वीरगञ्ज, १० साउन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार एक वर्ष पूरा भएको छ । पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसक्दा समेत अभियुक्त पत्ता नलगाएको भन्दै वीरगञ्जमा शुक्रबार प्रदर्शन गरिएको छ ।
वीरगञ्जको घण्टाघरमा स्थानीय युवाहरुले हस्ताक्षर संकलन गर्नका साथै मानव साङ्लो बनाएर सो हत्याकाण्डको साङ्केतिक विरोध जनाएका हुन् । वीरगञ्जका स्थानीय, विद्यार्थी र अन्य संघ–संस्थाबाट आवद्ध युवाहरुले मिलेर हस्ताक्षर संकलन र मानव साङ्लो निर्माण गरेका हुन् । निर्मला पन्तको घट्ना भएको शुक्रबार एक वर्ष पुरा भएतापनि प्रहरी र प्रशासनले अहिलेसम्म हत्यारालाई पता लगाउन सकेको छैन ।
प्रहरी प्रशासन र सरकारलाई दवाव दिन र निर्मलाको परिवारलाई हामी साथ छौं भन्ने सन्देश दिन मानव साङ्लो निर्माण गरिएको स्थानीय महिला अभियन्ता डा. शुष्मा तिवारी द्विवेदीले जानकारी दिइन् । ‘एउटा अबोध बालिकाको बलात्कार गरि निर्मम रुपले हत्या गरिएको छ, उनले भनिन्, ‘आज घटना भएको एक वर्ष पुरा भयो तर पनि प्रहरी, प्रशासन र सरकारले हत्याराबारे कुनै जानकारी हात पार्न सकेको छैन, यो लज्जास्रपद कुरा हो ।’
स्थानीय युवक रोशन शर्माले बलात्कार जस्तो घट्नामा समेत सरकार संवेदनशील नभएको आरोप लागाए । ‘बलात्कारपछि हत्या भएको आज एक वर्ष भयो’ शर्माले भने, ‘गृहमन्त्रीदेखी प्रधानमन्त्री समेतले यस्तो संवेदनशील घट्नामा आपत्तिजनक टिप्पणीहरु गरेर हिडेका छन्, न्यायको कुरा परै जाओस् अहिलेको सरकारले यो घटनालाई गम्भीररुपले समेत हेरेको छैन ।’
सहभागीहरुले निर्मलाको हत्या भएको एक वर्ष पुगेको झल्को दिन मानव साङ्लोमार्फत ३ सय ६५ बनाएर केहीबेर प्रदर्शन गरेका थिए । मानव साङ्लो निर्माणमा सहभागीहरुले प्ले कार्ड मार्फत ‘जस्टिस फर निर्मला’ भन्ने नारा समेत बनाएका थिए ।



लाेकपाटी न्यूज
