‘डा. सिके राउत’ नामक फिल्म बन्दै : मूख्य भूमिकामा को–को ?

CK raut
लाेकपाटी न्यूज

काठमाडौं। विखण्डनवादी आन्दोलन छाडेर अखण्डतावादी राजनीतिमा प्रवेश गरेका मधेशवादी नेता डा. सिके राउतको जीवनमाथि नेपाली चलचित्र निर्माण हुने भएको छ। चलचित्रको नाम ‘डा. सिके राउत’ राखिएको छ।

यो चलचित्रको मंगलबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणासँगै निर्माण टिमले टीजर पनि सार्वजनिक गरेको छ। फिल्ममा सिके राउतको भूमिका भोजपुरी चलचित्रका ‘पावर स्टार’को रुपमा परिचित परदेशी शाहले निभाउनेछन्। उनी ‘एस।पी खरेल’ चलचित्रबाट चर्चामा आएका थिए।

चलचित्रको घोषणा सभामा सिके राउत स्वयं उपस्थिति भएका थिए। दुई दर्जन बढी भोजपुरी चलचित्रको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहले फिल्मको निर्देशन गर्नेछन्। चलचित्रको कथा पनि उनी स्वयंले तयार पारेका हुन्। नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने चलचित्रको छायांकन विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा हुने निर्माता बाबुले जानकारी दिए।

‘डा. सिके राउत’मा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्णलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ। अभिनेत्रीको भने टुंगो लागेको छैन। भदौबाट चलचित्रको छायाङ्कन सुरु हुनेछ भने आउँदो छठ पर्वमा रिलिज गर्ने निर्माण टिमको तयारी छ। अभिनेता शाहले फिल्ममा सिके राउतको भूमिका निर्वाह गर्न पाउनु आफ्नो लागि ठूलो अवसर र चुनौती रहेको बताए।

उनले भने, ‘सिके राउत सरको बोल्ने र हिँड्ने स्टाइल कपी गर्न मैले केही दिन उहाँको संगत गरेँ। अझै १०–१५ दिन उहाँसँग बसेर सिक्नुछ। यो चलचित्र मधेशको मात्र नभएर सिंगो नेपालको हो।’ निर्देशक शाह भने अस्वस्थ भएका कारण कार्यक्रममा उपस्थित भएका थिएनन्।

पवन गौतमले खिच्ने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ। बन्दे प्रसादले चलचित्रको सम्पादन गर्ने जिम्मेवारी पाएका छन्। रेवन्त विक्रम थापाको द्वन्द्व निर्देशन रहने चलचित्रलाई कमर्सियल बनाउन सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी काल्पनिक कथा जोडिने बताइएको छ।

कार्यक्रममा बोल्दै राउतले यसअघि पनि मुम्बईको एक टिमले दुईपटक आफ्नो जीवनीमाथि चलचित्र बनाउने तयारी गरे पनि आफ्नै कारण निर्माण हुन नसकेको खुलाए। चलचित्रको टीजर हेरेपछि सन्तुष्ट देखिएका उनले मधेश आन्दोलनमा आफूले गरेको सङ्घर्षको कथामा चलचित्र बन्ने बताए।

‘चलचित्र बनाएपछि चल्नु पनि पर्छ। त्यसैले कमर्सियल बनाउन चलचित्रमा केही काल्पनिक कुराहरु पनि जोडिनेछ’, उनले चलचित्रलाई चलचित्रकै रुपमा बुझ्न आग्रह गर्दै अगाडि भने, ‘चलचित्रमा केही विवादस्पद कुरा पनि आउन सक्छन्। तर, त्यो एउटा इतिहास भइसकेको छ।’

एउटा मान्छे किन विद्रोहमा उत्रिन्छ भन्ने कुरा चलचित्रमा देखाइने उनको भनाइ छ। माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रको निर्माण लागत डेढ करोड अनुमान गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्