लवज हराएको कोलाहल (कविता)

dipak
लाेकपाटी न्यूज

– दिपक थापा

जाडो याममा
बुढो करङ्गमा झुल्किने पारिलो घाम ताप्दै
समयरेखा यतिखेर तमाशा हेरिरहेको छ
कुनै नव आगन्तुक पाहुनालाई
निर्वाशित गरिसकेको खबर अखवारका पाना भरी छापिएको मात्र छैन
सामाजिक संजालमा भाइरल समेत भएको छ !

यो शून्य समय हो
तर सबै शून्यतामा बाँचेका हुन्छ्न भन्ने
कुनै प्रमाण पनि त छोइन

तिम्रो ज्यामिती खोइ ?
मानव कङ्कालमा कहाँ खोज्नु तिमिलाई
तिम्राे घर कहाँ छ यो भग्नावशेषमा कसरी पहिचान गरौं ?

तिम्रो काखमा फूलेको हो सुनाखरी
समयको बल्छि थापेर निकालेकै हो
संवेदनाको महासागरबाट
फूलहरु पनि विभाजित भएकै हुन्
जब क्रान्तिलाई परिभाषित गर्न थालियो
हुनसक्छ तिमी बढि नै क्रान्तिकारी थियौ वा
म तिम्रो परिभाषाभित्र समेटिन नसकेको पात्र थिएँ
इतिहासले पनि दावी गरेन तिमीसँग
मसँग हिसाब मागिरहेछ हरेक क्षण
म पनि बेखबर बाँचेको होइन
बेखबर बाँच्नेहरुको खबर पनि कहिल्यै सोधिनँ मैले
साझा थियो गन्तव्य

हुनसक्छ तिमी सबैलाई भन्दै थियौ आफ्ना आत्माकथाहरु
तिम्रा लागि मनहरु नजिक थिए
म कसरी टाढा भए ?

तिमी राष्ट्रिय फूल
म कसरी अराष्ट्रिय हुन सक्छु
म सम्झन्छु तिमीलाई
तिमी तुइनमा झुन्डिँदा मैले तानिरहेकै हुँ घिर्नी
बजारिन खोज्दा
भुइँमा सपनाको कोमल हृदय बिछ्याएकै हुँ !
मनाएनौ कहिल्यै उत्सव
आत्मघाती भएन कहिल्यै आत्मा
म तिम्रो मनको आवाज
म कसरी कठोर भए ?

म तिम्रो साहारा
कसरी वैशाखी मात्र भएँ
मलाई हाम्रो गन्तब्यको लयबाट कसरी बिमुख गर्‍याै ?
सक्दिन म समयको परिमिती भनेर तिमीलाई लज्जित पार्न
बरु भन न,
कहाँबाट बटुल्यौ यतिका धेरै प्रेरणाको श्रोत
र निस्फिक्री भएर फगत आफैँ मात्र
गरिरहेछौ सबै निर्णयहरु ?

म भन्छु आज तिमीलाई
थोपा–थोपामा मात्र होइन
शून्यताभित्र पनि खोजिरहेको हुन्छु जीवन
आदर्श मात्र थिएन
हामी बाचेको एउटा हुङ्कार
यथार्थको पिरामिड नै प्रमूख थियो
म सम्झन्छु हरेक पल
जिवनको सम्पूर्ण परिभाषा सकिँदैन
एकै पलमा
साहसिक यात्रा त गर्नु छँदैछ
त्यो भन्दा पहिले खोज्नु छ
आफ्नो असली हुलिया
गुमाउनु छैन मलाई                                                                                                                      यो कोलाहल बाट मैले सिकेका सबै कुरा…!!

– दिपक थापा
अरुण गाउँपालिका ७ भोजपुर

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्