बाजुरा, ३ साउन । बाजुरामा भएको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिएका छन्।
घाइतेहरुको उपचारका लागि सङ्घीय गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको उनले बताए । हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ। आज बिहान जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा जीप दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका-६ का २८ वर्षीय उभजङ्गबहादुर शाही, सोही ठाउँ बस्ने १७ वर्षीय राजेन्द्रबहादुर शाही र १८ वर्षीय मेहन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यसैगरी बाजुराको हिमाली गाउँपालिका-४ रुगिनको फैती बस्ने ५५ वर्षीय लालवीर चदाराको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा हेलिकप्टरमा लगिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिका-४ का २६ वर्षीय जीप चालक रमेश बोगटी र मुगुको खत्याड गाउँपालिका-६ का २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज