काठमाडौं, २ साउन। सरकारले प्रतिबन्धित विप्लव समूहले शक्ति सञ्चय गर्ने गरी वार्ता नहुने बताएको छ। सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल बास्कोटाले बिहीवार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन्।
मन्त्री बास्कोटाले विप्लव समूहलाई वार्तामा आउन भनिरहेको बताउँदै जेलमा राखिएका मान्छे छोड्दै उनीहरुको शक्ति सञ्चयका लागि वार्ता नहुने बताए। उनले भने, ‘वार्ताका लागि मान्छे छोड्नुपर्ने भन्ने हुँदैन । वार्ता गर्ने, छोड्ने फेरि शक्ति सञ्चय गर्ने ? सरकारले समातेको मान्छे बन्दुक बोक्नका लागि छाडेर वार्ता गर्ने कुरा नहुने उनको भनाई छ।
उनले भने, ‘वार्ता चाहिँ गर्ने, यसको निष्कर्षमा नपुग्ने र फेरि पहिलेकै अवस्थामा जाने भन्ने हुँदैन । कमजोर धरातलमा बसेर वार्ता हुँदैन ।’ मन्त्री बास्कोटाले अनुचित, गैरजिम्मेवार, असंवैधानिक मागमा वार्ता नहुने बताउँदै सिके राउतकोझै शान्तिपूर्ण राजनीति गर्ने प्रतिवद्धतासहित स्पष्ट भएर आए वार्ता गर्न तयार रहेको बताए ।
उनले भने, ‘एकलाई दुई बनाउने, छलाङ मार्ने हिजोकै जस्तो चक्र अब फेरि दोहोरिँदैन। उहाँहरुले एउटा होहल्ला सुरु गर्नुभएको छ। होहल्लाको पछि लागेर हुँदैन। उहाँहरु वार्ताका लागि आउनुहुन्छ भने स्वागत छ ।’



लाेकपाटी न्यूज

