लोकसेवाको वार्षिक तालिका : कुन तहको विज्ञापन कहिले खुल्छ ?

loksewa logo
लाेकपाटी न्यूज

काठमाडौं। स्थानीय तहका लागि खुलाइएको विज्ञापनको विरोधमा कार्यालय परिसरमै प्रदर्शन चलिरहेका बेला लोकसेवा आयोगले आज आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले आज (बिहीबार) आर्थिक वर्ष २०७६–०७७ मा निजामती सेवा, सुरक्षा निकाय र सरकारी स्वामित्वका संगठित संस्थाहरुमा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले निजामती सेवातर्फ खरिदारदेखि सचिवसम्म, सुरक्षा निकाय र सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएका संगठित संस्थामा पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिकाअनुसार पदपूर्तिका लागि प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, परीक्षा सञ्चालन (लिखित र अन्तरवार्ता) पछि उम्मेद्वार छनोट गरी नियुक्तिका लागि सिफारिस गरिने जनाइएको छ। निजामती सेवातर्फ विशिष्ट श्रेणी (सचिव) मा आवश्यकताअनुसार बढुवा प्रक्रियाबाट पदपूर्ति गरिने छ।

राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) प्राविधिक र अप्राविधिकको भदौ–असोजमा प्रतिशत निर्धारण, असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन, पुस–माघमा परीक्षा सञ्चालन र वैशाखसम्ममा अन्तरवार्ता र सिफारिस गरिने उल्लेख छ।

यस्तै राजपत्रांकित द्वितीय श्रेणी ९उपसचिव० को हकमा पनि भदौ–असोजमा प्रतिशत निर्धारण गरी असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन हुने र पुस–माघमा परीक्षा सञ्चालन गरी चैतरवैशाखसम्म अन्तरवार्ता र सिफारिस गरिने उल्लेख छ।

राजपत्रांकित तृतीय श्रेणी (अधिकृत स्तर) प्राविधिकतर्फ कात्तिक अन्तिम बुधबार विज्ञापन प्रकाशन, माघ–फागुनमा लिखित परीक्षा सञ्चालन गर्ने र अन्तरवार्तापछि जेठ–असारसम्म नियुक्तिका लागि सिफारिस गर्ने कार्यतालिका छ।

यस्तै अप्राविधिकतर्फ माघमा पहिलो चरण र फागुनमा दोस्रो चरणको परीक्षा सञ्चालन गरी साउन–भदौसम्म लिखित अन्तरवार्ता र उम्मेद्वार छनोट गर्ने कार्यक्रम छ। स्वास्थ्य सेवाको एघारौं र नवौं तहमा असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन, पुस–माघमा लिखित परीक्षा, चैत–वैशाखसम्ममा अन्तरवार्ता र नियुक्तिका लागि सिफारिस हुने तालिकामा उल्लेख छ।

स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहका पदहरुमा भने कात्तिक अन्तिम बुधबार विज्ञापन प्रकाशन भएपछि माघ–फागुनमा लिखित परीक्षा सञ्चालन गरेर जेठ–असारसम्ममा अन्तरवार्ता र नियुक्तिका लागि सिफारिस हुने तालिका छ।

नायब सुब्बा (राजपत्र अनंकित प्रथम श्रेणी) तर्फ अप्राविधिकको पुस अन्तिम बुधबार विज्ञापन हुने र प्राविधिकको माघ अन्तिम बुधबार विज्ञापन हुनेछ। यस्तै लिखित परीक्षा वैशाखमा र भदौसम्ममा अन्तर्वार्तापछि नियुक्तिका लागि सिफारिस हुनेछ।

स्वास्थ्य सेवा पाँचौं तहका पदहरुमा माघ अन्तिम बुधबार विज्ञापन, वैशाखमा परीक्षा सञ्चालन र साउन–भदौसम्ममा अन्तर्वार्तापछि उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस हुनेछ। राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) प्राविधिकतर्फ चैत अन्तिम बुधबार र अप्राविधिकतर्फ फागुन अन्तिम बुधबार विज्ञापन हुने उल्लेख छ।

त्यसैगरी स्वास्थ्य सेवाका चौंथो तहका पदमा चैत अन्तिम बुधबार विज्ञापन हुनेछ। अप्राविधिकको पहिलो चरणको वैशाख र दोस्रो चरणको असारमा परीक्षा हुनेछ। प्राविधिक र स्वास्थ्य सेवाका पदमा जेठमा लिखित परीक्षा, साउनसम्ममा अन्तर्वार्ता र उम्मेद्वार सिफारिस गर्ने आयोगको कार्यक्रम छ।

त्यस्तै सरकार मातहतका संगठित संस्थाहरुको हकमा कात्तिकदेखि फागुनसम्म विभिन्न संस्थाको विज्ञापन प्रकाशन र असारसम्ममा उम्मेदवार सिफारिस गर्ने आयोगको कार्यक्रम छ। आयोगले सरकारबाट पदपूर्तिका लागि माग प्राप्त नभएको खण्डमा पदपूर्तिको कार्यक्रम तालिका बमोजिम नहुने जनाएको छ।

कर्मचारी समायोजनका लागि पदपूर्तिमा अन्योल भएपछि आयोगले गत वर्ष दुई पटकसम्म कार्यतालिका संशोधन गरेको थियो। नयाँ कार्यतालिकाले लोकसेवाको तयारी गर्न विद्यार्थीहरुलाई सहयोग पुग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्