नेपाल लोक स्टार : विजेतालाई ५० लाख

लाेकपाटी न्यूज

काठमाडौं, १२ साउन । पहिलो पटक शुरु भएको मौलिक सांगीतिक रियालिटी ‘शो’ ‘नेपाल लोक स्टार’ले आफूले प्रयोग गरेको सम्पूर्ण गीतसंगीतको रोयल्टी प्रदान गर्ने जनाएको छ ।

‘शो’ प्रशारणका क्रममा अहिलेसम्म प्रशारण भएका र अब प्रशारण हुने गीतसंगीतका श्रष्टा तथा सर्जकलाई रोयल्टी प्रदान गरिने आयोजकले जनाएको हाे । टेलिभिजन र युट्युब च्यानल दुबैमा प्रशारण भएको गीतसंगीतको रोयल्टी प्रदान गरिने आयोजक चहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए ।

उनले भने, ‘टेलिभिजनमा प्रशारण भएको संगीत तथा रोयल्टी संकलन समाजलाई दिन्छौं । युट्युबमा प्रयोग गरे बापत पनि हामी सर्जक तथा सम्बन्धीत संस्थालाई रोयल्टी प्रदान गर्ने छौं ।’

कोइरालाले ‘नेपाल लोक स्टार’ले नेपालमा पहिलो पटक युट्युबमा अरुको गीतसंगीत प्रयोग गरे बापत रोयल्टी प्रदान गर्न लागेको दाबी गरे । उनले भने, ‘अहिलेसम्म कसैले पनि नेपालमा युट्युबमा अरुको गीत प्रयोग गर्दा रोयल्टी तिर्ने चलन छैन । तर, हामी यो परम्परालाई तोड्दै रोयल्टी प्रदान गर्दैछौं । यसले अरुलाई पनि झक्झक्याउने हाम्रो विश्वास छ ।’

अहिलेसम्म १० वटा श्रृंखला प्रशारण भएको ‘नेपाल लोक स्टार’ ३६ औं श्रृंखलासम्म प्रस्तुत हुने छ । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

यस्तै, प्रथम हुनेले २५ लाख, दोस्रो हुनेले २० लाख र तेस्रो हुनेले १५ लाख रुपैयाँको सिटिजन लाइफ इन्सोरन्स प्राप्त गर्नेछन् । उत्कृष्ट २५ प्रतिीपर्धीले जनही १० लाख रुपैयाँको सिटिजन लाइफ इन्सोरन्स प्राप्त गर्ने अध्यक्ष कोइरालाले जानकारी दिए ।

‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । एपीवान एचडीबाट ‘नेपाल लोक स्टार’ प्रशारण भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्