बाजुरा, ३ साउन । बाजुरामा आज बिहान जीप दुर्घटना भएकाे छ । जीप दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरको जीप जगन्नाथ गाउपालिका–५ भुँकाखोला नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । बोगटी जीपका चालक हुन् ।
चालकसहित १५ जना सवार जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्य ४ जनाको अवस्था गम्भिर रहेकाे जनाइएकाे छ । गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको छ भने सामान्य घाइतेहरुको कोल्टी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा मुगुका ८ जना, बाजुराकाे स्वामीकार्तिक गाउँपालिकाका १ जना र २ जना जगन्नाथ गाउँपालिका–५ गोत्रीका रहेका छन् । हालै निर्माण भएको कर्णाली करिडोरको सो कच्ची बाटोमा जीप र ट्याक्टर चल्ने गरेका छन् ।



लाेकपाटी न्यूज
