धनगढीमा शक्तिशाली बम विष्फोट

bom-bisfot
लाेकपाटी न्यूज

धनगढी, २ साउन ।  कैलालीको धनगढी उपमहानगरपालिका ३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ। घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी ५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी ४, बोराडाडीका केशवराज पाण्डे छन्।

स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो। घाइते पाण्डे सोही होटलका सञ्चालक हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शक्तिशाली बम वस्फोट भएको देखिएको छ। घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ । घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा विप्लव समूहको संलग्नता देखाएको छ । घाइते मध्ये सिंह र सेरला विप्लव समूहका सदस्य भएको प्रहरीले जनाएको छ । उनीहरूले नै बोकेर ल्याएको कन्टेनर विष्फोट भएको अनुसन्धानबाट खुलेको छ । ‘एक्सिडेन्ट्ली घट्ना भएको जस्तो देखिन्छ । विस्तृत अनुसन्धान भइरहेको छ’, एसपी गिरीले भने ।