काठमाडौं, १४ साउन । कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शंकास्पद एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । उच्च स्रोतका अनुसार छिमेकी शोभाकर खनाललाई सिकार खेल्न प्रयोग हुने दुई वटा राइफलसहित मंगलबार मध्याह्न पक्राउ गरिएको हो।
ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर राइफल बरामद गरिएको स्रोतले जनायो। प्रहरी स्रोतका अनुसार दुवै राइफल इजाजत प्राप्त हुन् । घटना अनुसन्धान सिलसिलामा रहेको भन्दै प्रहरी स्रोतले यसबारे विस्तृत कुरा भने खुलाएको छैन।
सोमबार राति शर्माको घरको तेस्रो तलाको झ्याललाई २२ राइफलको दुई एमएम गोलीले छेडेको थियो। २२ र १२ दुवै राइफल सिकार गर्दा प्रयोग गरिन्छ। उक्त राइफलबाट झ्याल छेडेपछि शर्माले प्रहरीलाई खबर गरेका थिए। गोलीले झ्याल छेड्दा शर्माकी छोरी पढिरहेकी थिइन्।
२२ बोर हतियार र कोठामा भेटिएको गोलीको खोका परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाउने तयारी प्रहरीको छ। ‘दुवै लाइसेन्स प्राप्त हतियार हुन्, २२ बोर राइफलबाट गोली चलेको थियो,’ एक प्रहरी अधिकृतले भने। असावधानीका साथ बन्दुक चलाउँदा गोली चलेको हुन सक्ने प्रहरीको भनाइ छ।



लाेकपाटी न्यूज

