- सचिन्द्र श्रेष्ठ
‘ओ भाइ अमेरिका जाने हो, अहिले जान सजिलो र छिटो पनि हुन्छ’ बिहान बिहान सन्तोषको मोबाइलमा कुनै दलालले फोन गर्दछ। ‘कति छ अमेरिकाको लागत ?’ ‘मिलाएर पठाउला नि, के चिन्ता लिनुपर्यो भाइ।’ यो सम्वाद हो दलाल र सन्तोषबीचको, जो आजकल हर कोही सपनाको देश अमेरिका जाने जो कोहीलाई पनि यसरी नै फोन वा सन्देश आउने गर्दछ।
हो, यो नेपालदेखि हुने भारत होस् या दक्षिण अफ्रिका, ताञ्जानिया, केन्या, किर्गिस्तान होस् जहाँतहीँ यो मानव तस्करीको जालो संसारभरि एउटा महामारीको रुपमा फैलिएको छ। सहज जान नसकेपछि मानिसहरू अहिले अबैध रुपमा जाने आउने क्रम बढ्दो छ, विशेष गरी युवा युवतीहरु त झन बढी नै छ अमेरिका जाने यो अहिलेको समयमा। आम मानिसमा बेरोजगारी या अमेरिकामा पाइने सेवा सुविधा, पीआर, ग्रीन कार्ड, सुलभ जीवनयापनको लोभले पनि अमेरिका जाने लहर नै चलेको छ।
भारत, थाइलैण्ड, इक्वेटर, कोलम्विया, पनामा हुँदै मेक्सिकोको कठिन बाटो हुँदै अमेरिका पुग्नु त्यति सहज पक्कै पनि छैन। दिन रात नसुति जंगल, समुन्द्रको भोक प्यास छोडी अमेरिका जाने सपनाको चक्करमा केही महीना पहिले बेनीको एक युवकको ज्यान समेत गएको छ। यसरी यति लामो यात्रामा कति त भोक प्यास साथै समुन्द्रको आँधीमा मर्नेको संख्या अनगिन्ती छ, जसको कुनै रेकर्ड नै पाइँदैन। न त उनीहरुको शव घर नै फिर्ता पठाउन सकिन्छ। अमेरिका जाने कति महिलालाई धम्काएर बलात्कार गर्ने या आश्वासन दिएर फकाई यौन क्रियाकलाप गर्न प्रेरित गर्ने गरेको, जो त्यस्तो महिला बच्चा पेटमा बोकेर यस्तो कठिन यात्रा अनि लाश र पैसाको केही नसोची अमेरिका जानेको कमी पक्कै पनि छैन।
नेपालमा रहेका साहू महाजन भनौं या ठूल–ठूला बैंक, सहकारी पनि रोजगार वा नेपालमा नै केही ब्यबसाय गर्छु भन्दा सहज पैसा दिँदैनन्। तर, अमेरिका जान्छु भन्यो भने महँगो ब्याज लगाई घरखेत, के–के सम्पत्ति छ धितो राखेर पैसा उपलब्ध गराएको पाइन्छ। यस्तो खालको समस्याबाट आम मानिस ग्रसित छन्, न गाउँ न सहर कुनै ठाउँ खाली छैन, आजकल हरेक घरमा एउटै युवा या युवती भेट्न सकिन्न, बुढापाकाले घर सम्हालेको अवस्था छ।
स्वदेशमै रोजगारीको अवसर नहुँदा मौलाएको मानव तस्करीमा संलग्नहरुलाई गाउँघर समाज र तिनै समाजमा बस्ने मै हुँ भन्नेहरुले पनि देखेको नदेखेझैं गर्दा, खासै चाँसो नदिँदा पनि राजनीतिक आडमा यस्ता मानव तस्करहरु दिनहुँ लाखौं लाखको कारोबार अवैध रुपमा गरिरहेका छन्। धौलागिरी क्षेत्रको कुरा गर्ने हो भने कुश्मा बाग्लुङ, म्याग्दी र आसपासमा दिनहुँजसो घर घरमै पुगेर अमेरिका लैजान्छु भन्दै पासपोर्ट माग्न हिंड्नेको ठूलै समूह सक्रिय छ।
उचित दण्ड र सजायको कमी एवं पैसा र राजनीतिक संरक्षणले गर्दा सबैलाई थाहा हुँदा पनि स्थानीय स्तरमा त्यस्ता मानव तस्कारहरु खुलेआम हिडिरहेका छन्। कुश्मा बजारकै कुरा गर्ने हो भने एक घर एक व्यक्ति नै मानव तस्करको छायाँमा अबैध बाटो हुँदै अमेरिका र क्यानाडाजस्ता देशमा पुगेको देख्न सकिन्छ।
२५–३० लाखमा डिल गरेर पनि अन्तिममा ५–७ छुट्टै असुल्ने, घर परिवारमाथि पनि बिभिन्न दबाब र झुट्टा आश्वासनले दिनहुँ सास्ती र ठगी गर्ने त्यस्ता मानव तस्करविरुद्द अहिलेसम्म केही ठूलो सजाय र कदम चालेको जस्तो देखिँदैन। सबै मौन या बेखबर जस्ता देखिन्छन। मानव अधिकारवादीहरु पनि अबैध बाटोबाट बिभिन्न झुट्ट कुरामा पारेर ४०–५० ठगी गर्ने गिरोहले बाटोमा दिने पीडा र दुःखको बारेमा शायद ज्ञात नै हुनुपर्छ। तर, त्यस विषयमा खासै बोलेको कहीँ देखिदैन।
मानव तस्करीमा अहिले नेपाली कला क्षेत्र पनि अछुत छैन भनेर फरक नपर्ला। केही समय पहिले राजेन्द्र खड्की जेल परिसकेका छन् भने अर्का निर्देशक सुदर्शन गौतमविरुद्ध छानबिन चल्दै आएको छ। बागलुङका सागर श्रीस (४४ जनाको ६५ लाख) म्याग्दीका लेक पुन (२२ जनाको ६४ लाख) पनि संलग्न देखिन्छ।
यो खालका तस्करीमा ठूलाबडाको आशिर्वाद, पहुँचवालाको मनोमानी, राजनीतिक र पैसाको खेलले यस्ता क्रियाकलापमा संलग्नको अहिलेसम्म कुनै कारबाही र सजाय भोगेको पाइँदैन। पैसा र पावरको दबदबा रहेको यो हाम्रो समाज आम मानिस पैसा र ठूलो सपना देखने सोचमा हरेक घरले जायजेथा र ज्यान समेत फाल्नु परेको छ।
यो समस्या कहिलेसम्म हाम्रो समाज र देशले भोग्नु पर्ने हो, जसको कुनै जवाफ नै छैन, न कुनै प्रहरी, प्रशासनको दम नै छ। मुखदर्शक जस्तो भएर बसेको छ सरकार। यसको समस्यामा आम मानिस जबसम्म सुरक्षा, अभियोजन, रोकथाम, भागीदारीजस्ता कार्यको सोच लिएर अगाडि बढ्दैन, तबसम्म यो मानव तस्करीको रोग निको हुनेवाला छैन।
पहिले पहिले भारतमा बालबालिका, युवतीहरु नेपालको सीमानाबाट अनगिन्ती रुपमा यौनधन्दा, डिस्को, रेस्टुरेन्टमा गएर काम गर्नेको कमी थिएन, जसको पुरस्कार स्वरुप एड्स, गनोरिया, यौन रोग लिएर नेपाल फर्कनेको ठूलो जमात नै थियो। जसको बिस्तारै गैरसरकारी तथा सरकारी निकायको गतिलो छानविनका कारण केही कम भएको थियो। तर, अहिले यो अमेरिका जाने मोहका कारण कुनै संख्या कमी आएको छैन। ललाई फकाई अमेरिका जान प्रेरित गरने, ठगी गरी सोझा साझालाई फसाउने क्रम झनझन् तीब्र रुपमा बढेको छ।
सानो लोकल लेबलको दलालदेखि माथिसम्म ठूलै पहुँचको पैसा र पावरका कारणले ती अवैध अमेरिका पठाउने दलाललाई प्रहरी प्रशासनले कारबाहीको दायरमा ल्याउन सकेको छैन। स्थानीय दलालहरुले अमेरिका जान लालयित गर्ने र अमेरिका पुगेपछि त्यहीँ पनि दलालीको चक्करमा परी ४० लाखभन्दा बढी रकम असुली गर्ने प्रवृत्ति देखिन्छ, जुन हाम्रो समाजमा छ।
यूरोप तथा अहिले यूएइमा समेत पर्यटक भीसामा नेपालबाट बोलाएर दलालले राम्रो काम दिने सोचमा अलपत्र पारेको देख्न सकिन्छ। यूएईमा विभिन्न कार्यक्रम भए, यो विषयमा तर ठोस कदम कुनै देखिएको छैन। यूएईमा आएर ठगिएका युवतीहरु डिस्को र यौनधन्दामा फस्नु परेको छ। अझै पनि आम मानिस यो मानव तस्करीको जालोमा फसेर पीडित भई सधै बाँच्नुभन्दा बेलैमा त्यसका विरुद्ध आवाज निकाल्न नसकियो भने यसले नेपालमा ठूलो जनधनको क्षति नपुर्याउला भन्न सकिन्न।



लाेकपाटी न्यूज

