काठमाडौं, ६ साउन । नेपाल प्रहरीले लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ।
नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एवं नार्कोनन नेपालका फाउण्डर बसन्तराज कुँवरको प्रमूख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत साे सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार सम्पन्न भएको हाे ।
सो अवसरमा उक्त संगठनका अध्यक्ष कुँवरले विशेष महत्व राख्ने विषयमा छलफल हुने यस प्रकारको अन्तरक्रिया सचेतनाका लागि उदाहरणीय हुने बताए । लागूऔषध प्रयोगकर्ताहरुलाई दिइने तालिम नै उनीहरुलाई सामान्य जीवनमा फर्काउने दीर्घकालीन समाधान भएको चर्चा गर्दै उनले ड्रग्सबाट समाजलाई जोगाउने कुरामा रिह्यालब सेन्टर नै चाहिनेतर्फ जोड दिए।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमूख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले सबैको एउटै साझा लक्ष्य भनेको लागूऔषध सेवनकर्ताको संख्या र यसबाट हुने अपराध घटाउने रहेकोले यस अभिप्राय पूरा गर्न कार्यक्रम आयोजना गरिएको बताए। बालबालिकालाई लागूऔषध दुर्व्यसनबाट जोगाउन अभिभावकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनले जाेड दिए ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रहरी नायव उपरीक्षक गौतम थापाले लागूऔषध सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा फेडरेसन अफ ड्रग्स डिमान्ड रिडक्सन (रिह्याकब) महासंघका अध्यक्ष प्रशान्त शर्माले स्वागत मन्तव्य र कार्यक्रम सम्बन्धी जानकारी दिएका थिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी र रिह्याब महासंघद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा विभिन्न रिह्याब सेन्टरका संचालकहरु, प्रहरी अधिकृतहरु लगायतको सहभागिता रहेको थियो ।



लाेकपाटी न्यूज
