केही भत्ताको साथमा लन्च डिनर हुनैपर्छ नि हैन र ? सामान्य अर्थमा विकास भन्ने बित्तिकै हाम्रो दिमाखमा चिल्ला सडक बनाउने, कंक्रिटका भवन बनाउने, बढी मात्रामा यातायातका साधन उत्पादन गर्ने, हातहतियार उत्पादन गर्ने भन्ने आउने गर्दछ ।
साँचो अर्थमा विकास यही हो त ? माथि उल्लेखित कार्यबाट उत्पादित धूवाँ, धुलो र कार्बनडाइअक्साइड, युद्ध, मानिसहरुको साधनिकीकरण चाहिँ के हुन् ? कि यो पनि विकास नै हो ? सामान्य चिया पसलमा विकासका बारे, विज्ञानका बारे छलफल गर्यौं भने हामी त्यस्ता देशलाई विकसित भन्ने गर्दछौं, जहाँ विज्ञान र विकासका नाममा एटम बम, आणविक भट्टी र अत्याधुनिक हतियार बनाउने कार्यहरु संचालित छन् ।
तर, ध्वंसलाई बढावा दिने क्रियाकलापलाई विकास भन्नै मिल्दैन । विकास कसैको देखासिखीबाट कदापि हुनसक्ने विषय हुँदै होइन, विकास भौतिक वस्तु मात्र पनि होइन । यो त स्वच्छ हावा हो, पानी पनि हो । विकास भनेको धर्तीका सबै जीवहरूको जिउन पाउने अधिकार पनि हो । विकासका नाममा क्लोरोफ्लोरो कार्बनडाइअक्साइड लगायत घातक तथा विषाक्त ग्यास र विकिरणहरू उत्पादन गरेर सेता हिमाल पगाल्न, जीवहरूको नाश गर्न हामी कसैलाई पनि छुट छैन । अबको विकासले यस्ता एजेन्डाहरूको उठान गर्नुपर्छ जसले मानव जातिको मात्र नभई समग्र ब्रह्माण्डको र यस ब्रह्माण्डमा बसोबास गर्ने सबै जीवहरूको रक्षा गर्न सकोस्, भलो गर्न सकोस्।
माथि उल्लेखित प्रश्नहरुले के निर्धारण गर्छ भने अहिले पनि नेपाली समाजको विकास निर्ममतापूर्वक दबाइरहेको अवस्था छ । यो थिचोमिचोको विरुद्ध नेपाली जनता आन्दोलित भए तथापि आन्दोलन मात्रै समस्याको समाधान रहेनछ, समाधान त कस्तो नेतृत्वले आन्दोलनको नेतृत्व गर्छ भन्ने बिषय रहेछ। अहिलेका पार्टीहरुमा क्रान्तिकारी वर्ग, मजदूरवर्गको प्रतिनिधित्व यथोचित नहुनु नै यो अवस्थाको कारक हो ।
अब यदि विकास र समृद्धि नै वर्तमान कम्युनिष्ट पार्टीको सरकारले चाहन्छ भने अब नेपाल कम्युनिष्ट पार्टीले श्रमजीवी जनताको समृद्धिको चाहनालाई मूर्त रुप दिन र त्यसलाई दिगो पार्ने कामको नेतृत्व दिने काममा आफूलाई समर्पित गर्नुपर्छ । दलाल तथा सामन्तको अवशेषले यस पार्टीलाई आफ्नो बाटोबाट विचलित पार्न दिनु हुँदैन। अन्य पूँजीवादी तथा निम्न–पूँजीवादी पार्टीहरूले जनताप्रति विश्वासघात गरेकै कारण कम्युनिष्ट पार्टीले वर्तमान अवसर प्राप्त गरेको हो । यसलाई मनन गर्न आवश्यक छ ।
नेपाल कम्युनिष्ट पार्टी मजदूरवर्गको पार्टी, माक्र्सवाद–लेनिनवाद–माओवादको पार्टी हो । यसले ल्याउने जनमुखी कार्ययोजनालाई जनताको साथ सदैव हुनेछ । यसका प्रत्येक कार्यकर्ताले सच्चा स्वतन्त्रता तथा लोक जनवादको लागि संघर्षको अघिल्लो पंक्तिमा उभिएर लडिरहने प्रतिज्ञा गरुन् । आफ्नो घोषणापत्रमा भनेजस्तै नेपाल कम्युनिष्ट पार्टी शोषकहरुलाई ठोक्ने जनताको मुड्की बनोस् । प्रत्येक मजदूरवर्ग, भूमिहीन तथा गरीब किसानहरूका छोराछोरीहरुलाई र जनवादी विद्यार्थी, युवा तथा महिलाहरुलाई नेपाल कम्युनिष्ट पार्टीका जुझारु पंक्तिहरुमा सामेल हुनसक्ने वातावरणको सिर्जना होस् । नारामा भने जस्तै “समृद्ध नेपाल : सुखी नेपाली”ले मूर्त रुप प्राप्त गरोस्, शुभकामना सरकार ।



लाेकपाटी न्यूज

