जनकपुरमै हवाई ईन्धन उपलब्ध हुने, घट्ने भयाे भाडादर पनि

लाेकपाटी न्यूज

जनकपुरधाम, १० साउन । जनकपुर विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग स्टेशनको स्थापना गरिएको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले रिफ्यूलिङ्ग स्टेशनको उद्घाटन गर्दै औपचारिक शुभारम्भ गरेका हुन् ।

मन्त्री यादवले जनकपुर विमानस्थलमा एक कार्यक्रम बीच स्टेशन कार्यालयको उद्घाटन गर्दै बुद्ध एयरको विमानमा ईन्धन हालेर शुभारम्भ गरेका हुन् । जनकपुरमा विमानस्थल स्थापना भएको ५३ वर्ष पछि मात्रै रिफ्यूलिङ्ग स्टेशनको स्थापना भएको हो । यसअघि काठमाडाैं, विराटनगर र भैरहवाबाट जनकपुरबाट उडान हुने विमानहरुले इन्धन ल्याउने गरेको थियो ।

यसअघि विभिन्न मन्त्रीहरुले रिफ्यूलिङ्ग स्टेशनको स्थापना गरिने आश्वासन दिएपनि स्थापना हुन सकेको थिएन । तर मन्त्री यादवले साउन १० भित्रै जनकपुरमा रिफ्यूलिङ्ग स्टेशन स्थापना गरिने प्रतिवद्धता जनाए अनुसार शुक्रवार सो रिफ्यूलिङ्ग स्टेश्न स्थापना गरि सञ्चालनमा ल्याईएको हो ।

रिफ्यूलिङ्ग स्टेशनको उद्घाटन गर्दै मन्त्री यादवले सबैको सहयोगमा जनकपुरमा रिफ्यूलिङ्ग स्टेशनको शुभारम्भ भएको बताए । उनले भने, ‘यसले विमान कम्पनीलाई मात्रै फाईदा नभई समग्र जनकपुरको आर्थिक विकासमा समेत टेवा पुग्नेछ ।’ उनले विकासका लागि आवश्यक पूर्वाधारहरु मध्ये रिफ्यूलिङ्ग स्टेशन पनि एक पूर्वाधार रहेको बताए ।

दुई वर्षभित्रै स्टोर टयाङ्क स्थापना गरिने
तत्कालका लागि अस्थायी टयांकरमै ईन्धन स्टक राखिने सो स्टेशनको स्टोरका लागि आवश्यक पुर्वाधार निर्माण हुन कम्तिमा दुई वर्ष लाग्ने जनाइएको छ ।

हाल सो रिफ्यूलिङ्ग स्टक गर्ने व्यवस्था नरहेका कारण विराटनगर विमानस्थलबाट डिस्पेन्सरमा हवाइ इन्धन ल्याएर दुई बाउजर स्टक गर्ने व्यवस्था गरिएको जनकपुर विमानस्थलका स्टेशन ईन्चार्ज सरोज कुमार यादवले जानकारी दिए ।

उनले तत्काल ४१ केएल दैनिक हवाई ईन्धन अस्थायी रुपमा टयांकरमै स्टक राखिने उनले बताए । स्थायी स्टोर स्थापनाका लागि नागरिक उडड्यन प्राधिकरणले डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई ५ कठा जग्गा समेत उपलब्ध गराएको छ । १ सय ४० केएल क्षमताको डिपो दुई वर्ष भित्रै स्थापना गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको स्टेशन ईन्चार्ज यादवले बताए ।

हवाई इन्धन जनकपुर विमानस्थलमै भर्ने व्यवस्था नभएका कारण यात्रुका साथै विमान कम्पनीहरुलाई समेत समस्या हुँदै आईरहेको थियो । यसअघि काठमाडौ, विराटनगर र भैरहवाबाट जनकपुरबाट उडान हुने विमानहरुले इन्धन ल्याउने गरेको थियो ।

रिफ्यूलिङ्ग स्टेशन स्थापनाबाट फाइदैफाइदा
रिफ्यूलिङ्ग स्टेशन जनकपुर विमानस्थलमै स्थापना भएपछि विमान कम्पनीका साथै यात्रुहरुलाई समेत विभिन्न दृष्टिकोणले फाइदा हुनेछ । यसले विमानहरुले कमै इन्धनका साथ जनकपुर विमानस्थलमा आए बढीभन्दा बढी यात्रुका साथै बढी लगेज समेत उठाएर लग्न सक्ने नागरिक उडड्यन प्राधिकरणका प्रमुख मोहन ठाकुरले बताए ।

रिफ्यूलिङ्ग स्टेशनका कारण अल्टरनेटिभ लैण्डिङ्गका लागि काठमाडौँ पछि जनकपुर विमानस्थल प्राथमिकतामा पर्ने उनको भनाई छ । काठमाडौँबाट सबैभन्दा सहज रुट जनकपुर विमानस्थलकै रहेकोले लैण्डिङ्ग तथा टैक अफ चार्ज सहितका आम्दानी हुने समेत उनले बताए ।

यस्तै रात्रिकालिन लैण्डिङ्ग गर्नुपर्ने अवस्थामा समेत जनकपुर विमानस्थल नै प्राथमिकतामा पर्ने ठाकुरले बताए । उनले यहाँ विमानहरु रात्रिकालिन पार्क गर्दा यहाँका होटेल व्यवसायहरुले समेत फाइदा उठाउन सक्ने बताए ।

भाडा दर पनि घट्ने
रिफ्यूलिङ्ग स्टेशन स्थापनाले जनकपुरमै इन्धन उपलब्ध भएका कारण समय र पैसा दुबैको बचत हुने भएकोले विमान कम्पनीले भाडा दर समेत कम गर्ने बुद्ध एयर जनकपुरका इन्चार्ज विजय सिंहले बताए ।

उनले भने, ‘रिफ्यूलिङ्ग स्थापनाको कुरा चलेदेखि नै बुद्ध एयर विमान कम्पनीले भाडा दर कम गरिसकेको छ, ४ हजार ३ सय, ३ हजार ८ र ३ हजार ४ सय भाडा रहेकोमा अब तीन हजार ४, तीन हजार २ सय, दुई हजार ८ र दुई हजार ५ सय भाडा दर कायम गरेको छ । साथै उनले ग्राहकको चाप देखेर दुई हजारसम्म भाडा हुन सक्ने समेत जानकारी दिए ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको सो रिफ्यूलिङ्ग स्टेशन उद्घाटन समारोहमा २ नं. प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय, प्रदेश सांसद किशोरी साह, आयल निगमका प्रवक्ता विरेन्द्र गोइत, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायत नेकपा केन्द्रिय तथा स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्