प्रधानसेनापति र ‘रअ’ प्रमूखकाे भेट बारे बाेल्याे सेना

लाेकपाटी न्यूज

काठमाडौं, ११ साउन । भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमूखसँग प्रधानसेनापतिले भेटेकाे भन्ने विषयमा नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ । आफ्नाे धारणा सार्वजनिक गर्दै नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमूख सामन्त गोयलबीच भेटवार्ता नभएको दाबी गरेको हो ।

सेनाले शुक्रबार विज्ञप्ति जारी गरी प्रधानसेनापतिसँग गोयलको भेट नभएको बरु त्यस्ता ‘समाचारहरु सरासर झुटो, मनगढन्ते एवं सुनियोजित भएको’ बताएको हो।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेनाको छवीमै आँच पुर्याउन सक्ने तथा आमजनमानसमा सेनाप्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुग्न सक्ने यस प्रकारको संवेदनशील विषयमा समेत यस संस्थाको आधिकारिक निकायसँग सूचनाको विश्वमसनीयता प्रमाणित नगराई सस्तो लोकप्रियताको लागि कपोलकल्पित समाचार सम्प्रेषण भएको देखिन्छ ।’

राष्ट्रकै संवेदनशील संस्थाको तेजोवध गर्नकै लागि गलत नियतसहित समाचार प्रकाशित भएको सेनाको दाबी छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘आमजनमानसमा गलत सन्देश जाने तथा दिग्भ्रमित पार्ने पूर्वाग्रही सामग्रीहरुले आगामी दिनहरुमा स्थान पाउँदै जाने हो भने यस प्रकारका कार्यले राष्ट्र प्रति समर्पित समग्र नेपाली मिडिया जगतको बिश्‍वसनियतामा ह्रास आउन सक्ने तर्फ ध्यानाकर्षण गराउँदै भविष्यमा सत्य तथ्यमा आधारित समाचारहरु संप्रेषण हुने विश्वासस व्यक्त गर्दै उल्लेखित विषयको संवेदनशीलता प्रति पुनः एकपटक गम्भीर ध्यानाकर्षण गराउदै आधारहिन समाचारबाट भ्रममा नपर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गमा समेत हार्दिक अनुरोध गर्दछ।’

केही दिन अघि काठमाडौँ आएका गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वराजा ज्ञानेन्द्र शाह, प्रधानसेनापति थापासँग भेट गरेको समाचार बाहिरिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्