विश्वविद्यालयको नेतृत्व कस्तो चाहिन्छ, कसरी छान्ने ? (बहस)

Bhim Gautam
नयाँ पुस्ता र राजनीति मुक्त वौद्धिक समूहले पनि आफूलाई वौद्धिक कसीमा उतार्दै देशको विकासमा समाहित गर्नुपर्ने आवश्यकता देखिन्छ। होइन भने विकास र निर्माणमा सरकारको मुख ताक्ने, सामान्य भन्दा सामान्य कुराहरुमा पनि विदेशमा यस्तो छ नेपालमा किन नभएको भन्ने प्रवृतिले विस्तारै हाम्रो वौद्धिक जगत, मिडिया र विश्वविद्यालयलाई प्रभाव पारेको देखिन्छ।
लाेकपाटी न्यूज
  • भीम गौतम

त्रिभुवन विश्वविद्यालय लगायत नेपालका अन्य विश्वविद्यालयहरुमा क्रमशः नेतृत्व खाली हुँदैछ। योसँगै नेपालको शैक्षिक एवं वौद्धिक समूहले विशेष चासो लिन थालेको देखिन्छ। जनताको विश्वविद्यालयका रुपमा स्थापित त्रिभूवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरुको वास्तविकतालाई मूल्याङ्कन नगरी गोलमटोल रुपमा नेतृत्व परिवर्तनको नाममा सरकार, राजनीतिक पार्टी र समूहहरुलाई धारे हात लगाउने नेपालीहरुको पूरानो शैलीले योपटक अलि बढी पत्रपत्रिका र सामाजिक सञ्जालका भित्ताहरु भरिएको देखिन्छ। व्यक्तिगत रुपमा भाषा र भाषिक अनुसन्धानमा डुब्न रुचाउने मलाई पनि यो माहोलमा केही लेख्न मन लाग्यो।

खासगरि २०४५/०४६ को आन्दोलनसँगै विश्वविद्यालयमा प्रवेश गरेको मैले नेपाली राजनीति, शिक्षा र समाजको ३ दशकभन्दा लामो अवलोकन गर्ने अवसर मिल्यो। २०४५ देखि २०५५ सम्म विद्यार्थी र त्यसपछि विश्वविद्यालयको शिक्षक भई काम गरिरहेको मेरो व्यक्तिगत अनुभवले अलि फरक किसिमबाट यी कुराहरुको विश्लेषण गर्नुपर्छ भन्ने लाग्छ।

नयाँ पुस्ता र राजनीति मुक्त नेतृत्व

अहिले चलेका धेरै बहसहरुमध्ये खासगरि नयाँ पुस्ता र राजनीतिमा आफूलाई देखाउन नचाहने समूहले विश्वविद्यालयमा मात्र वौद्धिक नेतृत्व आयो भने कायापलट गर्छ भन्ने कुराको व्याख्या विश्लेषण गरेको देखिन्छ। यसका लागि त्रिभूवन विश्वविद्यालयको विगतको इतिहास, यसमा भएको नेतृत्व परिवर्तन र जनताको विश्वविद्यालयका रुपमा स्थापित यो विशाल विश्वविद्यालयलाई बुझेको, चिनेको र नेतृत्व गरेको व्यक्ति मात्र उपयुक्त पात्र हुन्छ भन्ने कुरा हामीले बुझ्न सकेनौं भने अहिले भन्दा झन बढी बेथिति बढेर जान सक्छ।

विभिन्न समयमा विभिन्न किसिमबाट यो विश्वविद्यालयको विरुद्धमा दोहन गर्ने, यो वा ऊ तरहले व्यक्तिगत लाञ्छना र प्रतिस्पर्धामा उत्रने प्रवृत्ति हामी नेपालीहरुमा सबैभन्दा बढी छ। कहिल्यै पनि नेतृत्वमा नआएका राजनीतिक नेतृत्व र सरकारसँग सिधा सम्पर्क नभएका र सधैं नकरात्मक कुरा मात्र सोचेर हिँड्ने विद्वान महानुभावहरुले गर्ने नेतृत्व विगत वर्षहरुमा डा. गोविन्द के.सी.ले गर्ने आन्दोलनजस्तै हुन सक्छ। मेडिकल माफिया अन्त्य गर्ने नाममा आफैं माफियाको भूमरीभित्र परेको दृष्टान्त हाम्रो नजिक छ। त्यसैले वर्तमान त्रिविको नेतृत्वमा एउटा सक्षम समूह, जो मुलूकको राजनीतिक, सामाजिक, वौद्धिक क्षेत्रसँग परिचित छ, त्यसलाई निश्चित मापदण्डको आधारमा वर्तमान सरकारको नारासँग मेल खाने कार्यक्रमलाई अंगिकार गर्न सक्ने हुनुपर्दछ।

विश्वविद्यालयको व्यवस्थापकीय र प्रशासनिक काममा नेतृत्वको सवालमा खरो उत्रने र आफूलाई त्रिविका शिक्षक, कर्मचारी एवं ४ लाखभन्दा बढी विद्यार्थीहरुसँग सम्मिलित गराउन सक्ने राजनीतिक पृष्ठभूमिको व्यक्ति नै उपयुक्त हुन्छ। यसो भनिरहँदा मैले विदेशी विश्वविद्यालयहरुमा प्रयोग भएको नेतृत्व परिवर्तनको कुरालाई पूर्णतया नकारेको होइन। मात्र भन्न खोजेको के हो भने नेपाली नेतृत्व नेपाली परिवेशमा हुनुपर्छ। धेरै वौद्धिक मात्र भएर पनि त्रिभूवन विश्वविद्यालयलाई नेतृत्व दिन सक्छ भन्ने कुरामा म विश्वास गर्दिनँ। वौद्धिक मित्रहरुले नेतृत्व गरेका, गरिरहेका र गर्न नसकेर छोडेका धेरै उदाहरणहरु विगतका दिनहरुमा त्रिविमा हामीले देखेका छौं।

राजनीतिक पृष्ठभूमिको नेतृत्वलाई इमान्दार एवं स्वतन्त्र (गुटरहित) बनाउन सकियो भने उसले विस्तारै विश्वविद्यालयलाई वौद्धिक, प्रशासनिक तथा अनुसन्धान उन्मुख बनाउन ठूलो सहयोग गर्न सक्छ। यसका लागि विश्वविद्यालयका अन्य विभिन्न पदहरु जस्तैः रेक्टर, अनुसन्धान केन्द्र प्रमूख, डिन, परीक्षा नियन्त्रक आदिमा सक्षम र प्राज्ञिक व्यक्तिहरु नियुक्त गरेर विश्वविद्यालयमा देखिएको अन्यौल एवं अराजकतालाई अन्त्य गर्न सक्छ। हालको त्रिभूवन विश्वविद्यालय भनेको नेपाल सरकार र जनता बीचको पुल हो।

अहिलेको राजनीतिक, सामाजिक, शैक्षिक नेतृत्वको अग्रपंक्तिमा रहने सबै मानिसहरु त्रिविका उत्पादन हुन्। र, प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यसको सम्बन्ध रहेको देखिन्छ। विदेशमा सिकेको सीमित वौद्धिक सीपको आधारमा नेपाली परिवेशमा हुर्केको, बढेको र स्थापित त्रिभूवन विश्वविद्यालयलाई मूल्याङ्कन गर्नु भनेको हत्केलाले सूर्यलाई छेक्छु भनेजस्तै हो। त्यसैले वर्तमान प्रधानमन्त्री तथा सरकारी नेतृत्वलाई त्रिभूवन विश्वविद्यालयमा जबर्जस्त हस्तक्षेप गर्नु आवश्यक हुन्छ र मात्र यसलाई सुधार गर्न सकिन्छ भन्ने मलाई लाग्छ।

नयाँ पुस्ता र राजनीति मुक्त वौद्धिक समूहले पनि आफूलाई वौद्धिक कसीमा उतार्दै देशको विकासमा समाहित गर्नुपर्ने आवश्यकता देखिन्छ। होइन भने विकास र निर्माणमा सरकारको मुख ताक्ने, सामान्य भन्दा सामान्य कुराहरुमा पनि विदेशमा यस्तो छ नेपालमा किन नभएको भन्ने प्रवृतिले विस्तारै हाम्रो वौद्धिक जगत, मिडिया र विश्वविद्यालयलाई प्रभाव पारेको देखिन्छ।

कसैलाई धारे हात लगाएर आलोचना र गाली गर्नु पहिले आफूले आफ्नो क्षेत्रबाट कति योगदान दिन सकिएको छ भन्ने कुराको हेक्का राख्न सकियो भने पनि वर्तमानमा देखिएका ५० प्रतिशतभन्दा बढी समस्याहरु स्वतः समाधान हुन्छन्। खासगरि युवा पुस्तामा आएको नैराश्यता र देशको परिस्थिति नबुझी एकैचोटी विकसित मुलूकका प्रणालीहरुसँग तुलना गर्ने हाम्रो प्रवृतिमा सुधार नआएसम्म न त देशको विकास हुन्छ, न त विश्वविद्यालयको नै।

त्रिवि र अन्य विश्वविद्यालयको अवस्था

त्रिभूवन विश्वविद्यालयको कुशल व्यवस्थापनको प्रभाव अन्य विश्वविद्यालयमा पर्न सक्छ। त्यसैले त्रिविको राम्रो नेतृत्वको व्यवस्थापन नगरी अन्य विश्वविद्यालयहरु सुध्रिनेवाला छैनन्। आजसम्म त्रिविमै उत्पादित जनशक्तिले धानेका अन्य विश्वविद्यालयहरु पनि कहिले रेक्टर–रजिष्टारको आन्दोलन, कहिले शिक्षक–कर्मचारीको तालाबन्दी, कहिले भ्रष्टाचार प्रकरणमा बेलाबेलामा मुछिएको पाइन्छ।

त्रिविलाई गाली गर्ने अनि उसैको सम्बन्धन प्राप्त क्याम्पसहरुलाई आंगिक क्याम्पस बनाएर बेथितिको जग बसाल्ने कार्यमा भर्खर खुलेका विश्वविद्यालयहरु देखिन्छन्। यसको ज्वलन्त उदाहरण सुदुर पश्चिम र मध्य पश्चिम विश्वविद्यालयलाई लिन सकिन्छ। खासगरि भर्खर खोलेका यी विश्वविद्यालयहरुको सम्पूर्ण व्यवस्थापन स्थानीय र प्रादेशिक संरचनामा लैजान सकियो भने बरु यिनीहरुको अवस्थामा केही सुधार आउने थियो कि ! प्रादेशिक हैसियतका विश्वविद्यालयहरुले भारत तथा अन्य विदेशी मुलूकमा जस्तै प्रादेशिक हैसियतमा काम गर्नु वाञ्छनीय हुन्छ।

यस्ता विश्वविद्यालयहरुमा बरु विश्वविद्यालयको वास्तविक अवधारणा बुझेको, नैतिक चरित्र नगुमाएको र सबैले विश्वास गर्नसक्ने स्थानीय स्तरकै शिक्षाविदहरुलाई नेतृत्व हस्तान्तरण गर्नसके स्थानीय र बाहिरी हस्तक्षेपको आरोपबाट सरकार मुक्त हुन सक्छ। खासगरि उपकुलपतिबाहेक अन्य पदहरुमा सम्बन्धित विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुबाटै नियुक्त गर्दा राम्रो हुने देखिन्छ। संस्कृत, लुम्बिनी बौद्ध र राजर्षी जनकजस्ता विश्वविद्यालयमा सम्बन्धित विषय र क्षेत्रसँग विज्ञ एवं चासो राख्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्पर्क गर्न सक्ने व्यक्तिहरु नियुक्त गर्दा राम्रो हुने देखिन्छ।

त्रिभूवन विश्वविद्यालयको हकमा भने सरकारले सबैभन्दा बढी ध्यान दिनुपर्ने भएकाले यो विश्वविद्यालयलाई बाह्य र आन्तरिक रुपमा बुझेको, यसको विशाल संरचनालाई भोलिको संघीय संरचनाअनुसार विभाजन र कार्यान्वयन गर्नसक्ने हैसियत राख्ने एउटा व्यक्तिभन्दा पनि एउटा इमान्दार समूहलाई जिम्मा दिनुपर्ने देखिन्छ। यसका लागि त्रिभूवन विश्वविद्यालयको प्राज्ञिक नेतृत्वमा सफल भइसकेको, विश्वविद्यालयलाई सरकार र समृद्धिसँग जोड्ने योजना भएको र विद्यमान बेथितिलाई त्रमशः निराकरण गर्ने तत्व र समूहलाई दिन सकिन्छ।

एउटा व्यक्तिले मात्र केही गर्न नसकिने हुँदा अबको नेतृत्व एउटा समूहलाई दिनु वाञ्छनीय हुन्छ। त्रिविमा भागबण्डाको संस्कृतिलाई पूर्णतया निर्मूल पार्नुपर्छ। जबसम्म यो विश्वविद्यालयलाई भागबण्डा र राजनीतिक हस्तक्षेपबाट मुक्त गरिन्न, तबसम्म हामी सबैले देखेको सपना पूरा हुन सक्दैन। नयाँ नेतृत्वले पूर्वाग्रहीभन्दा पनि शुन्यबाट काम शुरु गर्‍यो भने अर्को ४ वर्षभित्र यसका धेरै आन्तरिक र बाह्य समस्याहरु समाधान भएर जान्छन्।

हाम्रो अपेक्षा

हुन त विशवविद्यालयहरुमा नेतृत्व परिवर्तन नियमित प्रक्रिया हो, जुन विगतदेखि भइरहेको हुन्छ। यो बेलाको नेतृत्व परिवर्तन सम्भवत ३ दशक पछि बनेको बलियो र स्थायी नेकपा सरकारको पालमा हुने भएकाले यसप्रति बढी चासो हुनु स्वभाविक छ। लगभग २ महिनादेखि प्रचारित र प्रसारित विभिन्न समाचारहरुको विश्लेषण गर्दा के देखिन्छ भने नेपालको समग्र शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ।

परिवर्तन भएका संरचनाहरुलाई ध्वस्त पारेर भन्दा पनि त्यसमा व्यापक सुधार गरेर जानुपर्ने देखिन्छ। नेपालको शैक्षिक क्षेत्रको सुधार नेपालीले नै गर्ने हो, बाहिरका २–४ वटा ललिपपहरुमा मख्ख पर्नु जरुरी छैन। सरकारको समृद्धि अभियानमा शिक्षा क्षेत्र र त्यसमा पनि उच्च शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ। शैक्षिक क्षेत्रमा आएको परिवर्तनले समग्र नेपाली समाजमा प्रभाव पार्न सक्छ। त्यसैले वर्तमान सरकारलाई स्वतन्त्र रुपले विश्वविद्यालयमा हुने नेतृत्व परिवर्तनमा हामी सबैले साथ दिउँ। यो बेला राजनीतिक रुपले संलग्न नहुने र सरकारसँग प्रत्यक्ष पहुँच र सम्वाद गर्न पनि नसक्ने नाम मात्रको वौद्धिक नेतृत्व भन्दा पनि नेपालको उच्च शिक्षालाई राम्रोेसित बुझेको, विश्वविद्यालयमा आफूलाई प्राज्ञिक परीक्षामा उत्तीर्ण गराएको सामूहिक नेतृत्वलाई विश्वास गर्नु उपयुक्त हुन्छ।

यसका लागि सरकारले आफ्नो कार्यकालमा विश्वविद्यालयहरुलाई वर्तमान अवस्थाबाट कुन स्तरमा पुर्‍याउने हो, स्पष्ट कार्ययोजनासहित निवेदन पेश गर्न आह्वान गर्न सक्छ। अहिलेको सरकार र प्रधानमन्त्री जसरी निडर देखिन्छन्, अब आउने नेतृत्व पनि त्यस्तै हुनु जरुरी छ। नत्र आन्दोलन, भ्रष्टाचार र विविध विकृतिले थलिएको नेपालको उच्च शिक्षा फेरि अन्योल र अन्धकारतिर धकेलिन सक्छ। नेपाली विश्वविद्यालयहरुमा झण्डा होइन, प्राज्ञिक कार्यका लागि डण्डा लगाउन सक्ने सक्षम नेतृत्व आवश्यक देखिन्छ। यसो भयो भने हाम्रो शिक्षा क्षेत्रमा देखिएको विदेशी र बाहिरी हस्तक्षेप स्वतः निर्मूल भएर जान्छ। आशा गरौं, यत्रो लामो सङ्घर्ष र बलिदानबाट ठूलो राजनीतिक सफलता गरेको वर्तमान सरकारले त्रिवि र अन्य विश्वविद्यालयको नेतृत्व चयन गर्दा विवेकशील हुनेछ।

(लेखक गौतम त्रिभूवन विश्वविद्यालयमा भाषा विज्ञानका उपप्राध्यापक हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्