दशैंअघि नारायणी नदिमा चल्ने भो पानीजहाज

Narayanima pani jahaj
लाेकपाटी न्यूज

चितवन, ४ साउन। पानीजहाज दशैं अघि नारायणी नदिमा संचालन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पटक -पटक भन्दै आएको पानीजहाज दशैं अघि नारायणी नदिमा संचालन हुने भएको हो।

२ सय क्षमताको मिनि पानीजहाज निर्माण तीब्र पारिएको छ। नेपालमा पहिलो पटक नारायणी नदिमा निर्माण र संचालन हुन लागेको रिभर क्रुज शिप (पानिजहाज) को निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लि.ले शनिवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माण तीब्र पारिएको र दुई महिना भित्रै सम्पन्न हुने जानकारी दिएको हो।

भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित ज्ञानेश्वर सामुदायीक वनको काभ्रेघाट बगरमा क्रुज निर्माण भइरहेको छ। करिव ३५ करोडको लागतमा निर्माण भइरहेको क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुने प्रवन्ध निर्देशक रामचन्द्र कंडेलले जानकारी दिए।

‘क्रुज शिप संचालन पश्चात नेपालको जल यातायातको सम्भाव्यतामा प्राबिधिक आधार तयार हुनेछ,कंडेलले भने’,तीन सिफ्टमा क्रुज संचालनको तयारी गरेका छौं।’ बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहानेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन्। अपरान्ह खाना नै क्रुजमा खाँदै रमाउन चाहानेका लागी लन्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुनेछ।

प्रत्येक क्रुजिङ्ग करिव ३ घण्टाको हुनेछ। काभ्रेघाटदेखि सुरु यात्रा देबघाट पुगेर गोलाघाटसम्म लैजाने गरी संचालनको तयारी भएको कंडेलले बताए। एक पटकमा २ सय जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज २ तल्ला, १ सय फिट लम्बाइ र २५ फिट चौडाइएको हुनेछ। रिभर क्रुजले नारायणी किनारलाई सधैँ चलायमान गराउने निर्माण कम्पनीको दाबी छ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानिका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको कंडेलले बताए। ‘क्रुज सिपको संचालनका लागी आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी हुनेछन्,उनले भने’,दिर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागी आवश्यक तालिम केन्द्र संचालन गर्ने योजनामा छौं।’

क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीहरुको अध्ययन र वातावरणिय प्रभाव मुल्यांकन पश्चात नर्वेजियन प्रबिधिको प्रयोगबाट भारतीय प्राबिधिकहरुको सहयोगमा नारायणी नदि किनारमै निर्माण भइरहेको छ। निर्माणको जिम्मा लिएको भारतिय कम्पनी ग्रान्डडुअरले लामो समयदेखि भारत, मलेसिया, श्रीलंका, दुबई, सिंगापुर लगाएतका देशमा सफलतापूर्वक काम गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्