चितवन, १ साउन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुुन आवश्यक रहेको बताएका छन् ।
सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै उनले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बनाउन आवश्यक रहेको विचार व्यक्त गरे ।
विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा उनले जोड दिए । समाज परिवर्तन गराउनका लागि सरसफाइ तथा हरियाली प्रवर्द्धन पनि एउटा बाटो भएको उनको भनाइ थियो ।
फरक प्रसंगमा मुख्यमन्त्री पौडेलले काँग्रेसलाई पनि विकासमा साझेदारी गर्न आग्रह गरे । उनले भने, ‘विकास सबैका लागि हो । विचार फरक हुन सक्छ तर विकास फरक हुँदैन ।’ विकासप्रतिको अवधारणा स्पष्ट नहुँदा विकास निर्माणले तीव्रता पाउन नसकेको उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले चितवनको क्षेत्र नं २ को (ख)मा मात्रै गत आर्थिक वर्षमा ६५ हजार फलफूलका बिरुवा रोपिएको जानकारी दिए । हरियाली कार्यक्रमलाई प्रदेश सरकारले ५० लाख विनियोजन गरेको पनि उनले जानकारी दिए ।
कार्यक्रमको शुभारम्भ अघि मुख्यमन्त्री पौडेलले वृक्षरोपण, शहरी बायोग्यास प्लाण्ट उद्घाटन, पानी शुद्धीकरण, फोहर व्यवस्थापन लगायतको उद्घाटन गरेका थिए ।



रासस न्यूज

